पुलिसको लगातार तेस्रो हार, जावलाखेल र एपीएफले अंक बाँडे
काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा लगातार तेस्रो हार भोग्दा जावलाखेल युथ क्लब र एपिएफले बराबरी खेल्दै अंक बाँडेका छन् । ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा पुलिस संकटा क्लबसँग ३–० गोल अन्तरले पराजित गर्दा अर्को खेलमा जावलाखेलले अर्को विभागीय टोली एपीएफ क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
संकटाले पुलिसमाथि सहज जित निकाल्ने क्रममा शुरुवातबाट नै दबाब दिएर खेलेको थियो । पुलिसबिरुद्ध जित निकाल्ने क्रममा संकटाका लागि १२ औँ मिनेटमा गणेश हमालले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । काउन्टर गर्ने क्रममा दायाँ कर्नरबाट सुनिल श्रेष्ठले मिलाएको पासलाई गणेशले बक्स भित्रबाट चिप गोल गरेका हुन् । संकटाले पहिलो प्रयासमै गोल गर्न सफल भएको थियो ।
खेलको ८० औँ मिनेटमा रोशन पहारीले गोल गर्दै संकटाको अग्रता दोब्बर बनाएका थिए । मनिष डांगीको प्रहार पुलिस रक्षक अञ्जन राईले फर्काउँदा प्राप्त रिबाउन्ड बललाई रोशनले २५ यार्डबाट गोलमा परिणत गर्न सफल भएका थिए । त्यसको ६ मिनेट पछि संकटाले तेस्रो गोल थप्यो । सुरज जिउ ठकुरीले गोल गर्दै संकटालाई ३–० को सहज जित दिलाए । मनिष डांगीले मिलाएको पासलाई सुरजले बक्सबाहिरबाट पहिलो प्रयासमा नै गोल गर्न सफल भएका थिए ।
यस जितसँगै संकटाले तीन खेलमा चार अंक जोड्दा तीन वटै खेलमा पराजय बेहोरको पुलिस अंकविहीन छ । यसअघि संकटाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग गोलरहीत बराबरी खेल्दा मनाङ मर्स्याङ्दी क्लबसँग १–० को पराजय व्यहोरेका थियो । उता पुलिस चर्च ब्वाइज युनाइटेसँग पहिलो खेलमा २–१ तथा दोस्रो खेलमा हिमालयन शेर्पा क्लबसँग १–० ले पराजित भएको थियो ।
लिग अन्तर्गत शनिवारै सम्पन्न अर्को खेलमा अर्को विभागीय टोली एपिएफ जावलाखेल युथ क्लबसँग गोल रहित बराबरीमा रोकियो । दुवै टोलीले खेल अवधि भर गोलका लागि निकै प्रयास गरे पनि सफल हुन सकेन । १० खेलाडीमा समेटिएको एपिएफबिरुद्ध मौकाको फाइदा उठाउन नसक्दा जावलाखेल युथ क्लबले एक अंकमा चित्त बुझाएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खेलको ६९ औँ मिनेटमा जावलाखेलका स्ट्राइकर हिसुब थपलियालाई लडाएपछि रेफ्री प्रज्वल क्षेत्रीले एडामा डोम्बियालाई दोहोरो पहेँलो कार्ड देखाउँदै मैदान पठाएका थिए । तर उक्त निर्णयमा चर्को आपत्ति देखाएपछि रेफ्री क्षेत्रीले डोम्बियालाई सोझै रातो कार्ड देखाएका हुन् । यसअघि दुवै टोलीले पाएका केही अवसरलाई भने सदुपयोग चुेकेका थिए । २४ औँ मिनेटमा जावलाखेलका फोडे फोफानाको प्रहार एपिएफका गोकिपर एञ्जल श्रेष्ठले बचाएका थिए । त्यसको पाँच मिनेटपछि एन्जलले नै एनकोटो मेसोबीको प्रहार बचाउँदा जावलाखेलले अग्रता लिन असफल भएको थियो । ३२ औँ मिनेटमा एपिएफका हरि कार्कीले गोलको सुनौलोको अवसर गुमाए । ३९ औँ मिनेटमा प्रदीप लामाको प्रभावशाली प्रहार जावलाखेल गोलकिपर अनिश देउलाले बचाएका थिए । ४७ औँ मिनेटमा एपिएफका सनिश श्रेष्ठको प्रहार अनिशले बँचाए । त्यस्तै ६८ औँ मिनेटमा जावलाखेलका अब्दुलाजिज निशेनबेइभको प्रहार बाहिरिएको थियो ।
यस बराबरीपछि जावलाखेलको तीन खेलमा सात अंक भएको छ । एपिएफको समान खेलबाट चार अंक भएको छ । जावालखेलले यसअघि साविक विजेता मछिन्द्र फुटबल क्लवलाई ३–१ तथा न्युरोड टिम (एनआरटी) लाई २–१ पराजित गरेको थियो । यसैगरी थ्री स्टार क्लवलाई २–० ले पराजित गरेको एपिएफले सातदोबाटो युथ क्लबसँग १–० को हार व्यहोरेको थियो ।
लिगमा आइतबार दुई खेल हुनेछन् । एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मर्स्याङ्दी फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब तथा च्यासल मैदानमा न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पकी बुहारीले फिर्ता लिइन् सिनेटको सिटमा दाबी
-
साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ
-
कांग्रेस नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ
-
पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राडा बेदराज केसी नियुक्त
-
कान्ति बाल अस्पताल विकास समितिको अध्यक्षमा सुवेदी मनोनीत
-
आईसीसी च्याम्पियन्स ट्रफी र भारत भ्रमणका लागि इङ्ल्यान्डको टोली घोषणा