बालबालिकालाई किन आवश्यक छ काउन्सिलिङ ?
काठमाडौँ । के तपाईंका बालबालिका पढ्न मन गर्दैनन् ? एकान्तमा बस्न पराउँछन् ? केही कुरा ग¥यो कि त्रसित हुन्छन् ? यी लगायत थुप्रै खालका समस्या तपाईंको बालबालिकामा देखिरहेको हुन सक्छ । त्यसमा पनि कोरोना महामारीपछि यस्तो खालको समस्या धेरै नै देखिएको छ ।
यस्तो खाले समस्या देखिएमा बालबालिकालाई काउन्सिलिङको आवश्यकता परेको हुन सक्छ । बालबालिकामा देखिने गरेका यावत समस्यालाई मध्यनजर गर्दै विद्यालयहरूले अब काउन्सिलर राख्न थालेका छन् ।
विशेष गरी निजी विद्यालयहरूले काउन्सिलर नै राखेर बालबालिकालाई काउन्सिलिङ गराउँदै आएका हुन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का महासचिव आरबी कटवालले कोरोना महामारीपछि विद्यालयहरूले काउन्सिलर राख्ने क्रम बढेको बताए । ‘अलिकति प्रोग्रेसिभ गर्दै गरेका स्कुलहरूले राखिरहेका छन् । अहिले केही हदसम्म बढेको देखिन्छ,’ उनले भने । सामान्य खालका स्कुलहरूमा भने प्रिन्सिपल स्वयम्ले नै विद्यार्थीहरूलाई काउन्सिलिङ गराउँदै आएको उनको भनाइ छ । ‘प्रिन्सिपल स्वयमले नै साइकोलोजिक्कली ट्रिट गरिरहेका छन् । यसकै लागि भनेर छुट्टै रुम, छुट्टै काउन्सिलर भने राखेको छैन । पछिल्लो वर्षहरूमा धेरै प्रिन्सिपलहरू सचेत छन् ।’ उनले भने ।
प्याब्सनले विद्यालयहरूमा काउन्सिलर राख्नुपर्छ भन्ने कुरा अगाडि बढाइरहेको छ । तर, अनिवार्य भने गरेको छैन । ‘अहिलेको जमाना फरक छ, बच्चाहरूलाई ठूल्ठूलो स्वरले गाली गर्ने, कुटपिट गर्नु हुँदैन । अब त काउन्सिलिङबाट साईकोलोजिकल्ली ट्रिट गर्नुपर्छ भनेर भनिरहेका छौं,’ उनले भने ।
अहिले समय र समाज दुवैको माग नै बालबालिकाहरूका लागि काउन्सिलिङ चाहिन्छ भन्ने रहेको छ ।
हाल प्याब्सनमा आबद्ध ३० प्रतिशत विद्यालयहरूमा काउन्सिलर छन् । त्यसमध्ये सहरकेन्द्रीत ६० देखि ७० प्रतिशत विद्यालयहरूमा भने काउन्सिलर राखेको पाइन्छ । सामुदायिक विद्यालयहरूमा काउन्सिलर नै नराखेपनि त्यसको आवश्यकता भने महसुस गर्न थालेका छन् ।
कोरोना महामारीपछि बालबालिकामा पढ्ने बानीको विकास हराएको र अन्य क्रियाकलापमा बढी केन्द्रीत हुन थालेपछि विद्यालयहरूले यसको आवश्यकता महसुस गर्न थालेका हुन् । सामुदायिक विद्यालयहरूले पर्टिकुलर काउन्सिलर नै राखेका छैनन् । तर, आवश्यकताको आधारमा विद्यालयमा बोलाएर बालबालिकाहरूलाई काउन्सिलिङ गराउँदै आएका छन् ।
पद्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण गौतमले स्पेशल काउन्सिलर भनेर कुनै व्यक्ति नराखेको बताए । ‘विद्यार्थीमा देखिने गरेको समस्यालाई मध्यनजर गरेर कहिलेकाहीँ बाहिरबाट काउन्सिलर, मनोविद् ल्याएर क्लास दिन्छौं,’ उनले भने ।
सामुदायिक विद्यालयमा काउन्सिलिङ गर्न छुट्टै जनशक्ति राख्न राज्यबाट कुनै बजेट नआएको र विद्यालय आफैंले राख्न नसक्ने उनको भनाइ छ ।
बालबालिकाहरूलाई काउन्सिलिङ किन आवश्यक पर्छ ? भन्ने विषयमा हामीले सानोठिमी भक्तपुरमा रहेको मातृभूमि स्कूलकी काउन्सिलर बिन्दु विष्टसँग कुराकानी गरेका छौंः
विद्यार्थीहरूलाई काउन्सिलिङ किन आवश्यक पर्छ ?
सबै जनालाई आ–आफ्नो किसिमको समस्या हुन्छ । बालबालिकाहरूको पनि उमेर अनुसारको आफ्नै समस्या हुन्छ । अभिभावकले बालबालिकाको लागि सबै कुरा पु¥याईदिएका हुन्छन् । अनि हाम्रो सोच पनि मेरो बच्चालाई सबै कुरा पुरा गरिदिएको हुन्छु, लगाउन दिएकै छु, खान दिएकै छुँ भन्ने हुन्छ ।
तरपनि बच्चाले पढ्न मान्दैन । पढ्नमा कमजोर हुन्छ । हो, बच्चा कहाँनेर कमजोर भयो, कहाँनेर ल्याकिङ भयो, बच्चाको सोसल इमोशनल ग्रोथ कहाँनेर ल्याक भइरहेको छ भनेर हामीहरू बुझ्न खोज्दैनौं ।
त्यो बुझ्न नखोज्दा हामी के देखिरहेका हुन्छौं भने बच्चाको साथी एकदिन पनि नबोल्दा उसलाई प्रोब्लम हुन्छ, उसको साथी कहिलेकाहीँ नआएको खण्डमा अर्को साथीसँग एडजस्ट हुन सक्दैन । कहिलेकाही बुल्ली भइरहेको हुन्छ । जुन उसले एक्सप्रेसिभ गर्न सक्दैन । सबै बच्चाहरू एक्सप्रेसिभ हुँदैनन् । कोही इन्ट्रोभर्टिभ हुन्छन्, कोही एक्स्ट्रोभर्ट हुन्छन् ।
अरु के के ख्याल गर्नुपर्छ ?
बच्चाहरु कहिलेकाहीँ सब्जेक्ट स्ट्रगल गर्छन् । त्यो स्ट्रगल गरेको सब्जेक्टलाई लिएर हामी घरमा बच्चाले पढेन भन्छौं । तर, उसलाई कन्सेप्ट क्लियर भएको छ कि छैन अथवा पर्टिकुलर टिचरसँग उसको ट्युनिङ कस्तो छ ? यस्तो कुराहरूलाई हामीले ख्याल गर्नुपर्छ ।
अर्को कुरा बच्चाहरूमा हर्मोनल चेन्जहरू आउँछन् । त्यो हुँदा आफ्नो फिलिङ, आफ्नो इमोशनमा उनीहरूको कन्ट्रोल हुँदैन । हामीले इमोशनको जति कुरा गरेपनि उनीहरूमा त्यो कुराको चेतना त हुँदैन ।
घरको समस्याले कति असर गर्छ ?
डोमेस्टिक कुराहरूले पनि समस्या भइरहेको हुन्छ । घरभित्र जुन समस्या आइरहेको छ । हाम्रो घरमा बच्चा छ, उसको अगाडि डिसकस नगरौं भन्ने माहोल छैन । त्यसले गर्दा बच्चामा समस्या भइरहेको हुन्छ ।
कहिलेकाहीँ ड्याडी मम्मीले आफ्नो साथीभाई तथा कजनहरूसँग तुलना गरिदिनुहुन्छ । सबै जना व्यक्तिगत रूपमा त फरक पर्सनालिटीका हुन्छन् । तर, हामी कहिले पढाईलाई लिएर, कहिले स्पोर्टस्लाई लिएर अर्कोसँग तुलना गरिदिन्छौं ।
ए यो त एकदम इन्ट्राभर्टि छ बोल्दै बोल्दैन भन्छौं । तर, बच्चा के कति कारणले बोल्दैन भन्ने कुरामा हामी जाँदैनौं । त्यो जेनेटिक पनि हुन सक्छ । बुवा अथवा हजुरबुबा नबोल्ने वा कम बोल्ने भयो भने त्यो जेनेटिकल्ली पनि आउँछ ।
कतिपय बच्चालाई स्कुलमा हुने भाइलेन्स वा घरमा आमाबुबाबीच ठूलो स्वरमा हुने कुराकानीका कारण तर्सिने पनि हुन सक्छ । त्यही कुराले घरबाट स्कुलमा आउँदा पनि तनाव लिइराख्ने हुन्छन् । यस्ता खालका विभिन्न समस्याहरू छन् ।
त्यसले गर्दा पनि बच्चालाई काउन्सिलिङ एकदम जरूरी छ । किनभने उसलाई क्लियारिटी चाहियो नि त ।
समस्या त नआउने भन्ने नै हुँदैन । तर, ती समस्यासँग कसरी एडजस गर्ने भन्ने कुरा हो । अर्थात् त्यसलाई कसरी म्यानेज गर्ने भन्ने कुरा प्रमुख हुन्छ । हो, त्यो कसरी गर्ने भनेर पनि काउन्सिलिङ चाहिन्छ ।
काउन्सिलिङ गर्दा के–के कुराहरू हुन्छन् ?
स्कुलमा काउन्सिलर राखिसकेपछि सबैभन्दा पहिला क्लास क्लासमा गएर काउन्सिलर के हो ? यसको भूमिका के हुन्छ ? कसरी काउन्सिलिङ लगायतका विषयमा जानकारी गराउनुपर्छ ।
त्यसमा काउन्सिलरको रोल, काउन्सिलिङ गर्दा आउने परिवर्तन, के समस्या हुँदा काउन्सिलरसँग कुरा गर्ने लगायतका विषयमा जानकारी दिन्छौं । त्यही आधारमा पछि पछि बालबालिकाहरू आफूमा कुनै समस्या आयो भने हामीकहाँ आउनुहुन्छ । र आफ्नो समस्या भन्न थाल्नुहुन्छ ।
बालबालिकालाई मात्र नभई अभिभावकहरूलाई पनि काउन्सिलिङ गर्नुपर्ने हो ?
हो, यसका लागि सबैभन्दा पहिला पेरेन्टिङ (अभिभावकत्व) गर्नुपर्छ । हामी सबैलाई आफ्नो बच्चालाई बेस्ट दिइरहेको छु भनेर पूर्ण लाग्छ नै । तर, हामी कहाँ–कहाँ ल्याकिङ गरिरहेका छौं, त्यो पत्ता लगाउनुपर्छ । त्यसका लागि हामीले पेरेन्टिङको सेसन पनि राख्छौं ।
बच्चाको साईकोलोजी किन महत्वपूर्ण छ, मेन्टल वेलभिङ किन महत्वपूर्ण छ ? हामीले दिएको माहोलमा बच्चालाई ठिक भइरहेको छ कि छैन भनेर अभिभावकहरूलाई सचेतना कक्षा दिनुपर्ने हुन्छ ।
एकदम धेरै अपेक्षाहरू राख्ने, उसको क्षमता नै ‘सी’ ल्याउने छ भने उसलाई ‘ए’ प्लसको प्रेसर दिएर त उसले कहिल्यै पनि ल्याउँदैन । प्रेसर दिएमा यदि उसको अतिरिक्त क्रियाकलापमा राम्रो छ भने विस्तारै त्यसमा पनि कमजोर हुँदै जान्छ । किनभने उसले गरेको कुराको मूल्यांकन पनि हुनुप¥यो नि ।
नराम्रो कुुराको बारेमा मात्र कुरा गरिराख्यो भने बच्चालाई ‘म त गुड फर नथिङ’ रहेछु नि भन्ने लाग्छ । त्यसपछि उ खुल्न सक्दैन । त्यसैले, अभिभावकहरू पनि सचेत हुनु धेरै जरूरी छ ।
काउन्सिलिङ गरिसकेपछि बच्चाहरूमा कस्तो खालको परिवर्तन आउँछ ?
काउन्सिलिङ गर्दाखेरी विशेष गरी आत्मविश्वासको कुरा गरिन्छ । बच्चाहरूलाई कन्फिडेन्स राख्नुपर्छ भनिरहेका हुन्छौं । सबैले सबैलाई सबै कुरा सेयर पनि गर्दैनन् ।
त्यसैले कहिले साथीको रूपमा, कहिले बच्चाको रूपमा, कहिले आमाबुबाको रूपमा आफ्नो कुरा सेयर गर्न कोही न कोही खोज्छन् । बच्चाहरूले जो कोहीलाई भन्दैनन् । कि मम्मीलाई भन्छन्, कि ड्याडीलाई, कि दाजुभाइलाई भन्छन् ।
तपाईंको कुरा कन्फिडेन्सल हुन्छ, तपाईंलाई हामी जज गर्दैैनौं, किनभने आज भएको घटना भोलि हुने घटनासँग सम्बन्धित हुन्छ भन्ने नै हँुदैन । त्यसले गर्दा कहिलेकाही गल्ती हुन्छ ।
बच्चाहरूलाई जज नगर्ने, उनीहरूलाई गाईड गरिदिने गर्नुपर्छ । कहिलेकाहीँ उनीहरूले आफ्नै स्ट्रेन्थलाई कमजोरी ठानेका हुन्छन् । यस्तो कुराहरूमा हामीबाट क्लियारिटी दिने गरिन्छ । धेरै समय यसरी नै एजुकेटेड गराउँदा पछि बच्चा विस्तारै आफैं हामी कहाँ आउन थाल्छन् ।
जब उसले आफ्नो मनको कुरा पोख्न पाउँछ, त्यसपछि पो उसको मन खाली हुन्छ । भरिएको भाँडामा थप पानी हाल्न सकिदैन नि । हो, त्यसरी नै बच्चाको मनमा खेलिरहने अनेकन प्रकारका प्रश्न तथा समस्या हामीसँग सेयर गर्दा उनीहरूको मन शान्त हुन्छ र फ्रेस हुन्छन् ।
अहिलेको बच्चाहरू यतिसम्मका भइसकेका छन्, म सुसाईड गरिदिन्छु भनेर धम्की दिने, हात काटिदिने जस्ता क्रियाकलाप गर्छन् । यी सबै कुरालाई लिएर हामी क्लासमा जाने र विद्यार्थीहरूसँग कुरा गर्ने गरेका छौं । तर, त्यसका लागि हामी बच्चालाई कुनै प्रकारको प्रेसर दिदैनौं ।
यदि कुनै बच्चा स्याड देखियो भने ‘आर यू रेडी टु सेयर विथ मि ?’ भन्ने र उ सेयर गर्न चाहँदैन भने कुनै फोर्स नगर्ने । जब उ आफ्नो मनको कुरा सेयर गर्न चाहन्छ अनि हामी कुरा सुन्छौं र त्यही आधारमा समाधान गर्छौ ।
कोरोना महामारीपछि बच्चाहरूको बानीव्यवहोरामा परिवर्तन आएको हो ?
अवश्य नै । अहिले निकै चेन्ज भइरहेको छ । धेरै समय बालबालिका घरभित्रै बस्न बाध्य भए । बाहिरी वातावरणसँग उनीहरू घुलमिल हुन पाएनन् । जसले गर्दा बालबालिकाको बानी पुरै परिवर्तन भइसकेको छ । उनीहरू पढ्न खोज्दैनन् ।
अहिलेको अवस्थामा बच्चाहरूलाई काउन्सिलिङको आवश्यक झन् बढेको छ । बालबालिकालाई धेरै प्रेसर दिनु हुँदैन । त्यस्तो गरियो भने उनीहरूमा नकारात्मक असर पर्छ । त्यसैले, बच्चाको आवश्यकताको आधारमा समाधान खोज्दै जानुपर्छ । यसका लागि स्कुलमा मात्र नभएर घरमा समेत त्यही खालको वातावरण बनाउन सक्नुपर्छ ।