‘प्राध्यापनले मात्रै घर चलाउन गाह्रो भएर हिमांशु सरले प्रेससमेत चलाउनु भयो’
नेपाली साहित्यमा मोहन हिमांशु थापा थोरै लेखेर धेरै चर्चामा रहेका कवि हुन् । ‘खुकुरीमाथि एक चौटा बादल’ उनको सबैभन्दा चर्चित कविता सङ्ग्रह हो । यही कविता सङ्ग्रहले उनलाई चर्चित नेपाली कविहरूको सूचीमा लामबद्ध बनायो ।
जीवन निर्वाहका लागि प्राध्यापन पेसा अपनाएका उनले स्थापनाकालमा नेपाल भाषा विभाग पाटनमा पनि नेपालभाषामा पनि प्राध्यापन गरे । इमानदार, लगनशील र विनयशीलय व्यक्तित्व थापाको यही २०७९ फागुन ३ गते मेडिसिटी अस्पतालमा निधन भएको छ ।
मोहन हिमांशु थापाको अहिलेको घर ललितपुरको नक्खिपोट नजिक मिलनचोकमा छ । सो घरमा थापाकी धर्मपत्नी र उनका कान्छा छोरा बस्दै आएका छन् । थापाका ज्येष्ठ सुपुत्र डा प्रश्वस थापा अस्टे«लियाको ब्रिजबेनबाट भर्खरै आएका रहेछन् ।
प्रस्तुत छ मोहन हिमांशु थापाका बारेमा उहाँकी धर्मपत्नी उर्मिला कार्की थापासँग रातोपाटीका लागि शिखर मोहनले गरेको कुराकानीको सम्पादित अंश :
–मोहन हिमांशु थापा र तपाईंको पारिवारिक पृष्ठभूमिका बारेमा केही बताइदिनुस् न ?
उहाँ गोकर्णमा जन्मनु, हुर्कनु भयो । त्यतिबेला यातायातको सुविधा थिएन । यसैले उहाँ ठमेल नगालतिर डेरा गरेर अध्ययन गर्नुभयो । चार दाजुभाइमध्ये उहाँ माइलो हुनुहुन्थ्यो ।
म सुनसरीको धरानमा अध्ययन गरेकी, शमशेरबहादुर कार्कीकी छोरी हुँ । मेरा बुबा भोजपुर पैँयापानीका कार्की हुन् । भोजपुरमा त्यतिबेला पढ्ने सुविधा थिएन । सबै छोराछोरी पढ्ने भएपछि हामी बसाइँ सरेर धरान आयौँ । हामी धरान आएर पढेका, हुर्केका हौं । इटहरी नजिकै हाम्रो जग्गा थियो । त्यहीँबाट मेरो विवाह पनि भएको हो ।
तत्कालीन समयमा भोजपुरकै च्याङ्रे भन्ने ठाउँमा मेरा बुवाले स्कुल स्थापना गर्नु भएको थियो । शिक्षाप्रति उहाँको एकदमै लगाव थियो । उहाँले स्थापना गरेको अहिले विद्यालय पञ्चकन्या उच्च माध्यमिक विद्यालय भएको छ । मेरो बुवा त पहिल्यै बित्नुभयो । तर विद्यालयमा बुवाको नाममा अक्षयकोष स्थापना गरेका छौँ । त्यहाँ पुस्तकालयका लागि केही पुस्तक पनि उपलब्ध गराएका छौं ।
–उहाँसँग पहिलो भेट कसरी, के सिलसिलामा भयो ?
धरानमै पढ्दा मलाई अध्ययन गराउने एक जना मिस हुनुहुन्थ्यो । उहाँ नेपालीमा एमए गरेर धरान जानु भएको रहेछ । उहाँलाई एमएमा सर (मोहन हिमांशु थापा)ले पढाउनु भएको रहेछ । सर एकदमै घुलमिल हुने व्यक्ति हुनुहुन्थ्यो, विद्यार्थीलगायत सबैसँग फेमिलियर मान्छे । मलाई पढाउने धरानकी मिस पनि त्यस्तै हुनुहुन्थ्यो । मलाई एकदमै मन पराउने ।
त्यतिबेला मिसले सरको घरमा गइरहनु हुँदोरहेछ । सरले बिहे गर्न पनि नमान्ने । अनि धरानको बालिका स्कुलको हेड मिस नारायणी श्रेष्ठलाई उहाँका बुबाआमाले एउटा सिम्पल केटी खोज भन्नु भएछ । अनि मिसले मेरो कुरा राख्नुभएछ ।
म पनि अध्ययनमा निकै अब्बल थिएँ । एसएलसीमा प्लान पाएर बाहिर अध्ययनका लागि जाने अवसर पनि पाएकी थिएँ । तर त्यतिबेलाको सामाजिक सोचका कारण बुवाले छोरी मान्छे बाहिर जानु हुँदैन भन्नुभयो ।
एसएलसी उत्तीर्ण गरेको एक वर्षपछि म काठमाडौँ आएँ । मेरो काका डा डम्बर कार्की त्यतिबेला काठमाडौँ बस्नुहुन्थ्यो । उहाँकै घरमा आएर बसेकी थिएँ ।
त्यतिबेला मेरी एक जना मिल्ने साथी कौशिल्या गिरी त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्थिन् । उनलाई भेट्न त्रिवि गएर फर्किँदा नारायणी श्रेष्ठ र सीता राई गाडीमै भेटिए । त्यहाँ मेरो मिसले सरसँग बिहेको कुरा गरेको केटी भनेर चिनाउनु भएछ ।
सीता राईलाई हिमांशु सरले एकदमै विश्वास गर्नु हुन्थ्यो । उहाँसँग भाइटीका लगाउनुहुन्थ्यो । सरका दिदी बहिनी थिएनन् । सीता राईले विवाहका लागि कुरा गर्नुभएछ । अनि मलाई हेर्न धरान जानु भएको थियो, मनपराउनु भयो । यसरी पहिलो भेट मलाई हेर्न जाँदा धरानमै भएको थियो ।
–विवाह गरेर आएपछि उहाँको आनीबानी चाहिँ कस्तो लागेको थियो ?
उहाँ एकदमै सजिलो मान्छे हुनुहुन्थ्यो । एकदमै हँसिलो, मीठो र राम्रो बोल्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँ आफैँ बोल्नुहुन्थ्यो, मैले बोल्नै पर्दैनथ्यो । म एकदमै अन्तरमुखी स्वभावकी थिएँ । उहाँले गर्दा नै म अलि बोल्ने भएकी हुँ ।
तर पहिले मेरो एक जना साथी शोभा थापाले भनेकी थिइन्, “उर्मिला तिमीले धेरै विद्वान् मान्छेसँग विवाह गर्न लागेकी छ्यौ । विद्वान् मान्छेसँग विवाह गर्दाखेरि खुकुरीको धारमा हिँड्नु जस्तै गाह्रो हुन्छ । तिमी ख्याल गर है ।” तर मैले त्यस्तो अनुभव नै गर्नु परेन । मलाई सहज नै भयो, त्यति सरल हुनुहुँदो रहेछ ।
–उहाँको साहित्य लेखनमा रुचि विवाह पहिलेदेखि नै थियो कि पछि ?
विवाह अघिदेखि नै उहाँले लेख्नुभएको थियो । तर जति लेख्नुपर्ने हो त्यति लेख्न सक्नुभएन । उहाँ आफैँ पनि जति गर्नुपथ्र्यो, गर्न सकिनँ भन्नुहुन्थ्यो । विभिन्न रोगले बेलैमा समात्यो, ३२, ३५ वर्षदेखि । उहाँलाई कोल्ड एलर्जी थियो, युरिन इन्फेक्सन पनि भइरहन्थ्यो ।
अर्कोतर्फ उहाँ विद्यार्थीलाई धेरै समय दिने । विद्यार्थीहरू घरमै आइरहन्थे, नबुझेको कुरा सोध्थे । कसैलाई नाइँ, भ्याउँदिनँ नभन्ने । ऊसँगै बसेर, सम्झाएर, बुझाएर पठाएपछि मात्र आफ्नो काम गर्नुहुन्थ्यो । यी कार्यमा व्यस्त हुँदा लेख्न भ्याउनु भएन । तर आफूले गर्न नसकेको महसुस गरिरहनुहुन्थ्यो ।
कसैले पुरस्कार दिन आए भने ‘मैले केही गर्न सकेको छैन, तपाईंहरूको पुरस्कार कसरी लिने ?’ भन्नुहुन्थ्यो । कहिलेकाहीँ आफ्ना रचना पाठ गरेर मलाई पनि सुनाउनुहुन्थ्यो ।
–‘खुकुरीमाथि एक चौटा बादल’ र ‘नेपाली साहित्यको परिचय’ दुई कृति प्रकाशित भएका छन्, प्रकाशित हुन बाँकी पाण्डुलिपि या उहाँका रचनाहरू अझै छरिएर रहेका छन् कि ?
पाण्डुलिपि नै तयार भएका चाहिँ छैनन् । विभिन्न पत्रपत्रिकामा उहाँका लेखहरू प्रकाशित भएका छन् । उहाँका छरिएका रचना चाहिँ थुप्रै छन् । ती रचना सङ्कलन गर्न सकेको छैन । किनभने म पनि केही समयदेखि बिरामी नै छु । मेरो दुई वर्ष पहिले ब्रेन ट्युमरको अपरेसन गरेको थिएँ । उहाँको ती रचनाहरू सङ्कलन गर्ने योजनामा छौँ ।
–पेसाले उहाँ प्राध्यापक हुनुहुन्थ्यो, अध्यापन गर्न जानुअघि केही तयारी पनि गर्नुहुन्थ्यो ?
आफ्नो तयारी गर्नु हुन्थ्यो । तयारीका साथ अध्यापनका लागि जानुहुन्थ्यो ।
कसैले कुनै विषयमा लेख लेखिदिनुस् भने भने उहाँ तुरुन्त लेख्नु हुन्थ्यो तर निकै पटक त्यसलाई परिमार्जन गरेर मात्र प्रकाशनका लागि दिनुहुन्थ्यो । शब्द शब्द मिलाउनु हुन्थ्यो ।
–उहाँसँग भेट गर्न कस्ता प्रकृतिका मानिसहरू आउँथे ?
धेरै त विद्यार्थीहरू नै आउँथे । उहाँका सहकर्मी प्राध्यापकहरू र साहित्यकारहरू पनि आउँथे । उहाँका आफ्ना साथीहरू पनि आउँथे ।
विभिन्न साहित्यिक कार्यक्रमहरूमा बोल्न बोलाइन्थ्यो । त्यस्ता कार्यक्रममा जाँदा ती पुस्तकहरूको गहन अध्ययन गरेर मात्र जानुहुन्थ्यो । तर पछि कोल्ड एलर्जीले सताउन थालेपछि त बोल्नै नसक्ने हुनुभयो ।
–अहिले तपाईंहरूको हालचाल बुझ्न कोही आउँछन् कि आउँदैनन् ?
अहिले त आउँदैनन्, आएनन् । उहाँ हुँदा जति साथीभाइ आउनुहुन्थ्यो, पछि आउनु भएन ।
तर मलाई ती विद्यार्थीहरूको साह्रै माया लाग्छ । उहाँहरू कति कुरा सिक्न आउनुहुन्थ्यो । अहिले विद्यार्थी नआउँदा मलाई कस्तो कस्तो लाग्छ ।
बल्खुमा बस्दा त एकैछिन् खाली हुन्नथ्यो । कतिलाई त किताब नै दिएर पठाउनुहुन्थ्यो । म सक्दिनँ, भ्याउँदिनँ भनेर कसैलाई नभन्ने ।
–नेपाल भाषामा पनि उहाँ विज्ञ हुनुहुन्थ्यो भनिन्छ, पाटन क्याम्पसमा सो भाषाका विद्यार्थीलाई पढाउनु पनि हुन्थ्यो रे, त्यो भाषा कसरी सिक्नु भयो ?
उहाँ ठमेल ठहिँटी क्षेत्रमा भाडामा बस्नुभएको थियो । उहाँका साथी सबै नेवार थिए । उनीहरूसँग बोल्दा बोल्दै सिक्नु भएछ ।
उहाँले नेवारीमा बोल्दा नेवारहरू नै हाम्रो अगाडि नबोल, हामीलाई लाज हुन्छ भन्थे । हामीभन्दा तपाईं शुद्ध र मीठो बोल्नुहुन्छ भन्थे ।
मलाई विवाह गरेर ल्याउँदा घरमा ससुरालगायत सबै जना नेवारीमै बोल्नुहुन्थ्यो । घरमा सबै नेवारीमा बोल्थे । धरानमा मेरा पनि नेवार साथीहरू थिए, नेवारी म पनि अलि अलि बुझ्थेँ तर फर्काउन जान्दिनँ थिएँ ।
तरकारी ससुराले नै किन्नुहुन्थ्यो । किनभने नेवारी भाषामा मोलमोलाई गर्दा नेवारहरूले तरकारी सस्तोमा दिन्थे । उनीहरूलाई आफ्नो मान्छे जस्तो लाग्दो रहेछ ।
कीर्तिपुरमा प्राध्यापन गराउनुहुन्थ्यो, नेपाल भाषामा उहाँको दखल भएकाले नेपाल भाषा पनि त्यस्तै ३, ४ वर्ष पढाउनु भयो ।
–प्रेस पनि सञ्चालन गर्नु भएको थियो, प्रेस खोल्ने आइडिया तपाईंको हो कि सरको ?
सरको जागिरको मात्र भर थियो । छोराछोरी पढाउन, घर चलाउन गाह्रो थियो । मलाई पनि केही काम त गर्नुपर्छ भन्ने भयो । आफूले जानेको गर्नुपर्ने हुन्थ्यो । प्रेस पढाइसँग सम्बन्धित भएकाले दुवैले सल्लाह गरेर प्रेस खोलेका थियौँ । प्रेसले झ्याप्प झ्याप्प पुस्तकहरू छाप्दै जाँदा पुस्तक होइन, पैसा छापेजस्तो लाग्थ्यो । पछि छोराले आमा धेरै दुःख भयो तपाईंलाई । प्रेस बेच्नुस्, अब म खर्च दिन्छु भनेपछि बेच्यौँ ।
–खानामा चाहिँ के मनपराउनुहुन्थ्यो ?
उहाँलाई दही एकदमै मनपथ्र्यो । तोरीको गुन्द्रुक, मस्यौरा अनि तामा मनपर्ने । तर पछिल्लो समय उहाँलाई केही खान मिलेन । माछा, मासु त निकै वर्ष भएको थियो छोड्नुभएको । प्रोटिनको कमी भएर हातखुट्टा सुन्निए । अनि डाक्टरले खुवाउनुपर्छ भनेका थिए, खाए पनि थोरै खानुहुन्थ्यो । प्रोटिनका लागि अन्डाको सेतो भाग पनि खुवाउनु पर्ने रहेछ । खानुभयो । स्वास्थ्यलाई राम्रो हुने कुरा खानुपर्छ भन्नुहुन्थ्यो । पानी प्रशस्त खानुपर्छ भन्नुहुन्थ्यो ।
–भ्रमणका लागि कहाँ कहाँ जानु भयो ?
दरबारभित्र स्थापना गरेको जाँचबुझ केन्द्रमा पनि काम गर्नुभयो । त्यहाँबाट नेपालका धेरै स्थान घुम्नु भयो ।
डोल्पा जाने असाध्यै मन थियो तर उहाँलाई कोल्ड एलर्जी भएकाले जान सक्नुभएन । नेपाली केन्द्रीय विभागमा हुँदा एक पटक जापान जानुभयो । त्योभन्दा अगाडि रुस, चीन, कोरिया, सिङ्गापुरलगायतका देश पनि जानुभएको थियो ।
–उहाँको सम्झनामा कुनै पुरस्कार या प्रतिष्ठन स्थापना गर्ने योजना केही छ कि ?
सोच चाहिँ छ तर कहाँ, कसरी गर्ने भन्ने चाहिँ अन्योल छ । यस बारेमा पहल गरिदिने मान्छे भए सहज हुने थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरिया पठाउँछु भनेर ९ लाख ठगेको आरोपमा एक जना पक्राउ
-
कर्मचारीविहीन भएपछि वडा अध्यक्षले लगाए वडा कार्यालयमा ताला
-
प्रहरी विधेयक प्रधानमन्त्री कार्यालयमा पेस
-
दुर्गा प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन
-
चार महिनामा एक करोडभन्दा बढी कण्डम आयात
-
गोविन्दाले भान्जा कृष्णा अभिषेकलाई किन भने गधा ?