शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

बालनाटक : मुक्ति

आइतबार, २८ फागुन २०७९, १५ : २७
आइतबार, २८ फागुन २०७९

स्थान– महर्षि व्यासको आश्रम

समय– बिहान

पात्रहरू– महर्षि व्यास (वेद विभाग कर्ता तथा पौराणिक ग्रन्थ रचना गर्ने ऋषि) र देवर्षि नारद (एक स्थानको सन्देश अर्को स्थानमा पु¥याएर समाजको सेवा गर्ने ऋषि) ।

मञ्चमा व्यासजीको भव्य आश्रम देखिन्छ । नेपथ्यमा कतै मयूरहरू नाचिरहेका छन् भने कतै मृगका बच्चाहरू खेलिरहेका देखिन्छन् । व्यासजी बिहानको सन्ध्या वन्दन तथा जप, पाठ र पूजा सकेर गम्भीर मुद्रामा बसेका हुन्छन् । यति नै बेला एकाएक देवर्षि नारदको प्रवेश हुन्छ । 

नारद– महर्षिजी ! चिन्तित देखिनुहुन्छ नि ? के प¥यो त्यस्तो ? अनुहार हेर्दा लाग्छ ठुलै धन राशि गुमाएर झोक्राएको मानिस । के हो कारण बताउन सक्नुहुन्छ । सकेको सहयोग पाउनुहुनेछ ।

व्यास– ठीकै भन्नुभयो देवर्षिजी ! ठुलै चिन्तामा छु । जाने बुझे जति सबै गरिसकेको छु । तैपनि मनमा शान्ति छैन । न गर्नुपर्ने बाँकी काम के हो थाहा छ न मनले नै शान्ति पाएको छ । यसैको चिन्तामा छु ।

नारद– ओ हो ! तपाईँ जस्ताको पनि यस्तो दुर्दशा ? तपाईँ शास्त्रको व्याख्या गर्न आउनुभएको हो । भगवानले यसै कामका निम्ति खटाएका हुन् । पहिले वेद एउटै थियो । सबैलाई बुझ्न सजिलो होस् भन्ने उद्देश्यले चार भाग गरी ऋग्, यजु, साम र अथर्व नाम राख्नुभयो । विभिन्न पौराणिक ग्रन्थ र महाभारत जस्तो विशाल ग्रन्थको समेत रचना गरिसक्नुभएको छ । तैपनि मन शान्त छैन भने ठान्दा हुन्छ कुनै ठुलै काम बाँकी छ । 

व्यास– त्यही त भन्या देवर्षिजी ! मनले भन्छ अझै गर्नुपर्ने महत्त्वपूर्ण काम बाँकी छ, बुद्धिले भन्छ केही पनि थाहा छैन । यस्तो अवस्थामा तपाईँ नै भन्न सक्नुहुन्छ के गरौँ ?  

नारद– अवश्य (केही सोचे जस्तो गर्दै) तपाईँले काम त धेरै गर्नुभयो तर जुन उद्देश्यले आउनुभएको थियो त्यसको विशेष हिस्सा भने अझै बाँकी देख्छु । 

व्यासजी– कुन काम होला देवर्षिजी ! बताइदिनुभए आभारी हुने थिएँ ।

नारद– तपाईँले शास्त्र त लेख्नुभयो तर व्यावहारिक शिक्षा दिने शास्त्र भने लेख्नुभएको छैन । तपाईँका यस अघिका शास्त्र सैद्धान्तिक ज्ञानका छन् । सैद्धान्तिक ज्ञान दिने पनि शिक्षा त हुन् तर सही शिक्षा भने होइन । सही शिक्षा त त्यो हो, जसलाई पढ्ने र सुन्नेले व्यवहारमा उतार्न सकुन् ।  

व्यास– त्यस्तो ज्ञान दिने शास्त्र कुन होला देवर्षि जी ! 

नारद– भगवान्लाई बिर्सेर गरिएका सबै काम अधुरा हुन्छन् । काम अधुरो भएपछि फल पनि अधुरो हुने नै भयो । त्यसैले तपाईँले अब त्यस्तो शास्त्र लेख्नुपर्नेछ, जसले भगवान्को सम्झना पनि गराओस् र कर्म पूरा गर्न पनि सिकाओस् । यसबाट लोकको उद्धार मात्र हुँदैन भगवान्ले शान्ति र आनन्द प्रदान पनि गर्ने छन् । उदाहरणका लागि मलाई नै हेर्न सक्नुहुन्छ ।

व्यास– तपार्ईँले कस्तो कर्म गर्नुभएको थियो र देवर्षि ! 

नारद– कहानी लामो छ । (लामो सास फेर्दै) पहिलो जन्ममा म दासी पुत्र थिएँ । आमासँगै ऋषि आश्रममा बस्थेँ । मेरो अवस्था देखेर ऋषिहरूले दया गरी सेवा धर्मको बाटो देखाइदिए । त्यसपछि उनीहरूले देखाएका बाटोमा हिँड्न थालेँ । यत्तिकैमा एक दिन सपनामा भगवान् आएर निरन्तर यसैगरी सेवा धर्ममा लागिरहन हौस्याए । त्यसपछि सेवा धर्ममा थप समर्पित हुन थालेँ । त्यसैको प्रभावले अर्को जन्ममा ब्रह्मपुत्र नारद बनेर जन्मन पुगेँ । मेरो काम देखेर भगवान्ले महती नामक वीणा दिनुभयो । अहिले पनि यसैलाई बजाउँदै सेवाकै क्षेत्रमा लागेको छु । यदि तपाईँले पनि सेवा धर्मको व्यावहारिक सन्देश दिने कुनै ग्रन्थ लेख्नुभयो भने पक्कै कल्याण हुनेछ । 

यति भनेर नारदजी हिँडे । व्यासजी पानी आचमन गरी ध्यानमा बसे । बिस्तारै ध्यान लाग्दै गयो र समाधिको अवस्थामा पुगे । यिनै समाधिका बेला उनले जेजस्ता भगवान्को लीला र तिनले गरेका लोकोद्वारको कार्य देखे तिनैलाई समेटेर भागवत ग्रन्थ लेखे, जहाँ भगवान्को लीला मात्र उल्लेख भएको छैन तिनलाई कसरी व्यवहारमा उतारेर सबै किसिमका दुःखबाट मुक्ति पाइन्छ भन्ने तरिकासमेत सिकाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप