शनिबार, १३ पुस २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

बैंक रनको त्रासदी : संकट अमेरिकामा, तरङ्ग नेपालमा

नेपाली बैंक कति सुरक्षित ?
सोमबार, २९ फागुन २०७९, १७ : ००
सोमबार, २९ फागुन २०७९

काठमाडौं । हालैमात्र अमेरिकाको टप सिक्स्टिन बैंक सिलिकन भ्याली ‘बैंक रन’ (टाट पल्टिए) सँगै यसको तरङ्ग विश्व बजारमा फैलिएको छ । बैंकबाट ४० अर्ब अमेरिकी डलर अर्थात् कुल निक्षेपको ९५ प्रतिशतभन्दा बढी एकैपटक झिकिएपछि अन्ततः ‘बैंक रन’ हुन पुगेको हो ।

अहिले सो बैंक सरकारी संस्था युनाइटेड स्टेट्स फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (एफडीआईसी) को पूर्ण नियन्त्रणमा छ । वित्तीय स्थिति राम्रो हुँदाहुँदै पनि बैंकप्रति आम बचतकर्ताको धारणा गलत बनिदिँदा एकैपटक ठूलो निक्षेप रकम झिकियो । खासगरी सिलिकन भ्याली बैंकको मुख्य निक्षेपकर्ताको रुपमा रहेका प्रविधि तथा भेन्चर क्यापिटलको क्षेत्रमा काम गर्नेहरुले बैंकबाट एकैपटक निक्षेप फिर्ता लैजाँदा बैंक आर्थिक संकटमा फसेको हो ।

सिलिकन भ्याली डुब्दैछ भन्ने सूचनाका आधारमा निक्षेपकर्ताहरुले बैंकबाट धमाधम निक्षेप झिके । फलस्वरुपम ४८ घण्टा नबित्दै बैंक टाट पल्टियो । यसको तरङ्ग अहिले विश्व बजारमा छाएको छ ।

विश्वकै ठूलो अर्थतन्त्र बोकेको अमेरिकाको प्रसिद्ध बैंक टाट पल्टिँदै गर्दा यसको सोझो असर नेपाली वित्तीय क्षेत्रमा समेत परेको छ ।

नेपालमा उच्च बजार महँगी, तीब्र आयात र तरलता (लगानी योग्य पुँजी) को अभावमा बढेको बैंक ब्याज दरबाट हैरान भएका उद्योगी व्यवसायीहरु बैंकविरुद्ध नै आन्दोलनमा उत्रिने वातावरण बन्दैगर्दा उता अमेरिकामा घटेको घटना नेपाली वित्त क्षेत्रमा पनि घट्ने हो कि भन्ने चिन्ता देखिन्छ । यसले बैंक तथा वित्तीय संस्थाहरु तरङ्गित हुन पुगेका छन् ।

आजैमात्र विभिन्न ५९ वटा व्यावसायिक संग–संगठन र ९ वटा महासंघ बैंकविरुद्ध सडकमा उत्रिएका छन् । यसले बैंकमाथि चर्को दबाब परेको छ ।

‘बटम अफ पिरामिड’ वित्तीय क्षेत्रको तल्लो क्षेत्रमा ऋणीहरुले सहकारी र लघुवित्त वित्तीय संस्थाहरुका विरुद्ध संघर्ष समिति नै बनाएर ऋण नतिर्ने उद्घोष गरिरहेका बेला यसको संक्रमण माथिल्लो लेभलसम्मै आए नेपाली बैंक तथा वित्तीय संस्थाहरुले पनि सिलिकन भ्याली बैंककै नियति भोग्नुपर्ने त्रासदी यतिखेर वित्तीय क्षेत्रमा देखिएको छ ।

चिन्ता क्रेडिट कन्सन्ट्रेशनको

बैंक तथा वित्तीय संस्थाका जानकार तथा अर्थविद् डा.अनलराज भट्टराई पछिल्लो समय नेपाली वित्त क्षेत्रमा क्रेडिट कन्सन्ट्रेशनको चुनौती बढ्दै गएको बताउँछन् । आर्थिक मन्दीको विश्व संकट उपभोग्य बजार सुस्त हुँदा समग्र वित्तीय क्षेत्र नै प्रभावित हुन पुगेको उनको भनाइ छ ।

‘१२–१३ प्रतिशतको बैंक ब्याजदर त्यति धेरै होइन । सन् २०१७ मा नै बैंक ब्याजदर १३–१४ प्रतिशत थियो । तर, अहिले समस्या ब्याजदरको भन्दा पनि बजार मागको हो’ भट्टराईले भने, ‘लगानीको वातावरण नै छैन । उत्पादन भए पनि बजार छैन, अनि कसरी बैंकको ब्याज किस्ता चलाउन सकिन्छ ?’

