रातोपाटी ब्रिफिङ : सकियो राष्ट्रपति भण्डारीको कार्यकाल, सोमबार पौडेलको सपथ
काठमाडौँ । आज २०७९ फागुन २८ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा उपराष्ट्रपतिमा रस्साकस्सी, राष्ट्रपति भण्डारीको कार्यकाल सकियो, माओवादी धारभित्र बढ्यो असमझदारी, सिन्धुलीमा बस दुर्घटना, बैंकको चर्को व्याजदर विरुद्ध व्यवसायी सडकमा, एक दिवसीय क्रिकेटको मान्यता जोगायो नेपालले, बढ्यो रेमिट्यान्स, स्ववियु निर्वाचनमा तालमेललाई चुनौती दिँदै बागी उम्मेदवारको लर्को, डीएसपी ठगबहादुर केसीमाथिको छानबिन प्रतिवेदन बुझाइयो लगायत छन् ।
१. उपराष्ट्रपतिमा रस्साकस्सी
उपराष्ट्रपति निर्वाचनमा रामसहाय यादवको उम्मेदवारी अन्ततः कायम रहेको छ । राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेका कारण उपराष्ट्रपति पदका लागि महिला उम्मेदवार हुनुपर्ने भन्दै विभिन्न कोणबाट आवाज उठेको थियो । यद्यपि, यो मामिला तत्कालका लागि टुंगिएको छ । उपराष्ट्रपति पदका लागि एमालेबाट अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनबाट रामसहाय प्रसाद यादवका अतिरिक्त प्रमिला कुमारी र ममता झा उम्मेदवार छन् ।
२. राष्ट्रपति भण्डारीको कार्यकाल सकियो
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज रातिबाट समाप्त हुँदैछ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि शपथ ग्रहण गरेर विधिवत रुपमा राष्ट्र प्रमुखका रुपमा जिम्मेवारी सम्हाल्ने छन् ।
३. माओवादी धारभित्र बढ्यो असमझदारी
१० वर्ष लामो जनयुद्धमा सामेल भएर पछिल्लो समय विधिन्न दलका रुपमा क्रियाशील माओवादी धार कार्यगत एकताको चरणमा नपुग्दै असमझदारीमा रुमल्लिन थालेको छ । माओवादी धारका तीन दलले संयुक्त पत्रकार सम्मेलन नै बहिष्कार गरेसँगै फाटो सतहमा आएको हो ।
४. सिन्धुलीमा बस दुर्घटना
सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस फिक्कलमा दुर्घटना भएको थियो ।
५. बैंकको चर्को व्याजदर विरुद्ध व्यवसायी सडकमा
बैंकको चर्को व्याजदर विरुद्ध व्यवसायीहरु सडकमा उत्रिएका छन् । उनीहरुले राष्ट्र बैंक घेराउको कार्यक्रमसमेत राखेका छन् ।
६. एक दिवसीय क्रिकेटको मान्यता जोगायो नेपालले
नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय मान्यता जोगाएको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा यूएईलाई हराउँदै एकदिवसीय मान्यता जोगाएको हो ।
७. बढ्यो रेमिट्यान्स
चालु आर्थिक वर्षको ७ महिनामा ६ खर्ब ८९ अर्ब रुपैयाँभन्दा बढी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार ७ महिना (साउन–माघ) सम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै यस अवधिमा कुल ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.१ प्रतिशतले बढी हो ।
८. स्ववियु निर्वाचनमा तालमेललाई चुनौती दिँदै बागी उम्मेदवारको लर्को
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्ता गठबन्धन निकट विद्यार्थी संगठनबीचको तालमेलमा भद्रगोल देखिएको छ । काठमाडौँ उपत्यकाका २२ आंगिक र ६ सामुदायिक क्याम्मसमा कांग्रेस निकट नेविसंघ, माओवादी निकट अखिल क्रान्तिकारी र नेकपा एकीकृत समाजवादी अनेरास्ववियूबीच भएको तालमेल कार्यान्वयनमा समस्या देखिएको हो ।
९. डीएसपी ठगबहादुर केसीमाथिको छानबिन प्रतिवेदन बुझाइयो
प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीबारे छानबिन गर्न गठित समितिले छानबिन प्रतिवेदन बुझाएको छ । आइतबार समितिका संयोजक (एसएसपी) चन्द्र कुवेर खापुङले आईजीपी धिरज प्रताप सिंहलाई प्रतिवेदन बुझाएका हुन् । ईलाका प्रहरी कार्यालय बुटवलमा रहँदा डीएसपी केसीले सुन व्यापारी किसन बिकसँग ‘घुस’ लिएको घटना छानबिन गर्न समिति गठन गरिएको थियो ।
१०. ‘एचथ्रीएन टु इन्फ्लुएन्जा’को त्रास
मौसम परिर्वतन भएसँगै रुघाखोकीका बिरामी बढ्न थालेका छन् । रुघाखोकीलाई सामान्य ठानेर उपचार नगरेको खण्डमा ‘एचथ्रीएन टु इन्फ्लुएन्जा’ अर्थात् हङकङ फ्लु पनि हुन सक्छ । रुघाखोकी सामान्य नभएर इन्फ्लुएन्जा ‘ए’ भाइरसको एचथ्रीएन स्ट्रङ हुनसक्ने सरुवा रोग विशेषज्ञले बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले कसैलाई एक्लो र असहाय हुन दिँदैन : प्रधानमन्त्री ओली
-
रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने
-
माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित
-
‘कन्फ्लुयन्स’ : कलाका सिद्धान्त र तत्त्वमा आधारित प्रदर्शनी
-
सुदूरपश्चिम रोयल्समा सुदूरपश्चिमेलीको वर्चश्व
-
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढ्यो