बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

पीएन क्याम्पसमा स्ववियु निर्वाचनको काम अगाडि नबढाउन अदालतको आदेश

आइतबार, २८ फागुन २०७९, १५ : ४५
आइतबार, २८ फागुन २०७९

पोखरा । पृथ्वी नारायण (पीएन) क्याम्पसमा स्ववियु निर्वाचनका कुनै पनि गतिविधि तत्काल अगाडि नबढाउन उच्च अदालत पोखराले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । क्याम्पसमा विद्यार्थी संगठनले तालाबन्दी लगाएपछि शनिबार उम्मेदवारी दर्ता समेत हुन सकेन । 

फागुन २६ गते विद्यार्थीहरुले आफूहरुले राखेको नाम परिवर्तन गरेर समूहको नाम प्रकाशित गरेको भन्दै अदालत गुहारेका थिए । उनीहरुले तत्काल नाम नसच्याई पाउँ भन्दै उच्च अदालतमा रिट दर्ता गरेका थिए । 

आइतबार अदालतका न्यायाधीश ऋषि राजभण्डारीको एकल इजालाशले चैत २ गतेसम्म काम अगाडि नबढाउन अल्पकालीन आदेश दिएका हुन् । 

अदालतको आदेशमा भनिएको छ, ‘निवेदनमा उठाइएको विषयवस्तुको संवेदनशीलता तर्फ दृष्टिगत गर्दा दुवै पक्षको कुरा सुनी निष्कर्षमा पुग्न उपयुक्त हुने देखिँदा अन्तरिम आदेशको छलफलका लागि चैत २  गते पेशी तारिख तोकी सो दिन अन्तरिम आदेशको छलफलमा उपस्थित हुन विपक्षीहरुलाई सकेसम्म छिटो माध्यमद्वारा जानकारी गराउन र सो सम्मका लागि निर्वाचन सम्बन्धी काम कारबाही अगाडि नबढाउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिदिइएको छ ।’  

क्याम्पसको निर्वाचन मण्डलले फागुन १८ र १९ गते दल/संगठन र समूह दर्ता गर्ने समय तोकेको थियो । सोही अनुसार १४ समूहले निर्वाचनमा भाग लिन नाम दर्ता गराएका थिए । तर, सर्वदलीय बैठकले २ वटा समूहको नाम फालेर १२ दल, संगठन र समूहको अन्तिम नामावली प्रकाशन गरेको थियो । यसमध्ये ‘स्वतन्त्र विद्यार्थी समूह’ले आफ्नो नाम परिवर्तन गरेर अन्तिम नामावली निकालिएको भन्दै उच्च अदालत गुहारेको थियो । 

समूहले आफ्नो नाम परिवर्तन गरेर ‘पृथ्वी विद्यार्थी मञ्च’ बनाएर नामावली प्रकाशित भएको भन्दै गैरजिम्मेवार एवं आपत्तिजनक जनाएको थियो । स्वतन्त्र विद्यार्थी समूहको संयोजक दिप्सन गुरुङ र सचिव अम्बिका धिमालको नाममा दर्ता भएको थियो । १८ गते फारम लिन जाँदा स्वतन्त्र विद्यार्थी समूह नाम राख्न निर्वाचन समितिले अनुमति दिएपनि अन्तिम नामावली प्रकाशन गर्दा समूहको नाम परिवर्तन गरिएको थियो ।

p

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप