मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

तिलोत्तमाका प्रमुख र उपप्रमुख झाडु बोकेर टोलटोलमा

शुक्रबार, २६ फागुन २०७९, १८ : ०९
शुक्रबार, २६ फागुन २०७९

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा शुक्रवार सरसफाइ गरिएको छ । वडा कार्यालयहरूको आह्वानमा टोल विकास संस्थाहरूले सडक र  सार्वजनिक स्थानमा सरसफाइ गरेका हुन् । यसैक्रममा वडा नं. ८ का सबै टोलहरूमा पनि सरसफाइ गरिएको छ । नगरमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित नगर सरसफाइ अभियानको एक सयौँ शृङ्खलाको अवसरमा सरसफाइ गरिएको वडाध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।  

तिलोत्तमाको वडा नं. ८ मा हाल ८ वटा टोल विकास संस्थाहरू क्रियाशील छन् । कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, अभियान संयोजक सुरेन्द्र श्री, करहिया—मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष यज्ञ गैरे लगायतका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ—संस्थाका प्रतिनिधिहरूले झाडु लिएर टोल टोलमा पुगी सरसफाइ गरेका थिए ।

चार नम्बर चोकबाट सुरु भएको बुद्ध सर्किट सरसफाइमा सहभागी नगर प्रमुख रामकृष्ण खाणले सबै नगरबासीले सरसफाइलाई आफ्नो जीवन पद्धतिको रूपमा अघि बढाउँदा अभियान दिगो रूपमा अघि बढ्ने बताउँदै अभियानमा सहभागी बन्न सबै नगरवासीलाई आह्वान गरे । यस्तै उपप्रमुख जागेश्वरी चौधरीले सरसफाइ तिलोत्तमाबासीको पहिचान बनेको उल्लेख गर्दै सप्ताहव्यापी कार्यक्रमका साथै नियमित सरसफाइ अभियानलाई सबै मिलेर सफल बनाउनुपर्ने बताए ।

वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले सरसफाइलाई सामाजिक विषय भएको बताउँदै सप्ताहव्यापी कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउँदै आफ्नो घर, आँगन, सडक, व्यावसायिक प्रतिष्ठान, कार्यालय, चोक, टोल, सार्वजनिक स्थानमा सघन सरसफाइ गर्नु सम्पूर्ण नगरबासीमा अनुरोध गरे । करहिया—मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष यज्ञ गैरेले सरसफाइ तिलोत्तमाको पहिचान बनेको बताउँदै यसलाई दिगो बनाउने तर्फ सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।

तिलोत्तमा नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरू आएसँगै नियमित सरसफाइ अभियान सुरु भएको थियो । आगामी चैत्र १ गते एक सयौँ शृङ्खलामा पुग्ने अभियान अन्तर्गत हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरूको सहभागितामा नगर स्तरीय सरसफाइ अभियान सञ्चालन हुँदै आएको छ । 

वडा कार्यालय र टोल विकास संस्थाहरू समेतले नियमित सरसफाइ अभियान चलाउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप