गाडी नचढ्ने पालिका प्रमुख : बाइक चढेर जनसेवा !
सुर्खेत । हिजोआज गाडी चढ्ने सपना नबोक्ने मानिस कमै होलान् । बदलिँदो समयमा गाडी आवश्यकताको साधनसमेत बनेको छ । अर्काेतिर पद र प्रतिष्ठानका नाममा राज्यको करोडौँ रकम खर्चेर गाडी चढ्ने प्रवृत्तिको विकास भइरहेको छ । स्थानीय सरकार बनिसकेपछि अहिले गाडी नचढ्ने र खरिद नगर्ने पालिका प्रमुख सायदै होलान् । यस्तै अपवाद बनेका छन् पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क बास्पाने विक (विवश) ।
२०७४ मा निर्वाचित नेतृत्वले करिब ७५ लाख रुपैयाँमा खरिद गरेको गाडी पालिकामा रहे पनि उनी गाडी चढ्दैनन् । बरु दुई लाख ७३ हजार मूल्यमा खरिद गरिएको होन्डाको आफ्नै पुरानो बाइक चढेर पालिकादेखि जिल्ला सदरमुकामसम्म चहार्छन् ।
कुनै ठाउँमा केही आवश्यक कार्यक्रम प¥यो भने पालिका उपाध्यक्ष नरबहादुर बान्तोलाले पालिकाको गाडी लगेर पुग्छन्, अध्यक्ष विक भने धुलोधुवाँका बाबजुद पनि आफ्नै पुरानो बाइक चढेर हाजिर हुन्छन् । संयोग भन्नुपर्छ केही दिनअघि पश्चिम बेनीघाटमा एउटा ठूलो कार्यक्रम राखिएको थियो । जुन पालिकाको मुकाम गुटुदेखि करिब ५५ किमि पश्चिममा पर्छ । पालिका उपाध्यक्ष गाडी लगेर त्यहाँ पुग्दा उनी भने धुलोधुवाँमा रुमल्लिँदै आफ्नै बाइकमा त्यहाँ पुगेका थिए । ‘म सेतो गाडी नचढ्ने भनेर प्रतिबद्धता गरेको छु र चढ्दिनँ पनि,’ उनले रातोपाटीसँग भने, ‘यसको अर्थ यो होइन कि गाडी लिएर कुनै ठाउँमा थन्क्याउने भनिएको होइन, गाडी चौकुनेवासीको सेवा र हितमा प्रयोग गर्ने उद्देश्य हो ।’
उनले चुनावताका नै एउटा प्रतिबद्धता जाहेर गरेको सुनाए । ‘म सेतो गाडी दुरुपयोग गर्न उम्मेदवार भएको हैन र भोट माग्न पनि आएको होइन । मेरो इच्छा पैसा कमाउने, आफ्नो सान देखाउने र पद प्रतिष्ठा भजाउनका लागि राजनीतिमा आएको होइन । जनताको सेवा गर्न आएको हुँ,’ उनले चुनावी प्रतिबद्धता स्मरण गर्दै भने, ‘त्यसैको जगमा टेकेर अहिले आफ्नै बाइकको सहायताले जनताको सेवमा समर्पित छु ।’
उम्मेदवार हुँदै गर्दा पालिकाको अध्यक्ष जिते पनि आफ्नो वजन नबढ्ने र जति छ यही बाइकले नै धान्ने बताएको कुरा पनि सुनाए । ‘पाँच वर्ष यसैमार्फत सेवा गर्छु, गाडीलाई जनताको हितमा, ज्येष्ठ नागरिक, बालबालिकाको हितमा प्रयोग गर्छु,’ उनले थपे ।
जनताको घरनजिकको ‘सिंहदरबार’ भनेर भन्ने गरिएको छ । सङ्घीयताले परिकल्पना गरेअनुसार मान्छेको अधिकार ‘गाउँ–गाउँमा’ आएको छ । तर अझै पनि जनताको अवस्था र राजनीतिकर्मीको तादम्यता नमिलेको उनको तर्क छ । उनी भन्छन्, ‘सरकारको परिकल्पनाविरुद्ध सेतो गाडी चढेर धुलो उडाउँदै जन्मदिन मनाउन जाने, धुलो उडाउँदै घुमफिर गर्न जाने र रमाइला ठाउँमा गएर तस्बिर खिच्नेजस्ता कुरामा सरकारी गाडीको दुरुपयोग भइरहेको मैले देखेको छु । त्यसैले मैले सोचेँ, मैले त्यसो गर्नु हुँदैन ।’
चौकुनेका अधिकांश बाटाहरू मोटरेबल मात्र नभई पैदल हिड्ने पनि छन् । ती बाटाहरू उनले कुनै बेला पैदल पनि चहारे । पालिकाको कामले काठमाडौँ वा सुर्खेत (वीरेन्द्रनगर) जानैपर्ने भयो भने, हावाहुरी चलेको, पानी परिरेको अवस्थामा गाडी प्रयोग गरे पनि अन्य कार्यसम्पादनका समयमा गाडी नचढ्ने उनले बताए । पालिकाको मुकाम गुटुदेखि सदरमुकाम वीरेन्द्रनगरको दूरी करिब ६० किलोमिटर पर्छ । पालिकाभित्रै पनि ५५–६० किलोमिटर दूरीमा रहेका ठाउँहरू पनि छन् । त्यस्ता ठाउँमा पनि उनी बाइक चढेर नै ओहोरदोहोर गरिरहेका भेटिन्छन् । दैनिक कार्यसम्पादनका लागि आफूलाई कुनै गाडीको जरुरत नपरेको उनी बताउँछन् ।
घरदेखि कार्यालय पुग्न उनलाई २५ मिनेट लाग्छ । उनको घर वडा नम्बर ७ को सान्नेघारीमा पर्छ भने वडा कार्यालय वडा नम्बर ६ को गुटुमा छ । २५ मिनेटको समयका लागि गाडी आवाश्यक नपर्ने उनको तर्क छ । बाइकका लागि तेल भने आफूले पाउने सुविधाकै प्रयोग गर्ने गरेका छन् ।
कार्यविधि अनुसार पालिका अध्यक्षका लागि मासिक ६० लिटर तेलको सुविधा दिइएको छ । तर बाइकमा मासिक १०–१५ लिटर मात्रै खर्च हुने गरेको उनले बताए ।
भूगोलको हिसाबले निकै ठूलो यो पालिकाका कतिपय वडादेखि पालिकासम्मको दूरी पनि निकै टाढा छ । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि पालिका मुकाम आउन–जान निकै टाढा पर्छ । आउ–जाउ गर्दा नै भत्ताको आधा रकम सकिन्छ । यो समस्यालाई मध्यनजर गर्दै पालिकाको गाडीको प्रयोग गरी लक्ष्मी बैङ्कको टिम प्रत्येक महिना वडा र गाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको उनले सुनाए । उनी भन्छन्, ‘सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ नागरिकका लागि नै ठूलो महाभारत हुने अवस्था थियो । भत्ताको आधा रकम मात्र घर पुग्थ्यो । त्यो समस्या अहिले समाधान भएको छ ।’
यस्तै योजना सम्झौताका लागि पनि गाडी प्रयोग हुनेगरेको उनले बताए । लगाम, घाटगाउँका स्थानीयले पालिकामा योजना सम्झौता गर्न पालिकाको केन्द्र गुटुसम्म आउन जान निकै रकम खर्च हुन्छ । यी सबै काम गर्न एक लाखदेखि एक लाख ५० हजार रुपियाँसम्म रकम खर्च हुन्छ । त्यो रकमको भार योजनामै पर्ने हुन्छ । त्यसलाई घटाउन पनि पालिकाका प्रशासकीय प्रमुख, इन्जिनियरलगायतको टोली त्यही गाडी लगेर सम्बन्धित वडामै पुगेर योजना छनोटको काम गर्ने गरेको अध्यक्ष विकले बताए । यसो गर्दा लागत अनुमानको रकम दुरुपयोग नहुने अपेक्षा उनको छ । ‘नागरिकले वडास्तरमै सेवा मिलोस् भन्ने अपेक्षा हो, उनीहरूले गाउँगाउँमा ‘सिंहदरबार’ पुगेको आभास गर्न सकून्,’ उनी भन्छन् ।
पालिकाकालाई आवश्यक पर्ने सामग्री वीरेन्द्रनगरदेखि ल्याउँदा चर्को भाडा तिर्नुपर्छ । पालिकाको गाडीले ढुवानीको काम पनि गरिरहेको उनको भनाइ छ ।
‘जनताको आर्थिक अवस्थासँग सुहाउँदो हुनुपर्छ’
उनी नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित अध्यक्ष हुन् । युद्धकालमा कलाकारको भूमिका निर्वाह गरेका उनी ‘नागरिकको पीडा देख्न नसक्ने व्यक्ति’का रूपमा आफूलाई चित्रण गर्छन् ।
माओवादीलाई सर्वहाराहरूको पार्टी भनिन्थ्यो तर अहिले त्यस्तो छैन । ‘तर कसैको पनि पीडा देख्न सक्दिनँ । म आज पालिका अध्यक्ष छु, यहाँ पु¥याएको जनताले नै हो । मैले अध्यक्ष हुँ भन्दै जनतासँग मेल नखाने जीवनशैली अपनाउनु हुँदैन । जनता पीडामा गुज्रिरहने हो भने त्यो राम्रो हुँदैन,’ उनले भने, ‘जनतामा प्रतिकूल असर पर्नेगरी काम गुरुँला भनेर कहिल्यै सोच्दिनँ ।’
अहिले चौकुनेका सबैजसो वडासम्म कच्ची सडक भए पनि अन्य ठाउँमा सडक सञ्जाल पुगिसकेको छ । पालिकाभर करिब १२० किमि सडकले जोडिएको छ । नागरिकलाई विगतको भन्दा केही सहज भएकै छ ।
त्यसैगरी पालिकामा तीनवटा एम्बुलेन्स पनि छन् । एउटा बिग्रिएको छ भने दुईवटा सञ्चालनमै छन् । एउटा अर्को खरिद गर्ने प्रक्रियामै छ । यी केवल जनताको सेवाका लागि भएको उनको भनाइ छ ।
उनले चाहेको पालिका
उनी २०५६ मा सुर्खेत क्षेत्र ३ वीरेन्द्रनगरबाट स्वतन्त्र उम्मेदवार बनेका थिए । तर उमेर नपुगेकाले उनी वञ्चित भए । पछि २०५६ को अन्तिमतिर माओवादीमा आबद्ध भएका उनी २०५७ देखि भूमिगत भए । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ इच्छुक परिवार टिमको नेतृत्व लिएर क्रान्तिलाई मलजल गरे । शान्ति प्रक्रियापछि पनि पश्चिममा राज्यसत्ताको पहुँच नपुगेपछि कुटो र कोदालाको माध्यमबाट विकास निर्माणका काममा नेतृत्व गरे । ती बाटाहरूमा बजेट आए पनि दुरुपयोग भएकाले सडक विकास हुन सकेन । २०६७ सालमा ‘भुटेका मकै र सुकेका रोटी, सुर्खेतदेखि पश्चिम डोटी, छातीको भरमा हात्ती हान्ने, आफ्नो काम आफैँ गर्ने’ भन्ने नाराका साथ बुलडोजर ल्याएर लगामसम्म गाडी पु¥याउने काम उनले गरेका थिए ।
२०७४ मा पनि उनले चुनाव लडे तर पराजित भए । तर उनले चौकुनेको सेवामा समर्पित हुने चाहनालाई २०७९ को स्थानीय तहको निर्वाचनमा आएर पूरा भयो । पालिकालाई समुन्नत र आत्मनिर्भर बनाउने उनको चाहना छ ।
चौकुने गाउँपालिका नदीबीचको टापु हो । वरिपरि कर्णाली र भेरी नदीले घेरेका छन् भने यसको प्राकृतिक निकास पूर्वमा करिब ९ किलोमिटर छ । यो कृषि, पशुपालन र नगदेबालीमा अथाह सम्भावना भएको पालिका हो ।
यस वर्ष पालिकामा १० हजार केराका बेर्ना रोप्ने कार्यक्रम राखिएको उनले बताए । कागती, अमिलो, चिउरी, ड्रागनफ्रुट जस्ता बाली लगाउन बजेटको व्यवस्थापन गरिएको छ । यहीमाध्यमबाट चौकुनेवासीलाई आत्मनिर्भर बनाउने योजना रहेको उनले बताए ।
‘चौकुनेका धेरैजसो स्थानीयवासी अहिले भारतको सिम्लामा गएर स्याउ टिप्छन्, रत्नागर गएर आँप टिप्छन् र घर चलाउँछन्,’ उनले भने । उनी चौकुनेभित्र फलफूल टिप्ने वातावरण कसरी सिर्जना गर्न सकिन्छ, त्यतातर्फ लागिरहेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको मध्यभागका सम्पदा संरक्षण गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति
-
डा. बाबुराम भट्टराईको ‘समृद्ध समाजवाद’ अवधारणा : सम्भावना र सीमाहरू
-
सरकारले मधेसको ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको विकासमा ध्यान नदिएको प्रभु साहको आरोप
-
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ : अर्थमन्त्री पौडेल
-
चिकित्साबाट ग्ल्यामर क्षेत्रमा डेनिलाको छलाङ
-
माओवादी केन्द्रले आज कीर्तिपुरको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने