बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

माओवादीविरुद्धको मुद्दा शान्ति सम्झौता विपरीत : उपाध्यक्ष सापकोटा

शनिबार, २७ फागुन २०७९, ११ : ३२
शनिबार, २७ फागुन २०७९

जनकपुर । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडी बढाउनुपर्ने बताएका छन् ।  शनिवार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले नेपाल सरकार र तत्कालीन माओवादी पार्टीका बीचमा २०६३ साल मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताका अनुसार सङ्क्रमणकालीन न्यायको विषय अगाडी बढ्नुपर्ने बताएका हुन् ।

उनले भने – ‘यो मुद्दाको कुरा २०६३ साल मङ्सिर ५ गते नेपाल सरकार र माओवादीका बीचमा भएको विस्तृत शान्ति सम्झौताको विपरीत छ । त्यहाँ स्पष्ट भनिएको छ, यी विषयहरू सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्ने भनिएको छ । गठन भएको छ । त्यसले काम पनि सुरुवात गरिरहेको छ । फेरि यो कुरा पनि त्यत्तिकै स्पष्ट छ कि २०६३ सालको अन्तरिम संविधानले जे व्यवस्था गरेको थियो अहिलेको संविधानको धारा ३०४ को उपधारा २ मा के भनिएको छ भने अन्तरिम संविधानमा व्यवस्था भएका कुराहरू यही संविधान अनुसार भए बमोजिम हुनेछ भन्ने त्यति स्पष्ट छ कि फेरि त्यसदेखि बाहेक अन्य तरिकाले शान्ति प्रक्रियाको मर्म, भावना, सङ्क्रमणकालीन न्यायको पद्धति, प्रक्रिया विपरीत जाँदा खेरी यसले शान्ति प्रक्रियालाई असर पुर्‍याउँछ । शान्ति प्रक्रियालाई कार्यान्वयन गर्न र निष्कर्षमा पुर्‍याउन सहयोग पुग्दैन ।’

‘परिवर्तनमा नेपाल आमाका छोराछोरीहरूले ठुलो कुर्बानी गरेका छन् । यो परिवर्तनलाई असर पर्ने खालका गतिविधिहरू हुनुहुँदैन । विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार नै अगाडी बढ्नुपर्छ । त्यस अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत नै यस्ता सङ्क्रमणकालीन न्याय सम्बन्धी विषयहरू समाधान गरिनुपर्छ । यो कुरा गठबन्धनका ८ दलले पनि निर्णय गरिसकेका छन् । त्यस्तै संसद् बाहिर भएका घटकहरूले पनि गरिरहेका छन्,’ उनले थपे ।

उनले देशमा प्राप्त भएका राजनीतिक उपलब्धिहरूलाई उल्ट्याउने कोसिस भएमा नेपाली जनताले त्यसको प्रतिरोध गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप