मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

शुक्रबार, २६ फागुन २०७९, २२ : ३६
शुक्रबार, २६ फागुन २०७९

आज मिति २०७९ साल फागुन महिनाको २६ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–

१. प्रचण्डविरुद्धको मुद्दामा अन्तरिम आदेश भएन

सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विरुद्ध दायर मुद्दामा अग्राधिकार दिएको छ । रिट निवेदनमा उठाइएको विषयको महत्त्व, गम्भीर्यता तथा संवेदनशीलतातर्फ दृष्टिगत गर्दा विवादको निरुपण छिटो र छरितो गर्नुपर्ने मनासिव देखिएको भन्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अग्राधिकार प्रदान गरेको हो ।

 यस्तै सर्वोच्चको आदेशमा निवेदनको माग बमोजिम अन्तरिम आदेश जारी हुनेसम्मको पर्याप्त कारण नदेखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरिएको छ ।

२. एकठाउँमा माओवादी धार

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धकालीन मुद्दा बहसमा आएपछि माओवादी पृष्ठभुमि बोकेका तर फरक फरक पार्टीमा आबद्ध माओवादी धारका ८ दल कार्यगत एकता गर्ने तहमा पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा जनयुद्धकालीन मुद्दा दायर भएसँगै माओवादी घटकहरु १० वर्षपछि एक ठाउँमा उभिएर दबाब सिर्जना गर्न लागेका हुन् ।

यसैबीच गत मंसिर ४ गते भएको निर्वाचनपछि राजनीतिक दलहरुले प्राप्त गरेको शक्ति र राजनीतिक गठजोडका आधारमा राज्यका ३ महत्त्वपूर्ण पदहरुको बाँडफाँट सम्पन्न गरेका छन् । जसअनुसार नेपाली कांग्रेसले राष्ट्रपति, नेकपा एमालेले प्रतिनिधि सभाको सभामुख र माओवादी केन्द्रले प्रधानमन्त्री पद पाएका छन् । 

३. कर्मचारी अभाव

संघीय सरकार मातहत अहिले दुई लाख २५ हजार दुई सय ५७ कर्मचारी कार्यरत छन् । स्वीकृत दरबन्दी दुई लाख ५२ हजार एक सय २५ रहे पनि अहिले २५ हजार ८ सय ३९ कर्मचारीको पद रिक्त रहेको छ । विभिन्न सयमयमा सरकारले आवश्यकताभन्दा धेरै कर्मचारी देखिएपछि एक हजार २९ जना कर्मचारीलाई फाजिलमा राखेको पाइएको छ ।

४. बालबालिका काउन्सिलिङ

के तपाईंका बालबालिका पढ्न मन गर्दैनन् ? एकान्तमा बस्न पराउँछन् ? केही कुरा गर्यो कि त्रसित हुन्छन् ? यी लगायत थुप्रै खालका समस्या तपाईंको बालबालिकामा देखिरहेको हुन सक्छ । त्यसमा पनि कोरोना महामारीपछि यस्तो खालको समस्या धेरै नै देखिएको छ ।

यस्तो खाले समस्या देखिएमा बालबालिकालाई काउन्सिलिङको आवश्यकता परेको हुन सक्छ । बालबालिकामा देखिने गरेका यावत समस्यालाई मध्यनजर गर्दै विद्यालयहरूले अब काउन्सिलर राख्न थालेका छन् ।

५. उपराष्ट्रपति निर्वाचन

आठ दलका तर्फबाट गठित राष्ट्रपति निर्वाचन परिचालन तथा संयोजन समितिले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिएर निर्वाचित गर्ने सबैलाई धन्यवाद दिएको छ ।  शुक्रबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको अनितम बैठकले राष्ट्रपति निर्वाचनको समीक्षा गर्दै सबै मतदाता, सुरक्षाकर्मी र सञ्चारमाध्यमहरुलाई धन्यवाद दिएको बैठकपछि समितिका संयोजक कांग्रेस उपसभापति पुर्णबहादुर खड्काले जानकारी दिए । यसैगरी उपराष्ट्रपतिको उम्मेदवारबारे आठ दलको बैठक बसेर निर्णय गरिनेछ ।

उपराष्ट्रपतिको मनोनयन दर्ता शनिबार गरिँदैछ । त्यसका लागि सत्ता गठबन्धनबाट नागरिक उन्मुक्ति पार्टी र जसपासहित जनमत पार्टीले पनि दाबी गरेको अवस्था छ ।

६. उपराष्ट्रपति निर्वाचनको मनोनयनबारे आयोग

उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारी दर्ताका सन्दर्भमा निर्वाचन आयोगबाट आएको छुट्टाछुट्टै धारणाले सत्ता गठबन्धनमा अलमल देखिएको छ ।

निर्वाचन आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय भएको उल्लेख छ । तर प्रमुख निर्वाचन आयुक्तले अर्को कुरा गर्दाे अलमल देखिएको हो। 

७. पशुपतिमा पौडेल

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको दर्शन गरेका छन् । शुक्रबार बिहान राष्ट्रपति पौडेलले पशुपतिनाथको दर्शन गरेका हुन् । पौडेलले पशुपतिनाथको दर्शन गरी प्रसाद ग्रहण गरेका छन् । सो क्रममा राष्ट्रपति पौडेलले पशुपतिनाथ परिसरमा पुजा गरेका थिए । 

८. एआईजीमा बढुवा सिफारिस

सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो।

९. मलको भाउ घट्यो

मलको अन्तर्राष्ट्रिय मूल्य घट्दा कृषि सामग्री कम्पनीलाई दुई अर्ब ४३ करोड फाइदा भएको छ । सरकारले मलका लागि १५ अर्ब बजेट विनियोजन गरेकोमा १० अर्ब ५० करोड बराबरको मल आयात भइसकेको छ ।

लामो समयको अन्तरालपछि यो साता सेयर बजारमा केही सहज देखिएको छ । फागुन २१ गते आइतबारदेखि फागुन २५ गते सम्म जम्मा तीन दिन खुलेको बजारमा ३३ अंक माथिले नेप्से वृद्धि भएको हो ।

सङ्घीय सरकारमा माओवादी केन्द्र र एमालेको गठबन्धन टुटेर नयाँ गठबन्धन बनेपछि त्यसको असर मधेस प्रदेशमा पनि पर्ने भएको छ ।  राष्ट्रपति निर्वाचनका क्रममा नयाँ गठबन्धन बनेपछि मधेस प्रदेशमा पनि यसको असर देखिएको हो ।

मुख्यमन्त्रीसहित तीन सदस्यमा सीमित रहेको सुदूरपश्चिमको मन्त्रिपरिषद् विस्तार तत्काल नहुने देखिएको छ । राष्ट्रपति तथा उपराष्ट्रिपति निर्वाचनको आचारसंहिता लागू भएपछि मन्त्रिपरिषद् विस्तार रोकिएको हो । निर्वाचन आयोगले तोकेअनुसार फागुन २५ गते सम्पन्न राष्ट्रपति निर्वाचन र चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनलाई लक्षित गरी फागुन १७ देखि चैत ५ गतेसम्म निर्वाचन आचारसंहिता लागू गरेको छ ।

१०. यो पनि...

चीनले नेपाललाई पर्यटकीय गन्तव्यका लागि खुला गरेको छ । चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयका अनुसार चीनको पर्यटकीय गन्तव्यको ४० देशको सूचीमा नेपाल पनि समेटिएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बीच स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा तालमेल र सहकार्य हुने भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत बिमलनगरदेखि घाँसी कुवासम्मको पूर्वी सडकखण्ड १५ दिनसम्म दैनिक चार घण्टा पूर्णरुपमा बन्द गरिने भएको छ । यही फागुन २८ देखि चैत १२ गतेसम्म राति १२ बजेदेखि बिहान ०४ बजेसम्म दैनिक बन्द गर्न लागिएको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप