विद्यालयमा मन्त्रालय राख्ने विषयमा ५ नम्बर प्रदेशमा ‘महाभारत’
तेजेन्द्र के.सी.
बुटवल– प्रदेश सरकारको एक मन्त्रालय यहाँको एक सरकारी विद्यालयमा राख्ने विषयमा निकै ठूलो विवाद देखिएको छ ।
स्थानीय तहको चुनावमा तिक्तता बढ्यो, यसको असर अहिले मन्त्रालय राख्ने विषयमा देखिएको छ ।
बुटवल उपमहानगरपालिका–१ का वडा अध्यक्ष महेन्द्र लिगल र पूर्वउपमेयर विमलबहादुर शाक्यको अन्तरद्वन्द्वले मन्त्रालय स्थापना कठिन भएको छ ।
बुटवल माविमा मन्त्रालय राख्ने वा नराख्ने भन्ने विषयमा उनीहरूबीच ठूलो विवाद देखिएको छ ।
पाँच नम्बर प्रदेशको सामाजिक मन्त्रालय बुटवल माविमा राख्ने–नराख्ने, प्रतिष्ठाको विषय बनेको छ ।
पूर्वउपमेयर विमलबहादुर शाक्य, जो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुन्, उनी विद्यालयमा मन्त्रालय राख्न नदिने पक्षमा छन् ।
वडा अध्यक्ष महेन्द्र लिगल बुटवलमा माविका मन्त्रालय जसरी पनि राख्नु पर्ने पक्षमा छन् ।
उनीहरू दुवै एमालेकै नेता हुन् ।
तर स्थानीय तहको निर्वाचनको तिक्तताले प्रदेशको मन्त्रालय राख्ने विषयमा विवाद भएको हो ।
अवस्था कस्तोसम्म भयो भने मन्त्रालय खोज्दै हिँडेको सरकारी टोल विद्यालय पुग्यो ।
त्यसपछि त्यहीँ मन्त्रालय राख्ने निर्णय पनि भयो ।
तर विद्यालय व्यवस्थापन समितिले केही घण्टामा नै निर्णय बदल्यो ।
बिहीबार दिउँसो सामाजिक विकास मन्त्रालयका सचिव पुष्करराज पन्तसहितको टोली बुटवल–१ मा रहेको बुटवल माविमा मन्त्रालय राख्नको लागि बोर्ड लगेर पुगेको थियो ।
तर, केही शिक्षक तथा अभिभावकले मन्त्रालय राख्न नमिल्ने भन्दै फिर्ता पठाए ।
बोर्ड गाडीमा राखेर टोली फर्कियो ।
सोही दिन बिहान निरीक्षण गर्न पुगेको टोलीसँग विद्यालय व्यवस्थापन समितिले मन्त्रालय राख्न दिने सहमति गरेको थियो ।
त्यसपछि जब टोली बोर्ड राख्न पुग्यो, त्यसबेला बेला विद्यालय व्यस्थापन समितिका अध्यक्ष विमलबहादुर शाक्य र प्रअ अकरामुल्लाह खाँ भने विद्यालयमा थिएन् । उनीहरू मन्त्रालय नराख्ने उपायको खोजी गर्दै जिल्ला शिक्षा कार्यालय रूपन्देही पुगेका थिए ।
अहिले मन्त्रालयको बोर्ड बुटवल बसपार्कमा नगरपालिकाले बनाएको व्यापारिक भवन राखिएको छ ।
उता बुटवल माविमा मन्त्रालय राख्नको थप पहल गर्न एक टोली लागिरहेको छ ।
अध्यक्षसहित टोली रोक्नका लागि दौडधूपमा छ ।
दुवै पक्षले राजनीतिक तथा अन्य शक्ति प्रयोग गरेका छन् ।
बुटवल माविमा मन्त्रालय लैजाँदा पारी बुटवल बार्ड नम्बर १ देखि ५ सम्म विकास हुने भन्दै बार्ड अध्यक्षदेखि प्रदेश सभासद भोजप्रसाद श्रेष्ठसम्मले आआफ्नै ढङ्गले लबिङ गरेका छन् ।
‘विद्यालय मासेर सिंहदरबार स्थापना गर्नु हँुदैन’ भन्नेहरू पनि राजनीतिक लबिङमा छन् ।
लैजान खोज्ने पक्षकाले सके समाजिक मन्त्रालय नभए अन्य मन्त्रालय या महाशाखा भए पनि विद्यालयमा स्थापना गर्न चाहेका छन् ।
सरकार चाहन्छ– विवाद मिलोस्
सरकारका प्रवक्ता एवम् भोतिक पूर्वधार मन्त्री बैजनाथ चौधरीले बुटवल मविको भवन, जग्गा, त्यहाको वातारण मन्त्रालय राख्नका लागि उपयुक्त भएको भन्दै जान सक्ने सम्भवान रहेको बताए ।
उनले भने– ‘हामीलाई अझै भवन चाहिन्छन् । तथर्स बुटवल मावि आन्तरिक विवाद मिलेमा जानका लागि केही समस्या छैन । तर उनीहरू मिलेर आउनुपर्छ ।’
५ नम्बर प्रदेशमा अहिले मुख्यमन्त्रीसहित ७ वटा मन्त्रालय रहेका छन् ।
तीमध्ये ४ वटा श्रम कार्यालयको भवन रहेका छन् । अन्य तीन अन्यत्र व्यवस्थापन भएका छन् ।
मन्त्री चौधरीले भने, ‘अझै मन्त्रालय थपिन सक्छन् । मन्त्रालय विभिन्न शाखा उपसाखाका लागि पनि भवन आवस्यक छ । त्यो बेला बुटवल मावि जस्ता उपयुक्त ठाउँ नै प्रयोग गर्न सकिन्छ ।’
सोही क्षेत्रका प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवल मावि मन्त्रालय लैजाने काम केही विकास विरोधीहरू कारण अवरुद्ध भएको बताए ।
उनले बुटवल माविमा मन्त्रालय राख्दा उक्त क्षेत्रको विकास गर्न सहज हुने मनसायले लैजान थालिएको तर केही विकासविराधी र कुरा नबुझेकाले अवरोध सिजार्न गरेको आरोप लागए ।
विद्यालयमा विवादपछि सपिङ कम्लेक्समा मन्त्रालयको बोर्ड
बुटवलमा मावि विवाद आएर सरकारी टोली बोर्ड लिएर फर्कियो ।
त्यसपछि भौतिक योजना मन्त्री बैजनाथ चौधरीले उपमहानगरपालिका मेयर शिवराज सुवेदीलाई बोलाएर विद्यालयमा विरोध आएकाले तत्काल अर्को ठाउँ खोज्न आग्रह गरे ।
सुवेदीले बुटवल उपमहानगर पालिकाद्वारा निर्मित बसपार्कभित्रको सपिङ कम्पेल्समा मन्त्रालय राख्न सकिने भन्दै देखाउन लगे । बुटवलमा मावि लगेको बोर्ड बसपार्कको सपिङ कम्पेलमा टाँगिएको छ ।
बोर्ड टागिएको सामाजिक विकास मन्त्रालयमा एक जना सरकारी कर्मचारी भेटिए ।
मन्त्रालय तल केही प्रहरी बसेका थिए ।
ती प्रहरी बसपार्कको बिटमा रहेका टोली हुन् । मन्त्रालयले खटाएका भने हाइन् ।
सरकारी कर्मचारीले रातोपाटीसँग भने, ‘अन्य सरहरू माथि मुख्यमन्त्रीसहितकै भवन नै हुनुहन्छ । अहिले टेलिफोन जडान गर्नका लागि म ठाउँ हेर्न आएको हुँ । बसपार्कमा अस्थायी रूपमा राखिए पनि अन्य उपयुक्त ठाउँ खोजेर लैजाने मनसायमा प्रदेश सरकारको छ ।’
आआफ्नै दाबी
विद्यालयमा मन्त्रालय राख्दा वडा नम्बर १ देखि ५ सम्मको भौतिक पूर्वधारको विकास हुने, बजारसमेत चलायमान बन्ने, ऐतिहासिक धार्मिक क्षेत्रको विकास पनि हुने एउटा पक्षको दाबी छ । यसमा प्रदेश सभासद भोजप्रसाद श्रेष्ठ १ का बार्ड अध्यक्ष लिगल, २ का वडा अध्यक्ष रमेश नेपाललगायतका छन् ।
अर्को पक्ष विद्यायल व्यवस्थापन समिति अध्यक्ष र शिक्षक सङ्घ सङ्गठनको छ, जसले ऐतिहासिक विद्यालयको अस्तित्व जोगाउँदै शैक्षिक गुणस्तर वृद्धि गर्ने मान्यता राख्छन् ।
महेन्द्र लिगल बार्ड अध्यक्ष
१– यो विद्यालय पुरानो हो । ५० सालदेखि यता विद्यालयको शैक्षिक गुणस्तर खस्केको छ ।
अब उक्त विद्यालयमा रहेको जग्गा र भवनमा मन्त्रालयमा राख्दा बुटवल प्रदेशको राजधानी बस्दा पारि बुटवलमा अथार्त पुरानो बुटवलका बासिन्दालाई पनि गर्वको महसुस हुने छ । तसर्थ मन्त्रालय बुटवल माविमा लैजानु पर्छ ।
२– मन्त्रालय राख्दा पुरानो भए पनि विकासले पिछडिएका यी क्षेत्रलाई भौतिक पूर्वधारहरू निमार्णमा सहयोग हुने छ । सडक, पुल, ढलको निमार्ण सहयोग पुग्ने छ
३– बजार विस्तार हुने छ । पारि बुटवलका बासिन्दाले थप रोजगारी पाउने छन् । पुरानो बजार भएको यहाँको बजारको गुुल्जार हुने र खण्डहर बनेको बुटवललाई राहत मिल्ने छ ।
४– मन्त्रालय रहँदा पारि बुटवलको ऐतिहासिक, धार्मिक, पुरात्वक महत्वलाई संरक्षण गर्न सहज हुने छ । यहाँको मैलिकपनलाई जोगाइ राख्न पनि मन्त्रालय आवश्यक छ ।
५– अहिले उक्त ठाउँमा लागूऔषधको अखडा बनेको छ । अब मन्त्रालय बसेपछि सुरक्षा पनि मजबुत हुनेछ । विद्यालयको स्तरउन्नति पनि हुने छ ।
६– हामीले बुटवल माविको सबै जग्गा र सबै भवन मागेका हाइनौँ केही भाग मागिएकाले यस विद्यालयको पुरानो विद्यायको शैक्षिक गुणस्तर वृद्धि गर्न मन्त्रालय बसेपछि सहयोग हुने छ ।
कसले राख्न चाहँदैनन्
यता मन्त्रालय राख्न नमिल्ने पक्षमा रहेका विद्यालय व्यवस्था समितिका अध्यक्ष विमलबहादुर शाक्य छन् । उनले स्थानीय तहमा आफूलाई काङ्ग्रेसका उम्मेदवार सहयोग गरेको खुलाए । उनका अनुसार एमाले उम्मेदार मेहन्द्रभन्दा काङ्ग्रेस उम्मेदवार विकास प्रेमी, शिक्षाप्रेमी थिए । त्यही कारणले आफूले सहयोग गरेको बताए ।
उनले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा आफू लागिरहेको दाबी गर्दै मन्त्रालय राख्ने बिषय अनावस्यक दवाव आएको बताए ।
बुटवलका शिक्षाविद्, बौद्धिक वर्ग, समाजसेवीसहित स्थानीयसँग आवश्यक छलफल नगरी हतारमा निर्णय लिन नहुँने बताए ।
बुटवलवासीको शिक्षाको धरोहर बुटवलमा माविका अस्तिव बचाउनुपर्ने उनको तर्क छ ।
शिक्षा पत्रकार समूह केन्द्रीय सदस्य कृष्ण मल्ल
१ बुटवल मावि बुटवलबासी गहना हो । बुटवलको जेठो विद्यालय मास्नु हुँदैन । ऐतिहासिक विद्यालयको संरक्षण गर्नुपर्छ ।
२ विद्यालयको सम्पत्ति शिक्षा क्षेत्रमा प्रयोग हुनपर्छ । मन्त्रालय राखेर सिंहदरबार बनाउने काम गर्नु हुँदैन ।
३ बुटवल मावि र उजिर सिंह मावि मर्ज गर्ने हल्ला चलेको छ । नेपाल सरकारले जारी गरेको विद्यालय समायोजन कार्यान्वयन निर्देशिका २०७० अनुसार विद्यालय स्तरवृद्धिका लागि र विद्यार्थी सङ्ख्या निम्न
भएको अवस्थामा विद्यालय समायोजन गर्न सकिने व्यवस्था छ । तर बुटवल मावि यो दुवै अवस्था नभएको मर्ज गर्न मिल्दैन ।
४ विद्यालयको शैक्षिक गुणस्तर विकास गर्नुपर्छ । जनप्रतिनिधि या व्यवस्थापन समिति मर्ज गर्दा शिक्षा क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरेर गर्नुपर्छ । कहिलेकाहीँ हतारमा निणर्य गर्दा शिक्षा क्षेत्र धेरै ठूला दुर्घटना पनि भएका छन् ।
५ सरकारले नयाँ नयाँ प्राविधिक शिक्षाको नीति ल्याएको छ । ऐतिहासिक विद्यालय बुटवल माविलाई प्राविधिक शिक्षालयको विकास गरेर प्रदेशको एक नम्बर विद्यालय पनि बनाउन सकिन्छ । प्रदेशको एक नम्बर विद्यालय बनाउन लाग्नुपर्छ सिंहदरबार अन्यत्र बनाउन सकिन्छ ।
पूर्वजिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा भन्छन्– मन्त्रालय राख्ने होइन दरबार हाइस्कुल जस्तै संरक्षण गर्नुपर्छ
म बुटवलमा माविको ३१ सालमा एस.एल.सी पास गरेको विद्यार्थी हँु ।
मजस्ता थुप्रैले यो विद्यालयबाट एस.एल.सी. पास गरेका छन् । उनीहरूले कुनै न कुनै रूपमा माया गरेकै हुन्छन् ।
विद्यालयको शैक्षिक गुणस्तर सुधारमा ध्यान दिनुपर्छ । यसका लागि विद्यालय व्यवस्थापन समिति अभिभावक सङ्घमा स्थानीयहरू नेतृत्व र अपनत्व चाहिन्छ ।
अर्कोतिर उक्त विद्यालयमा अहिले लो प्रोफाइलका व्यक्तिहरूका बच्चाहरू अध्ययन गर्छन् ।
गढी किल्ला, ओटो भिलेज क्षेत्र, मस्जिद आसपासमा बस्नेहरूका धेरै बच्चा बुटवल माविमा आएका छन् । उनीहरूको अन्य क्षेत्रका विद्यार्थीहरूलाई आर्कषण गर्ने विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्छ ।
यो जनसङ्ख्या तीव्र भएको बार्ड हो, जहाँ थुपै विद्यार्थी पाउन सकिन्छ । तर ती विद्यार्थीलाई आकर्षणको नीति ल्याउनुपर्छ ।
शिक्षकहरू पनि क्षमता भएका जस्ता छन् । अब अभिभावक, विद्यालय प्रशासन र शिक्षकबीच तालमेलबाट विद्यार्थीको पढाइमा ध्यान दिने वातावरण तयार पार्नुपर्छ ।
अर्कोतिर विद्यालयमा शैक्षिक गुणस्तरसँगै प्राविधिक शिक्षातिर पनि लैजान सकिन्छ । सरकारले कक्षा ७, ८ बाट पनि प्राविधिक शिक्षाका विभिन्न विषयहरू जोडेको छ । जस्तै कृषि, कम्प्युटर, इन्जिनियरङ आदि छन् । हामी नयाँ मोडल प्राविधिक शिक्षा जोडेर बुटवल मा.वि.लाई आगाडि बढाउन सकिन्छ ।
मन्त्रालय राख्नका लागि बुटवल मावि नै होइन, मन्त्रालयमाथि नुवाकोटतिर लगेर राख्न सकिन्छ, किन विद्यालय छान्नुपर्छ । यो विद्यायल काठमाडौँ दरबार हाइस्कुल जस्तै हो । जसरी सरकारले दरबार हाइस्कुललाई संरक्षण गरेर राखेको छ, त्यसैगरी संरक्षण गर्न जरुरी छ ।
विद्यालय सुधार गर्ने प्रशस्त सम्भावना र विकल्प हुँदाहुँदै पनि बुटवलकै जेठो विद्यालय बुटवल माध्यमिक विद्यालयको अस्तित्व मेटाउनु हुँदैन ।
जिल्लाका शिक्षकले आन्दोलन गर्ने
रूपन्देहीका शिक्षकका सङ्गठनहरूले विद्यालयमा मन्त्रालय राख्ने विषयप्रति आपत्ति जनाएका छन् ।
उनीहरूले एक विज्ञप्ति जारी गरी अकस्मात र बिना आधार उजिरसिंह माध्यमिक विद्यालयमा गाभ्ने र भवन प्रदेश सरकारको मन्त्रालय राख्ने खोजिएकोमा विरोध जनाएका हुन् ।
संयुक्त रूपमा विज्ञप्ति जारी गरी उनीहरूले यो कदमप्रति शिक्षक, कर्मचारीका पेसागत सङ्घ–सङ्गठनको ध्यानाकर्षण भएको भएको र शिक्षा विकासका लागि आवश्यक पर्ने प्रयास नगरी विद्यालय बन्द गर्न खोजिएको कार्यको भत्र्सना गरेका छन् ।
यस्तो छ बुटवल माविको अवस्था
यो विद्यालयको जग्गा बुटवल उपमहानगरपालिका वडा नंं. १ को मनमोहक स्थानमध्येमा पर्छ ।
पुरानो बुटवल अर्थात् बटौलीको नामबाट परिचित बजार तिनाऊ नदीको पश्चिमपट्टि पर्छ । सो बजारको माथि बुटवल माध्यमिक विद्यालयको जग्गा छ । बुटवल माध्यमिक विद्यालय आदर्श विद्या मन्दिरको नाममा २००८ साल मङ्सिर २८ गते स्थापना भएको विद्यालय हो ।
यसअघि बुटवलमा कुनै पनि शैक्षिक संस्था रहेको इतिहास पाइँदैन । बुटवल माध्यमिक विद्यालय रहेको पुरानो पाँचवटा भवनमा ३० कोठा र यसले चर्चेको जग्गाको क्षेत्रफल ८ बिघा ६ कट्ठा ५ धुर छ भने बजारभित्र रहेको अर्को विद्यालयको भवन रहेको जग्गाको क्षेत्रफल २८४ वर्गमिटर छ । जुन १६ कोठे भवनमा अहिले मणिमुकुन्द बोडिङ स्कुल भाडामा सञ्चालनमा छ । यसबाट एक लाखभन्दा धेरै मासिक रकम आउने विद्यायका प्रअ अकरा मुल्लाह खाँ बताउँछन् ।
विद्यालयका अनुसार उक्त विद्यालयमा ३ सय ३५ जना विद्यार्थी छन् ।
बुटवल उपमहानगर पालिका वडा नं. १ र २ मा रहेका बुटवल माध्यमिक विद्यालय, उजिरसिंह माध्यमिक विद्यालय र सरस्वती आधारभूत विद्यालयलाई समायोजन गरी बुटवल माविमा मन्त्रालय राख्न खोजिएको वडा नम्बर २ का वडाध्यक्ष रमेश नेपालले बताए । उनले मन्त्रालय राख्न नदिएर ठूलो अवसर गुमाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एक्टिङ स्टार’ले फिल्म खेल्न पाउने
-
भैरहवामा दैनिक १० अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सकिन्छ
-
सुनको मूल्य बढी लिन ज्याला र जर्तीको 'पासो', भन्सार घटेसँगै कोटा हटाउने बहस सुरू
-
भैरहवामा अन्तर्राष्ट्रिय उडान ‘तरकारीविनाको भात’जस्तै
-
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सातामा २४ उडान तर सञ्चालन खर्च धान्नै मुस्किल
-
फलेटार र घुन्सा क्षेत्रमा परीक्षणका रूपमा स्याउखेती