ठगका ताँती
काँधमा कपडाको रातो झोला भिरेर एकाबिहानै जन्मकुण्डली हेर्ने पण्डा मेरो टोलमा आयो । उसको पहिरन र लवज हेर्दा नेपालको दक्षिणी सरहद बाहिरको नागरिक प्रतीत हुन्थ्यो ।
त्यो अजनबी हेर्दाहेर्दै छिमेकी घरमा घुस्यो । आफू भूत, भविष्य र वर्तमान बताउन सक्ने फलित ज्योतिषको पण्डा भएको कुरा जानकारी गरायो ।
घरबेटीमा कुनै न कुनै किसिमको पीडा र सन्ताप छँदै थियो । पण्डा मान्छेको मनोभाव अनुहारमा पढ्न औधी सिपालु थियो । तुरुन्त चिनासूतिका माग्यो । गहिरोसित जन्मकुण्डली नियाल्यो ।
अनि व्याख्या हाल्न थाल्यो, “तिमी त गलत मुहूर्तमा जन्मिएका रहेछौ । जन्मसितै अनेक किसिमका ग्रहदोष टाँसिएर आएका छन् । केही ग्रह, नक्षत्र खराब स्थानमा बसेका छन् । तिम्रो जीवनमा सुख शान्तिका दिन छैनन् । अब त झन् ठुला संकट आउनेछन् । दुःख कष्ट विपत्तिकै योग छ, के गर्ने ?’
पण्डाको कुराले जजमान आत्तियो । तुरुन्तै याचना ग¥यो– “कसो गरौँ त पण्डितजी ! यो दशा पर सार्ने के उपाय होला ? म त तपाईंकै शरणमा छु ।”
पण्डितको ओठमा कुटिल मुस्कान नाच्यो । चश्मा भित्रका आँखाका नानी आँखीभौँतिर तन्काउँदै पाशा हान्यो–“होइन होइन, आत्तिनु पर्दैन । यो संकटलाई पार लाउने उपाय छ मसित । जाप गर्नुपर्छ । स्वस्ति शान्ति गर्नुपर्छ । ग्रहहरुको जाप गरेपछि संकट टरिहाल्छ । रुद्रीपाठ गर्नुपर्छ । त्यसले पनि खराब ग्रहलाई शान्त बनाइहाल्छ ।”
जजमान जस्तो सुकै दानपुण्य गर्न पनि तत्पर हुन्छ । पण्डा ठग्नुसम्म ठगेर बाटो लाग्छ ।
घाम एक टँगालो नजाँदै त्यही टोलको अर्को घरमा पहेंलो धोतीकुर्तामा सजिएर अर्को हात हेर्ने बाबा आइपुग्छ । जजमानका हात तानेर फटाफट भाग्य बताउन थाल्छ । भाग्यरेखा मधुरो भएकोले जीवनमा सफलताको सिँढी नठडिएको किस्सा कथेर सुनाउँछ । तिम्रो किस्मतै कमजोर छ भनी अनेकन् शङ्का उपशङ्का लाइदिन्छ । मिनेट मिनेटमा ग्राहकको रुग्ण मनोदशा तौलिँदै जान्छ । उसलाई थप विचलित बनाउँदै लान्छ ।
घरी हत्केलाको रेखो यो ठाउँसम्म पुग्नु पर्नेथ्यो, त्यहाँ नपुगेर बीचमै टुटेको छ भन्छ । घरी सग्लो जीवनरेखा यो यो ठाउँ फुटेको छ भन्छ । घरी तर्जनीमा रेखा छैन भन्छ । घरी शुक्रपर्वत होचो छ भन्छ । घरी रानीपर्वत अग्लो भो भन्छ । मानिसका कमजोर मनमा अनेकन् आशङ्का र औडाह खन्याई दिन्छ ।
ग्राहक हतप्रभ बन्दै सोध्छ–“कमजोर किस्मतलाई बलियो बनाउने उपाय के होला पण्डितजी ?”
ऊ फलाको हाल्न सुरु गर्छ–“त्यसमा तपाईंले कुनै फिक्कर लिनुपर्दैन, मसित यसका अनेकन् उपायहरु छन्, विधिहरु छन् ।”
झोलाबाट औँठीको पोको निकाल्छ । यो तीनवटा औँठी साइली औँलो, कान्छी औँलो, चोर औँलोमा लायो भने छ महिनामा तपाईंको भाग्य ठिक हुन्छ । आउँदै गरेका अनिष्टहरू दूर हुन्छन् । जीवनका कष्ट र विपत्तिहरु हरण भएर जान्छन् ।
कौडी दामका पित्ले औँठी अति महँगो मूल्यमा बेच्न कति ठूलो तरकीव रच्छ । सोझो चित्तको गाउँले मनुवालाई औँलैपिच्छे पित्ले औँठी घुसार्न लाएर जजमानको जरोकिलो बनाई पण्डा त्यहाँबाट बिदा हुन्छ ।
अर्को दिन कुनै खैराँती तालको वास्तुविद् गाउँमा टुप्लुकिन्छ । घर बनाइरहेको ठाउँमा गएर अनेकन् शङ्का उपशङ्का लाइदिन्छ । यो घरको यो कोण मिलेन, ऊ कोण मिलेन । बाथरुमको दिशा मिलेन, बेडरुमको दर्पण मिलेन । आगोको स्थान मिलेन । पानीको प्रवाह मिलेन । के के मिलेन, के के मिलेन ।
यसरी नमिलेका अनेकन् कडीहरू बताउँछ । यो नमिल्दा यो दोष लाग्छ । यो नमिल्दा यो दोष लाग्छ । घरवालालाई उसका कुरा सुन्दा लाग्छ, मैले घर बनाइरहेको छैन । दोषै दोषको भकारी उभ्याइरहेको छु ।
घर बनाउन सुरु गर्दाको दर्बिलो मानसिकतालाई विषाद विचलनको जहरकुण्डमा खसाली दिन्छ । अनि जजमान पनि आत्तिँदै सोच्छ– “नबनाउनु, बनाइ त हालियो । वास्तु दोषबाट बँच्ने उपाय के होला त पण्डित जी ?”
ऊ जुँगामा ताउ दिँदै मुसुक्क हाँसेर जवाफ दिन्छ–“खैर ! केही छैन । जहाँ समस्या त्यहाँ उपाय । घर बनाउँदा केही न केही वास्तुदोष हुन्छन् नै, तर त्यसलाई हटाउने मेटाउने उपायहरु पनि छन् । जतिसुकै कठिन वास्तुदोषलाई पनि हटाउन सकिन्छ । यसका समस्या समाधान गर्न सकिन्छ तपाई आत्तिनु पर्दैन ।
हेर्नुस्, तपार्इंको घरको उत्तरपूर्वी कुनालाई पूजाको थान बनाउनुपर्छ । घरको सारा वास्तुदोष हटाउन एक वास्तुयन्त्र राख्नुपर्छ । अष्टधातुले बनेको वास्तुयन्त्र घरको सुरक्षा कवच हो । यसले घरको सारा नकारात्मक ऊर्जा सोस्तछ । तपाईंको घरको वास्तुदोष म तुरुन्ताका तुरुन्त हटाइ दिन सक्छु । ”
जजमानको मन क्षणभरमै प्रसन्न हुन्छ । वास्तुदोष हटाउनको लागि जतिसुकै खर्च गर्न तयार हुन्छ । उसको मनोभाव पढेर वास्तुविद्ले राम्रै रकम कलम कुम्ल्याएर त्यहाँबाट बिदा लिन्छ ।
अर्को दिन हातमा चिम्टा र कमण्डलु बोकेर पितवस्त्रधारी कुनै कथित बाबा पाइलो टेक्छ गाउँमा । दैला सामु एकाविहानै झुल्किएको सन्यासीलाई देखेर गृहस्थीको मनमा ओठबाट अनेकौँ औडाह छुट्न थाल्छन् ।
“गृहस्थ जीवन सारै समस्यापूर्ण भयो गुरुदेव ! यो जीवनमा न शान्ति छ, न आनन्द छ । न प्रसन्नता छ, न सन्तुष्टि छ । हरबखत अभावको आगोले पोलिरहन्छ छाती । हरदिन समस्याको पहाडले किचिरहन्छ । आज जेनतेन श्रम गरेर खायो, भोलि के खाऊँको समस्याले छोडेको छैन । दुःखै दुःखको अनकण्टर झाडीमा अल्झेर बितिरहेको छ जीवन । साँचो सुख र साँचो शान्ति कसरी कहाँ मिल्ला गुरुदेव !”
ओठमा मन्द मुस्कान नचाउँदै बाबा बोल्छ– “तिम्रो दुःखको जड कारण तिम्रो घर हो, परिवार हो । पत्नी र बालबच्चाहरु दुःखका असली कारण हुन् । घर परिवार नै सुखशान्तिका बाधा हुन् । पत्नी र परिवारै अशान्तिका द्योतक हुन् । जबसम्म यिनबाट तिम्रो लगाव छुट्तैन । तबसम्म तिमी सुखी हुन सक्दैनौ बालक ।
जबसम्म घरद्वारको लिप्सा त्याग्न सक्दैनौ, तबसम्म तिमीलाई शान्ति र अमन चैन मिल्दैन । गृहस्थ जीवन पापपूर्ण छ, क्लेशपूर्ण छ । क्लेशपूर्ण गृहस्थ जीवन त्याग गरेमा मात्र तिमी सुखको मूल भेट्टाउन सक्छौ । छिटो भन्दा छिटो तिमी घर गृहस्थीको दलदलबाट उठेर सन्यास मार्गमा लाग्नुपर्छ । यो भन्दा अर्को कुनै उपाय छैन ।”
उसले पारिवारिक जञ्जालबाट जंगल तिरको यात्रा सुझाएपछि गृहस्थ थप हतप्रभ बन्यो । उसको मनलाई थप आतंकित बनाउँदै बाबाजी बोल्छ –“तिमीले अहिले जुन दुःख भोगिरहेको छौ, त्यो यो जुनीको कर्मफल होइन । अघिल्लो जुनीको कर्मफल भोगिरहेका छौ । यो प्रारब्धलाई भोग्नैपर्छ ।
अर्को जुनीमा सुख पाउन के गर्नुपर्छ ? त्यसको उपाय मसित छ ।” गृहस्थीको मनमा लालचको वीउ छरेर मुनि मौन रह्यो ।
प्रारब्धलाई कसरी काट्ने होला गुरुदेव ? लौ न उपाय देखाइ दिनुहोस् ?
उपायका अनेक चाङ थुपार्छ । थैलाबाट पाँच सयको पुखराज झिक्छ । यो धारण गरेमा प्रारब्धका सबै दूषित कर्म नाश हुन्छन् भन्छ । जौहरीको दोकानमा ठिकै दाम पर्ने मालाले हजारौँ हजार असुल गर्छ ।
एक हजारको रत्नजडित लकेट दस हजारमा बेच्छ । गलामा पहिरेपछि जीवनका सब समस्या छु मन्तर हुने कुरा गर्छ । ब्रतका किसिम बताउँछ । तुलसी, पिपल र समीका झ्याङमा पानी चढाउने विधि सिकाउँछ । मन्त्रजापका अनेकन् उल्झनहरुमा सरल हृदयका गृहस्थीहरुलाई फँसाइदिन्छ । र, उनीहरुका घरका चामल पैसा सिरिखुरी पारेर ऊ डाँडो काट्छ ।
कुनै दिन ढाकीमा सर्प बोकेर ठग सपेराको हुल गाउँमा पस्छन् । विषालु दाँत निकालेर थोते पारिएका सर्प नचाएर, कहिले भालुनाच देखाएर बुटी बेच्ने जमातले बस्ती दोहन गरी हिँडिदिन्छन् ।
कहिले जादु देखाउने जादुगर, कहिले टुनामुना गर्ने धामीझाँक्रीको हुलले, माता उत्रेका नरदेवीहरुले मानिसका गोजी रित्तो पारेका, कन्तुर खँलास पारेका अनेकन् गुप्ती कथाहरु छन् यहाँ ।
जुन जुन भावभङ्गिमा र भेष धारण गरेर बस्तीभित्र छिरेपनि सबैको एकसूत्रीय योजना सोझासिधा जनका घरमा रहेको चामल, पैसा झार्नु नै हो । नानाथरि रुपका लिल्ला रचेर मानिसका सरल चित्तमा शङ्का उपशङ्का झञ्जावात् उठाइदिएर उनीहरुलाई लुट्नु नै हो । उनीहरूको आत्मविश्वास कमजोर पारेर उनीहरूको अज्ञानताको अनुचित लाभ उठाउनु ठगहरूको सनातनी स्वभाव हो ।
विभिन्न आवरण धारण गरेर साँझ बिहान बस्ती छिर्ने पेशेवर ठगका ताँतीबाट यहाँको परिवेश दंशित छ । यिनका हुकुम हर्कतबाट लाटा सोझाजन पीडित छन् । यसका अलावा राजनीतिको नाममा, समाजसेवाको ठगी धन्धा चलाउने गिरोहको पनि कुनै दुःख छैन यहाँ । जतिसुकै जनसेवा र राष्ट्रसेवाको राग अलापे पनि प्रकारान्तरले राजनीतिको नाममा सोझा सिधाजनलाई ठग्ने कामै भैरहेको छ ।
हातमा झण्डी हल्लाउँदै एउटा नेतो गाउँ छिर्छ । जनता अथाह दुःखको दलदलमा भास्सिएको देख्छ । अनि दुःख मुक्तिको मीठो गीत गाउँछ । आफूले भोट पाएर जितेमा समाजवाद ल्याउने सपना देखाउँछ । उसले तमाम दुःखको कारकतत्व वर्गीय शोषण र अत्याचारमा टिकेको सामन्ती या पूँजीवादी समाज व्यवस्थालाई देख्छ । त्यो वर्गीय सत्ता नखोसी दुःखी मनुवाको अनन्त दुःख अन्त्य नहुने कुरा गर्छ ।
उसका कुरामा विश्वास गरेर उसलाई सत्ताको कुर्सीमा विराजमान गरिदिन्छिन् जनताले । उसले सत्ता पाएपछि उसका निजी दुःखका दिन सकिन्छन् । उसका गाला चिल्ला र पोटिला बन्छन् । सर्वसाधारण जनताको आङ भने फुस्राको फुस्रै हुन्छ ।
हिजो उसले गरेका बोलकबोल र वाचाबन्धनहरु सत्तासुखमा डुबेपछि भुलिसकेको हुन्छ । जसलाई उसले हिजो वर्ग शत्रुको कित्तामा राखेको थियो । तिनकै हित र स्वार्थलाई तलमाथि नगरी काम गर्न थाल्छ । जनहितको कुरा, समाजवाद र साम्यवाद ल्याउने कुरा खाली भाषण र सिद्धान्तको कोरा विषयवस्तु हुन जान्छ । यो व्यवहारमा उतार्ने र कार्यान्वयनमा लैजाने विषय हुँदैन । त्यो साम्यवादी नेतो पनि नक्कली रत्नजडित औँठी बेच्ने पण्डा भन्दा तात्त्विक रूपमा कुनै फरक देखिँदैन ।
अर्को नेता पनि उसै गरी झण्डी हल्लाउँदै गाउँ पस्छ । लोकतन्त्रको कुरा गर्छ । प्रजातान्त्रिक समाजवादको गीत गाउँछ । आफूले भोट पाएमा बोल्न पाउने लोकतन्त्र र खान पाउने लोकतन्त्रलाई एउटा सिक्काका दुईपाटा बनाएर समाजमा अमन, चैन फिँजाउने सपना बाँड्छ ।
तर ऊ पनि सत्तामा गएपछि मैँ खाऊँ मैँ लाऊँ, मैँ बाँचूँ मैँ हाँसूँ, मैँ नाचूँ मै धन कुवेर हुँ, अरू चिज त भाँड मै जाओस् भनेर सत्ताको मातले मैमत्त हुन्छ । ऊ पनि तन्त्रमन्त्र बेचेर सोझासिदा जनको थैली रित्याउने जाली, कपटी तान्त्रिक भन्दा कुनै अर्थमा भिन्न देखिँदैन ।
चाहे जतिसुकै मीठा गुलिया नारा दिऊन्, चाहे जतिसुकै आमूल परिवर्तनको करिष्मा रच्ने भाषण गरुन्, सत्ताको लागि भोट माग्ने पार्टी र नेताको सार्वभौम विशेषता जनतालाई ढाँट्ने, झुक्याउने र ठग्ने नै हो । यी सबै रुप र कलेवरमा फरक फरक देखिएपनि सारतत्वका हिसाबले एकै ड्याङ्गमा फलेका मुला जस्ता देखिन्छन् ।
बाहिरी रङ थोरै अलग जस्तो देखिएपनि यिनको आत्मा एउटै छ । ठगीको मस्कद मिल्दोजुल्दो छ । कतै देशै आज खाल खालका ठगहरूको क्रीडास्थल बन्दै गएको त होइन, शङ्कै लाग्छ ।
बिहान आँखा उघारेदेखि बेलुका ओछ्यानमा नढलेसम्म विभिन्न औतार र आवरण धारण गरी ठगका ताँतीले गाउँ गाउँलाई दंशित गरेको चित्र कत्ति विद्रुप छ, कति विकृत छ, कति विसंगत छ र कति विलोडनपूर्ण छ । ठगका ताँतीलाई ठाउँको ठाउँ लाठो बजार्ने लाठेहरु कहाँ छन् ? तिनको खोजी गरिरहेछु ।