इजिप्ट भ्रमणको अनुभूति र सिकाई
प्रत्येक व्यक्तिले विद्यालय तहदेखि विश्वविद्यालय तह सम्मका पाठ्यपुस्तक र सन्दर्भ सामग्रीहरु अध्ययन गर्दा धेरै कितावी ज्ञान प्राप्त गरेको हुन्छ । ती कितावीे ज्ञानले मानिसलाई थप उत्सुक र जिज्ञासु बनाएको हुन्छ । कितावी ज्ञान र अनुभवले मानिसलाई उत्सुक र जिज्ञासु नबनाउँदो हो त संसारमा नयाँ नयाँ खोज र आविष्कारहरु हुने थिएनन् । नयाँ दर्शन र विचारहरु पनि जन्मने थिएनन् ।
कितावी ज्ञानलाई परीक्षण गर्ने महत्वपूर्ण औजार हो, अध्ययन अवलोकन भ्रमण । मैले विद्यालय तहको अध्ययन पूरा गर्दै गर्दा मेरो मनमा कितावी ज्ञानले धेरै उत्सुकता जगाएको थियो । तिनै उत्सुकता र जिज्ञासा मेटाउने क्रममा एसिया महादेशका केही देशहरुको भ्रमण गरेको छु ।
अध्ययन अवलोकनका क्रममा प्राप्त अनुभूति र सिकाईहरु मेरो मानसपटलमा अझै ताजै छन् । कतिलाई लिपिवद्ध समेत गरेको छु । कोभिड महामारीका कारण झण्डै दुई वर्ष विदेश यात्रामा विराम लाग्यो ।
अनुभव र निरन्तर सिकाइबिना मानिस अपूर्ण रहन्छ भन्ने सार्वभौम मान्यता रहँदै आएको छ । यही मान्यतालाई आत्मसात गर्दै गत फागुनको पहिलो हप्ता अफ्रिकी महादेशको इजिप्टको भ्रमण गर्ने अवसर मिल्यो । भ्रमणको अनुभूति र सिकाईलाई पाठकहरु समक्ष पस्कने विगतको परम्परालाई यसपटक पनि पुनरावृत्त गरेको छु ।
अनुभूति
महान् वैज्ञानिक आइस्टाइन अनुभववादी दार्शनिक डेभिड ह्युमको दर्शनबाट प्रभावित थिए । डेभिड ह्युम व्यवहारवादी दार्शनिक जोन लक र वर्कलेबाट प्रभावित थिए । ह्युम ठान्दथे, “अनुभूति विनाको ज्ञान काम लाग्दैन” ।
संसारका प्रत्येक देशको आ–आफनो छुट्टै मौलिक इतिहास छ । कुनैपनि देशको इतिहास, परम्परा, रितिरिवाज, कला संस्कृति एक अर्काेसंग आधारभूत रुपमा मेल खाएको देखिदैन ।
देशलाई चिनाउने माध्यम भनेका प्राकृतिक सौन्दर्यता, ऐतिहासिकता र पुरातात्विक बस्तु हुन् । प्राचीन ७ आश्चर्यहरुमध्ये एक आश्चर्यको रुपमा परिचित र विश्व चर्चित गिजा पिरामिड इजिप्टको मात्रै पहिचान नभई संसारकै आश्चर्यको विषय हो भन्ने कुरा सुन्दै र अध्ययन गर्दै आएको थिएँ, भ्रमणले स्वयम् आफ्नै आँखाले अवलोकन गर्न पाउँदा छुट्टै प्रकारको अनुभूति भयो ।
आज भन्दा झण्डै ४५ सय वर्ष पहिले लाखौं मानिसले एक दशक भन्दा बढी समय लगाएर निर्माण गरिएको भनिएकोे १९३ मिटर अग्लो भीमकाय पिरामिड त्यो समयका मानिसहरुमा रहेको धैर्यता, लगनशीलता र सामूहिकताको प्रतिविम्वन थियो ।
चौथो शताव्दीका राजा फराह खुपुले निर्माण गरेका ३ पिरामिडहरु बाबु, छोरा र नाति ३ पुस्ताको स्मृतिलाई झल्काउँथ्यो । फरक फरक स्थानमा निर्माण गरिएका यी ३ पिरामिडहरुबाहेक ६ वटा होचा पिरामिड पनि निर्माण गरिएका रहेछन् । ती होचा र साना पिरामिडहरु रानीहरुको स्मृतिमा निर्माण गरिएको भन्ने जानकारी पाइयो ।
स्नातक तह अध्ययन गर्दा अनिवार्य अंग्रेजी विषयमा एकजना पश्चिमा साहित्यकारले नाइल नदी र गौंथलीको विषयमा बडो रोचक ढंगले निवन्ध लेखेका थिए । त्यो निबन्धको अध्ययनले संसारको लामो नाइल नदीको अवलोकन गर्र्ने हुटहुटी जगाएको थियो । यो हुटहुटी मेटाउने अवसर बन्यो इजिप्ट भ्रमण ।
नाइल नदी अफ्रिकी महादेशको युगाण्डाको भिक्टोरिया तालबाट सुरु भई कङ्गो, तान्जानिया, बुरुण्डी, इजिप्टलगायत ११ वटा देशहरु पार गरी भूमध्य सागरमा मिल्दो रहेछ । नाइल नदीको ११ औं गन्तव्य देश इजिप्ट रहेछ ।
भूगोलको दृष्टिले नेपाल भन्दा झण्डै १० गुणा (१०,००१४५० किमि) ठूलो देश इजिप्टको १० प्रतिशत जमिन मात्र उब्जाउ भूमि रहेछ भने बाँकी ९० प्रतिशत मरुभूमि रहेछ । यसरी नाइल नदीको आसपासको १० प्रतिशत जमिन मात्र उब्जाउ भएकाले नाइल नदीलाई इजिप्टीयन जनताको जीवनरेखा भनिएको रहेछ ।
सायद नाइल नदी नहुँदो हो त इजिप्ट भन्ने देश र मानव बस्तीको कल्पना हुँदैनथ्यो जस्तो लाग्यो । नाइल नदीमा तैरेका तीन तले जहाज र रात्रिकालीन समयमा जहाज भित्र देखाइएको इजिप्टियन संस्कृति झल्कने शास्त्रीय र आधुनिक नृत्य पनि उत्तिकै हेर्न लायक र रोचक थियो ।
इजिप्टमा हेर्न लायक अर्को ठाउँ रहेछ अलेक्जेण्डिेरिया सहर र भूमध्य सागर । भूमध्य सागरको किनारामा अवस्थित अलेक्जेण्डिेरिया सहर झण्डै २३ सय वर्ष पुरानो रहेछ । जवकि इजिप्टको राजधानी कायरो एक हजार वर्ष पुरानो । अलेक्जेण्डेर राजाको नामबाट यो सहरको नामकरण गरिएको रहेछ ।
दोस्रो विश्वयुद्ध (सन् १९३९–१९४५) मा इजिप्टका ४५ हजार सेनाले वीरगति प्राप्त गरेका रहेछन् । ती वीर अमर सैनिकहरुको सम्झनामा अलेक्जेण्डिेरिया सहरमा युद्ध संग्राहलय सहितको अमर सैनिक स्मृति भवनसमेत निर्माण गरिएको रहेछ ।
माध्यमिक तहमा भूगोल अध्ययन गर्दा भूगोल शिक्षकले विश्व मानचित्र झल्कने ग्लोव देखाउँदै भूमध्य सागरका बारेमा अध्यापन गरेको विषय मानसपटलमा ताजै थियो । त्यो सागरको किनारामा बसेर फोटो खिच्दा छुट्टै आनन्द आयो । यो सागरले दक्षिण युरोप, एशिया र उत्तर अफ्रिकालाई जोड्दो रहेछ । हाम्रो भ्रमण दललाई पथ प्रदर्शक गर्ने मिटुले भूमध्य सागरमा तैरेका जहाज देखाउँदै भन्दै थिए, पानी जहाजको यात्राबाट सबैभन्दा नजिक युरोपको माल्टा पर्दछ, त्यसपछि इटाली, पोर्चुगल आदि देश पर्दछन् ।
इजिप्ट भ्रमणको अन्तिम दिन स्वेज नहरको अध्ययन अवलोकन गरियो । इजिप्टको पिरमिडपछि मानव श्रमको उच्चतम् सामूहिक प्रयत्नकोे परियोजना रहेछ स्वेज नहर । यो नहर सन् १८५९ मा निर्माण सुरु भै सन् १८६९ मा सम्पन्न भएको रहेछ । नहर निर्माण गर्न १० वर्ष लागेको रहेछ । १० लाख मानिसले उक्त नहर निर्माणमा प्रत्यक्ष योगदान गरेका रहेछन् ।
नहर निर्माण गर्दा १ लाख ५० हजार श्रमिकहरुको ज्यान गएको रहेछ । भूमध्य सागर र लाल सागरलाई जोड्ने १९३.३० किमि लम्वाई भएको स्वेज नहरलाई युरोप र एसिया जोड्ने महत्वपूर्ण जलमार्गको रुपमा लिइन्छ । यो नहर अमेरिकाको पानामा नहरपछिको संसारको दोस्रो ठूलो नहरको रुपमा चिनिन्छ ।
इजिप्ट सरकारको राष्ट्रिय आयको मूख्य आयस्रोतको रुपमा रहेको स्वेज नहरबाट सन् २०२२ मा मात्र ७ अरब अमेरिकी डलर कर उठेको रहेछ । संसारका बन्दरगाहहरुबाट उठ्ने कूल करको ८ प्रतिशत हिस्सा स्वेज नहरको रहेको तथ्याङ्क भेटिन्छ ।
वार्षिक औषत २० हजार पानी जहाज यो नहरबाट आउने जाने गरेको पाइयो । स्वेज नहरको किनारामा बसेर नहरमाथि तैरेका गन्तव्य स्थलतर्फ ओहोर दोहोर गर्दै गरेका पानीजहाज हेर्दा छुट्टै आनन्दको अनुभूति भयो ।
सिकाई
सिकाई मानव जीवनको स्वाभाविक र गतिशील प्रक्रिया हो, जो जीवनभर चल्दछ । हरेक नयाँ सिकाईबाट ज्ञानको संगठन या पुनर्गठन भैरहेको हुन्छ । यो प्रक्रियाबाट मानिसले नयाँ ज्ञान प्राप्त गर्दछ । सिकाईमा स्मृति र विस्मृतिको ठूलो भूमिका हुन्छ । पुराना कुराहरु विस्मरण हुँदै जान्छन् र नयाँ कुराहरु स्मरण हुँदै जान्छन् ।
मानिसले जब नयाँ कुरा देख्दछ, अनुभव गर्दछ, तब नयाँ ज्ञान र सीप आर्जन गर्दछ । व्यवहारवादी दार्शनिक डेभिड ह्युमले भने जस्तो अनुभूति विनाको ज्ञान काम लाग्दैन । अनुभूति ज्ञानिन्द्रयको माध्यमबाट प्राप्त हुन्छ ।
कुनै पनि नयाँ बस्तु, स्थान या घटनाको प्रत्यक्षीकरणबाट अनुभूति प्राप्त हुन्छ । अध्ययन अवलोकनले अध्ययन गरेको बस्तु या घटनाप्रति थप स्पष्टता, बस्तुनिष्ठता र विश्वसनीयता बढाई सिकाईलाई प्रभावकारी बनाउन सहयोग पुर्याउँछ ।
इजिप्ट भ्रमणले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म अध्ययन गरेका पाठ्यपुस्तकहरुले समेटेका विषयबस्तुलाई प्रत्यक्षीकरणको माध्यमबाट परीक्षण गरी नयाँ चेतना निर्माणमा सहयोग पुगेको सिकाई अनुभूति भएको छ ।
पिरामिड र स्वेज नहरको अध्ययन अवलोकनबाट सामूहिक र निरन्तर प्रयासबाट असम्भव लाग्ने अफ्ठेरो या असहज कुरा पनि धैर्यता र लगनशीलताले सम्भव हुँदो रहेछ भन्ने सिकाई भयो ।
नाइल नदीको अध्ययन अवलोकनबाट प्रकृति, मानव र विकास बीचको अन्तरसम्बन्धलाई अझै गहिरिएर बुझ्न र तत्सम्बन्धमा थप अध्ययन गर्न प्रेरणा मिलेको छ ।
भूमध्य सागरको किनारामा बसेर जलसागरको अन्तहीन सीमा र सागरमाथि तैरिएका ब्रगेल्ती भीमकाय पानी जहाज देख्दा देश विकासका लागि सामुन्द्रिक तटको कति महत्व हुँदो रहेछ ? भन्ने कुरा आत्मानुभूति भयो । अनि भूपरिवेष्ठित देशको नागरिकको हैसियतबाट भूमध्य सागरको किनारमा उभिंदा पीडावोध समेत भयोे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन भ्रमण स्वीकृत गर्न मन्त्रिपरिषद बैठक बस्दै
-
पाकिस्तानमा शिया–सुन्नीबिचको लडाईमा दर्जनौँको मृत्यु
-
किन हडतालमा उत्रिए वायुसेवा निगमका पाइलटहरू ?
-
पूर्व प्रधानमन्त्रीहरूसँग ओली : यसपटक चीनसँग ऋण सम्झौता गर्दिनँ
-
बालेन र हर्कलाई मुकुलको आह्वान : वैकल्पिक राजनीतिक धार निर्माणका लागि एकजुट हौँ
-
काठमाडौँ–१६ को उपनिर्वाचनमा १० स्वतन्त्रसहित १८ जना मैदानमा, कसको चुनाव चिह्न के ? (सूचीसहित)