गीत–सङ्गीतले समाज बोल्न सक्नुपर्छ : प्रगतिशील गायक विनोद विक
सुर्खेत ।
सुस्ता हाम्रै हो बहिनी
सुस्ता हाम्रै हो...
कालापानी, लिम्पियाधुरा, टिम्बर पोखरी, बनबासा, हिले
त्यो पनि हाम्रै हो...
झुपडी हाम्रो बाँसको, भत्कायो त्यो पनि डोजरले
भूमि हाम्रो नेपालको हडप्यो अहिले भारतले ।
राष्ट्रियता जगाउने यो गीतका सर्जक तथा गायक हुन् विनोद विक । जब जब नेपालका सीमा नाकामा भारतीयले हस्तक्षेप गर्छन्, त्यो बेला यो गीत निकै चर्चामा रहन्छ । गायक विकले ‘देशको परिस्थिति र भारतीय विस्तारवादसामु नेपाली झुक्दैनौँ’ भन्दै गीतमा राष्ट्रियताको भाव झल्काएका छन् । विद्यालयमा पढ्दै गर्दा पनि नेपालका थुप्रै भू–भागका सीमा नाकाहरू मिचिएका बारे अध्ययन गर्दै आएकाले हाम्रो भू–भाग र सीमालाई बचाउनुपर्छ भन्ने हिसाबले उक्त गीत रचिएको गायक विकले बताए ।
खेतको बाली हामीले, उठाउन कहिल्यै नपाउने
सुरक्षा छैन जिउधनको, घरमै आगो लगाउने ।
सुस्ता हाम्रै हो बहिनी...
उक्त हरफ सुस्तावासीले भोगेको पीडाका आधारित छ । सुस्तावासीले लगाएको बालीसमेत संरक्षण गर्न नपाउँदा र उनीहरूको जिउधनको सुरक्षा नभएको कुरालाई गीतमा समेट्न खोजिएको उनले बताए । पश्चिम दैलेख तत्कालीन सिंहासैन गाविस–४, छेपाडीमा जन्मिएका गाएक विक कक्षा ९ सम्मको अध्ययनपछि सङ्गीत सिक्ने भनेर २०५९ सालतिर भक्तपुरतिर हानिएका थिए । २०६१ सालतिरको कुरा हो । एक कार्यक्रममा सहभागी हुनका लागि सुस्ताका जिम्मेवार केही व्यक्ति भक्तपुर आएका थिए । गायक विकको भेट सुस्तावासीसँग भयो । सुस्तावासीले भारतले सीमा नाकाका बार भत्काइदिएको र वारि आएर आफूहरूलाई लखेटिएको कुरा आँसु झार्दै सुनाए । ‘उहाँको पीडाले म विरक्त भएँ अनि सोच आयो अब भारतीय विस्तारवादका विरुद्धमा एउटा गीत लेख्नुपर्छ,’ गायक विकले रातोपाटीसँग भने, ‘सुस्तावासीले सुनाएको कथाका आधारमा मैले उक्त गीतको रचना गरेको हो ।’
उठौँ न नेपाली दाजुभाइ, सहेर कति बस्ने हो ?
हामी त खुम्चिँदै आइसक्यौँ, अब त सोच्नै पर्ने भो ।
हाम्रो भूमि छोड्दैनौँ, बढ्छौँ अघि झुक्दैनौँ
भारतीय विस्तारवाद तेरोसामु झुक्दैनौँ ।
..सुस्ता हाम्रै हो बहिनी... सुस्ता हाम्रै हो...
आफ्नो देशको सीमा पराइले मिच्दा पनि नेपालले मूकदर्शक भएर बस्नुपर्दाको पीडालाई इङ्गित गर्दै अब भारतीय हस्तक्षेपविरुद्ध उठ्नैपर्छ, छिमेकीको हस्तक्षेप कति सहनु ? भनेर गीतमार्फत नेपालीलाई आह्वान गरिएको छ । त्यो बेलामा एकातिर द्वन्द्वले देश प्रभावित भइरहेको थियो भने भारतको हस्तपक्षेप पनि सीमा नाकामा उत्तिकै थियो । भारतीय विस्तारवादले नेपालको सुस्तालगायतका सीमामा अतिक्रमण गरिरहेको थियो भने नागरिकलाई दुःख दिइरहेको थियो ।
गायक विकका अनुसार गीत रेकर्ड नै नगरी देशका विभिन्न ठाउँमा गएर सुनाइयो । धेरैले गीतलाई मन पराएपछि गीतको रेकर्ड गरिएको उनले बताए । गीतको सङ्गीत संयोजन कमल सौरागले गरेका थिए ।
गायक विकको रेकर्ड भएको यो पहिलो गीत भए पनि निकै चर्चामा पुगेको गीत हो । रेडियोमा अत्यधिक मात्रामा बज्थ्यो । पछि ०६६ सालमा लोपोन्मुख जाति राउटे समुदायले दैलेख महोत्सवमा यो गीतमा आफ्नो प्रस्तुति राख्दा अझ गीत लोकप्रिय बनेको गाएक विक बताउँछन् । ‘जहाँ घाउ लाग्छ, त्यहाँ दुख्छ’ भनेझैँ सीमा नाकाका बासिन्दाको कथालाई समेटेर यो गीत बनेको उनको भनाइ छ । उनका अनुसार यो गीतको भिडियो औपचारिक रूपमा अझै बनेको छैन । यद्यपि ‘ग्रेटर नेपाल’को वृत्तचित्रका आधारमा अरू कसैले भिडियो बनाइदिएको उनले सुनाए ।
‘गीत–सङ्गीतले देश बोल्नुपर्छ’
दुर्गम क्षेत्रमा जन्मिए पनि गायक विनोद सानैदेखि प्रगतिशील चिन्तनका थिए । २०५६ को निर्वाचनमा दैलेखका तत्कालीन ५५ वटै गाविस पुगेर जनताका पीर, मर्काका गीत गाउने र समाज रूपान्तरणको सन्देश छर्ने काम उनले गरे । नेमकिपाको सांस्कृतिक फाँट, नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घमा रहेर उनको टोलीले ‘चेतनाको विकास र समाज रूपान्तरण’का पक्षमा रहेर गीत गाउँथ्यो । त्यो बेलामा दैलेख नेमकिपाको गढ नै थियो । उनी सांस्कृतिक फाँटमै रहेर गीत सङ्गीतमा उदाएका हुन् । हाल उनका दुई दर्जनभन्दा बढी राष्ट्रिय भाव बोकेका गीतहरू छन् । देश बोल्ने, समाज र दुःखी, गरिबका पक्षमा गीत गाउने उनी आफूलाई प्रगतिशील गाए भन्न रुचाउँछन् । भक्तपुरमा पनि आस्था सांस्कृतिक परिवारमा रहेर थुप्रै गीतहरू उनले गाएका छन् । ‘हामीले देशका धेरै जिल्लामा पुगेर सांस्कृतिक अभियानहरू गरेका छौँ,’ उनले थपे, ‘त्यसको लक्ष्य भनेको समाजलाई प्रगतिपथमा लम्काउनुपर्छ र विदेशीको गुलाम बन्नुहुन्न भन्ने सन्देश छर्नु थियो ।’
‘मेची नछोड अब काली नछोड
हाम्रो देशको धमनी कर्नाली नछोड
कहिल्यै नछोड अब कहिल्यै नछोड
सुस्ता, कालापानी, लिपुलेक नछोड’
गायक विकको राष्ट्रिय भाव बोकेको अर्को गीत हो यो । एकताका निकै चर्चामा थियो यो गीत, जतिबेला लिपुलेक, लिम्पियाधुराका बारेमा निकै चर्चा भइरहेको थियो । त्यहाँ भारतीय सेना आएर बसिरहेको भन्ने कुरा थियो । त्यसका बारेमा पनि केही न केही लेख्नुपर्छ भनेर यो गीत रचना गरेको गायक विकले बताए । ‘कर्णाली नदीमा भारतीय जीएमआर कम्पनीले विद्युत् निकाल्ने नाममा नदी कब्जा गरिरहेको छ, हाम्रो देशको धमनी त कर्णाली हो नि ?,’ उनी भन्छन्, ‘यस्ता ठाउँमा विदेशीको नजर छिर्न दिनुहुँदैन भनेर गीत बनाइएको हो ।’
गायक विक यी गीतहरू लिएर पूर्वका थुप्रै जिल्लामा पुगेका छन् । जहाँजहाँ यस्ता खालका विषय चर्चामा रहन्छन्, त्यहीँ पुगेर विदेशीका हस्तक्षेपविरुद्ध गीत गाएको स्मरण उनीसँग छ । ‘जतिबेला देश दुख्छ, त्यतिबेला यस्ता खालका रचनाहरू जन्मिए’को उनको भनाइ छ । उनले नाकाबन्दीको समयमा पनि एउटा गीत रचना गरेका थिए ।
‘मेरो पानीमा हस्तक्षेप, मेरो खानीमा हस्तक्षेप
पूर्व, पश्चिम, उत्तर, दक्षिण कहाँ छैन हस्तक्षेप ?
तिमी मेरो मित्र भए किन गर्छौ हस्तक्षेप’
नाकाबन्दीका बेला यो गीत भारतीय दूतावासका अगाडि गएर गाउँदा धेरैको मानसपटलमा झुन्डिएको कुरा उनलाई अझै ताज छ ।
राज्य व्यवस्था, समाज परिवर्तनका लागि किसान, मजदुरका पक्षका उनका गीत समर्पित छन् । ‘खाऊँ भने गाँस छैन, बसौँ भने बास छैन, अब कुनै आस छैन, समाजवाद नल्याई भाछैन’ जस्ता उनका गीतहरूले वास्तविक समाजको कुरालाई उजागर गरेको छ । यसमा सर्वहारा वर्गको आवाज बोलिरहेको छ, सर्वहारा वर्गको समाज बन्नुपर्छ भन्ने खालको सन्देश दिइएको छ । ‘अहिले जसरी किसान, मजदुरलाई राज्यले ललिपपका रूपमा भाषणमा ‘आशाको खेती’ गरिरहेको छ, व्यवहारतः यो कार्यान्वयनमा छैन,’ उनी भन्छन्, ‘निःशुल्क शिक्षा, गाँस, बासको बन्दोबस्त अथवा राज्यले नै नागरिकको जिम्मा लिनुपर्ने व्यवस्था ‘समाजवादी व्यवस्था’ हो । त्यो हामीले ल्याउनुपर्छ र त्यो नल्याईकन जनताको मुक्ति हुँदैन भन्ने सिम्बोलका आधारमा उल्लेखित गीत रचना गरिएको हो ।’
गायक मात्र नभएर विनोद सञ्चारकर्ममा पनि अग्रसर छन् । उनले १२ वर्ष एबीसी टेलिभिजनमा ‘दलितका आवाज’ कार्यक्रम चलाएर देशका दलित समुदायले भोग्दै आएका पीडा र सङ्घर्षका कथाहरूलाई उजागर गर्ने प्रयास गरे ।
जनवादी गायकहरू किन गुमनाम छन् ?
अहिलेको समयमा जनवादी गायकहरू गुमनाम जस्तै छन् । अहिलेका उच्छृङ्खल गीतहरूले बजार लिइरहँदा देशभक्ति, गरिब, मजदुर र दिनदुःखीका गीत गाउने कलाकार र गीतहरू पछाडि परिरहेका छन् । यद्यपि गायक विक भने यो कुरा स्वीकार गर्दैनन् । ‘धेरै मान्छे कमाउने उद्देश्यका साथ लागिरहेका छन्,’ उनी भन्छन्, ‘देश दुखिरहेको छ, देशलाई औषधि उपचार गर्नुपर्ने छ, किसान मजदुरलाई के खाँचो छ, हिजोदेखि पिछडिएको वर्गले के चाहिरहेको छ भन्ने खालका गीत गाउने थोरै मात्र कलाकार छन् । ती गुमनाम होइनन्, बरु राज्यले चासो नदिएको हो ।’
झिलिमिलीमा रमाउने खालका गीतहरूले समाज बोल्ने नसक्ने उनको तर्क छ । उनी दोष अहिलेको व्यवस्थालाई पनि दिन्छन् । धमिरा लागिरहेको समाजमा धमिरालाई हटाउनुपर्छ भन्ने खालको सत्य कुरालाई अहिलेको नेपाली समाजले पचाउन नसकेको उनको तर्क छ । यद्यपि समाज रूपान्तरणका सन्दर्भमा प्रगतिशील गीतको योगदान पनि उत्तिकै रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रेडिट रेटिङको प्रत्यक्ष फाइदा बैंकलाई, विदेशी ऋणमा डेढ प्रतिशतसम्म घट्ने
-
दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
-
सहकारी पीडितद्वारा मानव अधिकार आयोगको कार्यालय घेराऊ, तस्बिरमा हेर्नुहोस्
-
एमालेलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल
-
कीर्तिपुरमा माओवादीका उम्मेदवार महर्जनलाई विजयी गराउन तीन दलको संयुक्त अपिल
-
समीर भट्टको फिल्म ‘बलिदान’को रिलिज कहिले ?