मनका भावनाहरू
खै के खोजेकी हुन्छु मैले तिमीसँग
आफैले थाहा पाउन सकेकी छैन ।
कहिले तिमीसँग असाध्यै जिस्किन मनपर्छ
कहिले तिमीलाई घुक्र्याउन मन लाग्छ
कहिले त्यत्तिकै तिमीसँग फुर्किन मन पर्छ
कहिले तिमीसँग बेस्सरी रिसाउन मन लाग्छ
कहिले तिमीलाई पुल्पुल्याउन मन लाग्छ
कहिले तिमीलाई चिड्याउन मन लाग्छ
आखिर यो सब किन र कसरी हुन्छ
थाहा पाउन भने सक्दिन ।
कहिले केही कुरै नपरी
तिमीसँग रिसाएर बसिदिन्छु
कहिले तिमीलाई माया गरेर
फकाएर बसिदिन्छु
कहिले तिमीले बोलाउन खोज्दा पनि
नबोलेर बसिदिन्छु
कहिले किन नबोलेको किन भनेर
तिमीलाई नै गाली गर्छु
तर, खै यो मनले तिमीबाट
के खोजेको हुन्छ थाहा भने पाउँदिन
केही भौतिक आवश्यकताहरू
नहुँदा पनि केही मागी रहुँ जस्तो
केही बोल्ने कुरा नुहुँदा पनि बोलिरहुँ जस्तो
तिम्रै वरपर रहेर तिमीलाई मात्र हेरिरहुँ जस्तो
तिमीले नपर्ख है भन्दा पनि पर्खिरहुँ जस्तो
तिमीले चाहदा नचाहदै
तिमीमै समर्पित हुन पाए हुन्थ्यो जस्तो
हुन त यी सब मनका भावनाहरू न हुन्
जसले के खोजेका छन् भनेर
म कसरी थाहा पाउन सक्छु र ?
आखिर यिनै भावनाहरूको करामत त होला
यी सबै मागहरू तिमीमा पस्किने आँट गर्ने ।
आफूलाई समय हुने बित्तिकै
तिमीले पनि समय दिए हुन्थ्यो जस्तो लाग्ने
आफू खुशी भएको बेला तिमी पनि
खुशी भएर लाडिए हुन्थ्यो जस्तो लाग्ने
आफूलाई रिस उठेको बेला
फकाइदिए हुन्थ्यो जस्तो लाग्ने
अनि, आफू निराश भएको बेला
जीवनमा केही रस थपिदिए
हुन्थ्यो जस्तो लाग्ने
आखिर के खोजिरहेको छ त
तिमीबाट मेरो अन्तर्मनले ?
आफ्ना हरेक कुराहरू सबैभन्दा पहिले
तिमीमा पुर्याउन पाए हुन्थ्यो जस्तो लाग्ने
क्यामेरामा कैद भएका हरेक तस्विरहरू
पहिले तिमीलाई नै देखाऊँ जस्तो लाग्ने
तिम्रो मानसपटलमा हरेक समयमा
मेरै प्रतिबिम्ब घुमिरहोस् जस्तो लाग्ने
अनि, तिम्रो मुखारबाट मेरा लागि
प्रशंसाका शब्दहरू निस्किरहुन् जस्तो लाग्ने
न मलाई तिम्रो सदाबहार
साथ पाइन्छ भन्ने आशा छ
न मलाई तिम्रो कुनै पारिश्रमिक
योगदान चाहिएको हुन्छ
तर पनि तिमीसँग केही त मागिरहेका छन्
मेरा अन्तर्मनका प्रेमका भावनाहरूले
ए प्रिय, यी सबै मागहरू भनौं
या चाहनाहरू कुनै पनि कोणबाट मेरा होइनन्
हुन् त सिर्फ मेरो अन्तर्मनको कुनै कुनामा
लामो समय बास बसेर निस्किएका भावनाहरू ।
टोखा, काठमाडौँ