तर, लिएको ऋण तिर्दिन भन्नु अराजकताको पराकाष्टा भएको उनको भनाइ छ । ‘कर्जाको ब्याजदर कम गर्नुप¥यो, भुक्तानीको समयावधी बढाइदिनुपर्याे भन्ने माग जायज होला । तर, ऋणनै तिर्दिन भन्ने जस्ता गतिविधि कत्तिको जायज हो ? यो जस्तो गैरजिम्मेवारपन के होला ? अहिले त तल्लो तहमा मात्र यस्तो समस्या देखिएको छ । यो रोग विस्तारै माथिल्लो तहसम्मै आयो भने स्थिति भयाभह बन्ने निश्चित छ । तर, नेपाली वित्तीय क्षेत्रमा सिलिकन भ्याली बैंककै स्थिति भने आउने स्थिति छैन,’ उनले भने ।

बैंकहरुको क्यापिटल (पुँजी), ब्याकअप सम्पत्तिले गर्दा पनि नेपाली बैंकहरु सुरक्षित अवस्थामै रहेको उनको भनाइ छ । तर, बढ्दो कर्जा लगानीले बैंक तथा वित्तीय क्षेत्रमा चुनौती भने थपेको उनले स्वीकारे ।

‘सन् २०१५ सम्मा लगभग १३ सय करोड हारहारी रहेको क्रेडिट ५–६ वर्षमै ४८ सय करोड हाराहारी पुग्नु आफैमा समस्या हो । यति छिटो बढेको क्रेडिटले उत्पादन दिन सकेको छैन । तर, चुनौती भने धेरै थपेको छ । यसका लागि सरकारले केही नीतिगत सुधार ल्याएर क्रेडिट सेकुलर सुधार्न आवश्यक छ’ उनले भने ।

यद्यपि, सरकारको लक्ष्य कर्जा माग र आयात नियन्त्रणको नीति आफै संयमित भइसकेको अवस्थामा अब ब्याजदर घटाए हुने उनको भनाइ छ ।

‘अहिलेको समस्याको हल कम्तीमा दुई प्रतिशत ब्याजदर घटाउन सकिने अवस्था छ । मौद्रिक नीतिले लिएको नीति १.५ प्रतिशत ब्याज घट्ने हो भने पनि समस्याको हल हुन्छ । अझै समय छ, ७–८ महिनामा स्थिति सहजता हुनेमा विश्वस्त छु,’ भट्टराईले रातोपाटीसँग भने ।

बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षणमा कडाई

यता केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षणमा कडाई गर्ने जनाएको छ । इन साइड मात्र नभएर अफ साइड सुपरिवेक्षणमा समेत केन्द्रीय उत्तिकै क्रियाशील भइरहेकाले अमेरिकाको जस्तो नेपाली बैंक तथा वित्तीय संस्थाले भोग्नु नपर्ने राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेल बताउँछन् ।

‘समस्या बाजा बजाएर त आउँदैन, तर बैंक तथा वित्तीय संस्थाको वित्तीय स्थिति केछ त्यसले भने सहज र जोखिम निर्धारण गर्छ । कुन बैंकले तरलता कति कायम गरेको र कति लगानी, कस्तो क्षेत्रमा लगाएको छ, त्यसले निर्धारण गर्छ,’ पोखरेलले भने, ‘जुन दिन संस्थाले आफू मनलाग्दी वित्तीय कारोबार गर्छ र सर्वसाधारणको समेत विश्वास गुमाउँछ, त्यसदिन ढल्छ ।’

केन्द्रीय बैंकले जारी गरेको वित्तीय नीति, निर्देशन निर्देशिका अनुसार चले, तोकिएको मापदण्डहरु पूरा गरे कुनै समस्या नआउने उनले बताए ।

यद्यपि, पछिल्लो समय वित्तीय बजारमा तरलता सहजता हुँदै गएकाले संकट टर्दै गएको पोखरेल बताउँछन् । सोही अवसरमा सूचना अधिकारी पोखरेलले अब छिट्टै राष्ट्र बैंकले निर्देशनमार्फत बैंक तथा वित्तीय क्षेत्रको कर्जा लगानीलाई कडाई गरिने समेत जानकारी दिए । निजी क्षेत्र र प्राथमिकताप्राप्त क्षेत्रमा तोकिएको कर्जा र ब्याजदर कडाईका साथ कार्यान्वयन गराइने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप