जाने होइन, शिवपुरी डाँडाको धाप ड्याम हाइकिङ ?
काठमाडौँ । काठमाडौँमा गाडीको हर्न, धुवाँ, धुलोले उकुसमुकुस हुन्छ । यो उकुस मुकुसबाट निस्किन कतिपयले उपत्यका वरपरको हाइकिङ यात्रालाई विकल्प बनाउन थालेका छन् ।
काठमाडौँ उपत्यकाको धेरै ठाउँ हाइकिङ रुटका लागि चर्चित छ । तर सीमित हाइकिङमा जानुभन्दा नयाँ हाइकिङ रुटमा जानु रोमाञ्चकारी हुन्छ । जसमध्ये शिवपुरी डाँडाको धाप ड्याम एक हो।
यो पंक्तिकार धाप ड्याम हाइकिङको यात्रामा साथीभाईसँग जान कस्सियो । चिसो मौसममा न्यानो कपडा, हातमा स्टिक, मुखमा मास्क लगाएर हाइकिङको यात्रामा निस्किदा मन उत्साहले भरिएको थियो। नहोस् पनि किन, धेरै समयपछि साथीहरुसँग हाइकिङ जान लागिएको थियो।
हाइकिङमा नयाँ अनुहारका साथीहरू पनि उत्सुकताका साथ सहभागी थिए । चाबहिलमा बिहान सुन्दरीजलको बस नपाएपछि हामी ८ जना साथीहरू ट्याम्पु रिजर्भ गर्यौँ । बाँकी साथीहरू भने मोटरसाइकलको कान बटारे ।
झोलामा पानीको बोतल, बाटोमा खानका लागि पाउरोटी, जाम, पराठा लगायत प्याक गरेर सुन्दरीजलको बसपार्कबाट बिहान ८ बजे अघि बढियो ।
सहयात्री अशोक घलेले हाइकिङ गर्दा के गर्न हुने, के नहुने बाटोमा कसैलाई अप्ठ्यारो पर्दा के गर्ने यस बारेमा बेलिबिस्तार लगाए । हामी भन्दा उनीसँग हाइकिङ, ट्रेकिङको लामो अनुभव छ। उनीसँग ट्रेकिङ गाइडको लाइसेन्ससमेत छ । त्यो माथि अरू ठाउँभन्दा निकुञ्जभित्र लाइटर, स्पिकर, चुरोट निषेध गरिएको हुन्छ । त्यसैले, हामीले घले महोदयको निर्देशन सुन्दै उनलाई गुरु मान्यौँ ।
चाबहिल, जोरपाटी, गोकर्णेश्वर हुँदै सुन्दरीजलसम्म सवारीसाधनमा ३० मिनेटमा सजिलै पुग्न सकिन्छ । धाप ड्याम समुन्द्र सतहदेखि २१२२ मिटर उचाइमा अवस्थित छ।
सुन्दरीजलबाट करिब २० किलोमिटरको दूरीमा रहेको धाप ड्याम पुग्न करिब ४ घण्टाको उकालो उक्लिनु पर्छ । छोटो दूरीको हाइकिङ रुट भएकाले साथीभाइ, परिवार र आफन्तसँग पनि शिवपुरीको धाम ड्याम हाइकिङका जान सकिन्छ । धेरै उकालो नभएकाले पनि धाप ड्याम हाइकिङका लागि अत्यन्त उपयुक्त छ ।
हामीले निकुञ्ज छिर्न टिकट काट्यौ । स्वच्छ वातावरण, छङछङ बग्ने खोला, धार्मिक स्थलहरू र प्राकृतिक रमणीय दृश्य अवलोकन गर्दै उकालोमा विशुद्ध अक्सिजन भर्दै पाइला सार्दै गयौँ । बाटोमा लालीगुराँस, आरुलगायत विभिन्न जातका फुल र हिमालसँगको सौन्दर्यमा रम्न पाउँदा खुसीले मन प्रफुल्ल भयो ।
पदयात्रामा चराचुरुङ्गी, पुतली, विभिन्न प्रजातिका वनस्पतिबारे देख्न र जान्न पनि सकिन्छ । त्यसमाथि बाटामा साथीभाइहरूको तीता मीठा कुरा सुन्दै जाँदा उकालो कटेको पत्तै नहुने । थकान हुनासाथ जङ्गलको सयौँ जडीबुटीको संसर्गमा आएको हर्बलयुक्त चिसो पानीमा खुट्टामा डुबाउँदै साथीभाइ रमाउन थाल्थे ।
सुन्दरीजलको जंगल सकिएपछि ओख्रेनी गाउँ आइपुग्यो । त्यहाँ धेरै मिश्रित जातिको बसोबास रहेकोमा तामाङ समुदायको बाहुल्य छ । गाउँ होमस्टे, रेष्टुरेन्ट, होटलले भरिएको छ । बस्नलाई फिकिर छैन । त्यस ठाउँबाट पहिले चिसानी हाइकिङको रुटमा मात्र थियो, अहिले धाप ड्याम निर्माण भएपछि भने त्यता जानेहरुको लर्काे छ ।
प्रकृतिसँग लुकामारी गर्दै हामी दुई बजे धाप ड्याम पुग्यौँ । त्यहाँ पुग्दा लाग्यो कि रारा ताल नै हो यो कि क्या हो ।
त्यहाँ पुग्ने बित्तिकै साथीहरू वा ! वा ! भनेर कराउन थाले । आआफ्नो मोबाइल झिकेर फोटो र सेल्फी खिच्न थाले ।
भोकले पेटमा मुसा कुदिरहेका थिए तर धाप ड्यामको दृश्य देखेरै मन अघायो । मन लागुन्जेल फोटो सेसनको चक्रपछि बल्ल होटलबाट प्याक गरेर ल्याइएको खाजाको पोकोले ठाउँ पायो । खाजा हातमा भए पनि मन भने तालकै दृश्यमा थियो । मनले नमाने पनि फर्किनै पर्यो । हामी बेलुका ६ बजे काठमाडौँ आइपुग्यौँ ।
यात्रामा सँगै रहेका ओम बम्जनलाई शिवपुरी डाँडाको धाप ड्याम हाइकिङ रोमाञ्चक लाग्यो । काठमाडौँबाट तीन, चार दिनको हाइकिङ जानु समय हुँदैन । त्यसैले, एकै दिनमा पुगेर फर्किनका लागि यो ठाउँ एकदम महत्त्वपूर्ण लाग्यो।
कतिपय हाइकिङ रुटमा गोरेटो बाटो छैन । सडकले हाइकिङ ट्रेल बिगारी दिएको छ। सडकको धुलोले हाइकिङ आउनेलाई बाधा पुग्छ। जैविक हाइकिङका लागि निकुञ्जभित्र सडक पुग्नु हुँदैन जस्तो लाग्छ उनलाई।
पर्यटकीय गन्तव्य बन्दै
धाप ड्याम निर्माण सम्पन्न भएसँगै पर्यटकीय गन्तव्यको रूपमा चिनिन थालेको छ । अहिले आन्तरिक पर्यटक मात्र होइन, धाप ड्याममा बाह्य पर्यटकको पनि ओइरो छ ।
धाप ड्यामबाट गणेश, लाङटाङलगायत दर्जनौँ हिमशृङ्खला देख्न पाइन्छ। काठमाडौँको छोटो दूरीमा रहेको अग्लो डाँडामा सबैभन्दा ठुलो मानवनिर्मित ताल भएकाले पनि अहिले पर्यटकहरुले बढी रुचाएका छन्। यो ठाउँबाट चिसो मौसममा पारिलो घाम ताप्दै हिमालको उज्यालोमा उपत्यकालाई नियाल्न पाइन्छ।
धाप ड्याम किन ?
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ धापमा सङ्कलन गरिएको पानी बागमती नदीमा बगाउने उद्देश्यले यो ठाउँमा ताल बनाइएको हो।
बागमती नदीमा हिउँद याममा पनि स्वच्छ पानी बगाउने उद्देश्यले धापमा २४ मिटर अग्लो बाँध बाँधेर वर्षाको पानी सङ्कलन गरिएको छ । धाप बाँधमा वार्षिक ८ लाख ५० हजार घन मिटर पानी सङ्कलन गर्ने क्षमता छ ।
सोह्र श्राद्ध, छठ, बाला चतुर्दशी, स्वस्थानी, माघे सङ्क्रान्ति, शिवरात्रि जस्ता मुख्य–मुख्य चाडपर्वमा सफा पानी बगाउनका लागि यसको निर्माण गरिएको हो। केही समय अघि उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनले तालको उद्घाटन गरेका थिए।
यो बाँध निर्माण गर्न सन् २०१५ मै सम्झौता गरिएको थियो। कृत्रिम ताल निर्माणका लागि भ्याटबाहेक ४५ करोड रुपैयाँ लगानी रहेको छ।
निर्माण आयोजनाका अनुसार बाँध बनाउन एसियाली विकास बैंकको ८४ प्रतिशत ऋण हो भने बाँकी नेपाल सरकारको बजेट हो । १२ हेक्टर जमिनमा सो ताल निर्माण भएको छ।
गोकर्णेश्वर नगरपालिकाका उपमेयर साननानी लामाका अनुसार धाप ड्याममा जाने आन्तरिक पर्यटकहरूका लागि निःशुल्क प्रवेशका लागि नगरपालिकाले नीति नियम बनाउँदै छ । यसका लागि निकुञ्जसँग बैठक बस्दैछ ।
सुन्दरीजलमा झरना हेर्न जानेबेला थुप्रै घटना भएका छन्, त्यसलाई मध्यनजर गरेर नगरपालिकाले धाप ड्यामको वरपर तारजाली हाल्ने भएको छ । उपमेयर लामा भन्छिन्, ‘यस क्षेत्रमा बढी भन्दा बढी पर्यटक भित्र्याउने नगरपालिकाको योजना छ । यसका लागि विभिन्न प्याकेज ल्याउने छौ।’ उनका अनुसार हाइकिङका लागि ट्रेलहरू पनि निर्माण गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीआरआईबारे कांग्रेसकै कित्तामा प्रधानमन्त्री ओली
-
किरिया खर्चको रकममा पनि घुस, नायव सुब्बा अख्तियारको नियन्त्रणमा
-
नगराइनकाे नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण