आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

तीन लघुकथा

शनिबार, २७ फागुन २०७९, ०६ : ४४
शनिबार, २७ फागुन २०७९

१. सफा घर

“पानी फालाफाल आउँछ कि कसो दाजु, सधैँ आँगन पखाल्नु हुन्छ त ।” छिमेकीलाई हरिले सोध्यो । 

“के गर्नु, आफू विदेश बसेर आएको, फोहोर त देख्नै सक्दिन ।” उसले भन्यो । 

“हाम्रो त पानी नै आउँदैन । हजुरको घरमा पानी धेरै आउँदो रहेछ ।” हरिले भन्यो । 

“होइन ट्याङ्कीबाट हो ।” छिमेकीले भने । 

अस्ति चार दिन पोखरा घुम्न गएका थिए, हाम्रो घरमा पानी पुगेको थियो । के को ट्याङ्कीको हुन्थ्यो । धारामा पानी आउने बेलासम्म मोटर लगाउँछन् । अब कसरी आउँछ त हाम्रो घरमा पानी ? पोख्न पनि कति सक्या होला ।” हरिको श्रीमतीले भित्रबाट भनिन् । 

छिमेकीको घरमा नौलो मानिस आएर कराए जस्तो लाग्यो । के भएछ बुझ्न उ छतबाट तल आएर बाहिर निस्कन गेट खोल्दै थियो । 

..

पारी घरको नौ वर्षको बालक आएर भन्यो, “अंकल हजुरलाई थाहा छ ? सधैँ पानी बगाएर बाहिर हिँड्ने बाटो फोहोर बनाउने अंकलले त पानीको मिटर निकालेर मोटर जोड्नु भएको रहेछ । खानेपानीको मान्छे आएर गाली गर्यो । जरिवाना पनि लगायो रे ।”

२. प्रतिकारी

“तिम्रो श्रीमान् दुबई गएको कति भयो रे कान्ता ?” चौतारीमा घाँसको भारी बिसाएको बेला थापा राजुले सोध्यो । 

“नौ महिना भइसक्यो ।” कान्ताले भनिन् । 

“तीन, चार वर्ष त आउन पाउँदैन होला है ।” उसले भन्यो । 

थकाइ मेटियो अथवा प्रत्येक बसाइँमा जवाफ दिनुपर्ने यस्तै प्रश्नहरूबाट टाढा हुन उनी जाने तरखर गर्न थालिन् । 

“जान लाग्यौ ? ल म भारी ठेली दिन्छु ।” उसले भन्यो । 

“पर्दैन म आफैँ बोक्न सक्छु । अग्लो ठाउँमा मिलाएर राखेकी छु ।” कान्ताले भनिन् । 

“केही समस्या भए भन है । हामी गाउँमा भएको के काम हुन्छ र ।” उ परोपकारी देखियो । 

कान्ता घाँसको भारी लिएर घरतर्फ लागिन् । थापा राजु भने घाँसको भारी ल्याएका अरू पनि आउँदै छन् कि छैनन् हेर्न थाल्यो । 

“काले, विष्णे, हर्के सबै विदेश छ्न् । अब...” उ मनमनै कुरा गर्न थाल्यो । यसै गरेर कहिले वन जाँदा कहिले घाँस काटेर फर्कँदा सबैलाई सहानुभूति देखाउन थाल्यो । 

“घरका जहान नभएको बेला मीठो मसिनो बनाएर खान बोलाए पनि हुन्छ नि ।” आज चौतारीमा थापा राजुले अलि बढी नै बोल्यो । 

“ज्यादै पो नजिक हुन खोज्नु भयो त । जिस्काउनु भएको त हैन नि ?” आज के भयो थाहा भएन, नौनी पग्लेजस्तै कान्ताको बोली पनि भिन्दै लाग्यो उसलाई । 

“किन जिस्कनु पर्‍यो, साँच्चै हो नि, तिम्रो श्रीमान् पनि कहिले आउने हो । उसको न्यास्रो लाग्छ होला भनेर नि ।” उसले भन्यो । 

“पर्सि आउनु न साँझमा मीठो खानको लागि ।” उनले मुसुक्क हाँस्दै भनिन् । 

पर्सिपल्ट उ भनेको समयमा कान्ताको घरतर्फ लाग्यो । ढोका खोलेर भित्र पस्यो । 

“फसाउनु भयो नि ।” कान्ताले आँखा तरेर भनिन् । उसले हात समात्यो । 

“पहिला खाजा खाने होला नि । ” कान्ताले फेरि भनिन् । 

“खाँदै गरौँला ।” भन्दै दुवै हात समात्यो । 

एक्कासि उसको हात घाँस बाँध्ने नाम्लोले बाँधियो । उसले टाउको उठाएर हेर्‍यो । काले, विष्णे, हर्के सबैका श्रीमती रहेछन् । 

“ए, तँ अब हाम्रा श्रीमान्को न्यास्रो मेटाउन आएको हैन ? हिँड् प्रहरी चौकी, रातभर कसको न्यास्रो मेट्ने होस् मेट ।” 

सबैको आँखामा आक्रोश देखिन्थ्यो ।

३. पृथा

“भन्नुहोस्, के समस्या भयो ?”

“जे सेवा दिन्छु भनेर यो संस्था खोल्नु भएको सोही सेवा लिनको लागि आएको हुँ ।”

“एक्लै आउनु भयो ?”

“मेरो आफ्नो समस्या हो, अरूलाई किन ल्याउनु ?”

“के गरौँ त अब?”

“म मेरो शरीरमा मेरै अधिकार स्थापित गर्न चाहन्छु ।”

“श्रीमान् आउनु भएन ?”

“मेरो बिहे भएको छैन ।”

“कसरी यो समस्या आयो ?”

“अँध्यारो गल्लीमा उज्यालो देखाउन बोलाएको सूर्यले धोका दियो ।”

उनी सुरक्षित गर्भपतन गराउने आधिकारिक संस्थाको कार्यालयमा परामर्श लिँदै थिइन् ।

“अब के गरौँ ?” उनलाई सोधियो ।

“पाण्डुले मेरो विगत थाहा नपाओस् । बेवारिसे पाल्न सक्ने राधाहरू पनि त देखिँदैन आजभोलि । ”

“तपाईं ढुक्क हुनुहोस् । अब कर्णहरूलाई बाकसमा राखेर गंगामा बगाउनु पर्दैन ।”

पोखरा–७ मासबार, कास्की 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप