आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

सहकारी ठगी प्रकरण : सीआइबीले अनुसन्धान गर्ने

शुक्रबार, २६ फागुन २०७९, १२ : ४३
शुक्रबार, २६ फागुन २०७९

विराटनगर । विराटनगरमा रहेको तुलसी बहुमुखी सहकारी संस्थाको अनियमितता प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले छानबिन सुरु गर्ने भएको छ । 

सहकारी विभागद्वारा नेपाल प्रहरीको सीआइबीलाई छानबिनका लागि अनुमति दिँदै पत्राचार गरेपछि अनियमितताबारे अनुसन्धान सुरु गरिने भएको हो । मोरङ प्रहरी प्रमुख प्रहरी निरीक्षक दीपक पोखरेलले दिएको जानकारी अनुसार तत्काल अनुसन्धान सुरु गर्न लागिएको छ । 

सीआइबीले हाल प्रहरी नियन्त्रणमा रहेकी सचिव सविना न्यौपाने र उपाध्यक्ष अनिता गौतमलाई पनि अनुसन्धानको दायरामा ल्याउने छ । यस्तै सीआइबीले अध्यक्ष केदारनाथ शर्मा तथा अन्य सञ्चालक तथा व्यवस्थापकहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन लागेको छ । 

‘हामीलाई सहकारी विभागले र केन्द्रीय अनुसन्धान ब्युरोबाट पनि अनुसन्धान गर्न पत्राचार भइसकेको छ,’ पोखरेलले भने, ‘एक दुई दिनमै अनुसन्धान सुरु हुनेछ ।’ मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले सञ्चालक समितिका साथै व्यवस्थापकहरूको सम्पत्ति रोक्का राख्ने, बैङ्क खाता रोक्का गर्ने र अनुसन्धान सीआइबीले गर्ने विषयमा सहकारी विभागले पत्राचार गरेको जानकारी दिए । 

उक्त सहकारीमा सर्वसाधारणले बचत गरेको १ सय ४५ करोड रुपैयाँ हिनामिना भएको हुनसक्ने आशङ्का गरिएको छ । सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारतमा छन् । सदस्यहरू छविलाल विश्वकर्मा, निर्मला भट्टराई, बन्टि अधिकारी सम्पर्कविहीन छन् । सदस्य आदित्यराज भट्टराई, प्रमुख प्रबन्धक मन्दिप खवास र प्रबन्धक सुरुचि पोखरेल भने स्थानीय प्रशासनको सम्पर्कमै रहेका छन् । उपाध्यक्ष गौतमले जिल्ला प्रशासन कार्यालय मोरङ, सहकारी विभाग काठमाडौँ र प्रदेशको सहकारी रजिस्टारको कार्यालयलाई पत्राचार गर्दै समस्या समाधानका लागि आवश्यक सहयोगको माग गरेकी थिइन् ।

यसैबीच बचतकर्ताहरूको अत्यधिक दबाब आएपछि उपाध्यक्ष गौतमले सबै सञ्चालक समितिका पदाधिकारीको तीन पुस्ते विवरण पनि जिल्ला प्रशासन कार्यालयमा बुझाएकी छिन् । उनले अध्यक्ष केदारनाथ शर्मा, उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने, सदस्यहरू छविलाल विश्वकर्मा, निर्मला भट्टराई, बन्टि अधिकारी, आदित्यराज भट्टराईको तीन पुस्ते विवरण बुझाएकी हुन् ।

विराटनगर–३ मा मुख्य कार्यालय रहेर करोडौँको कारोबार गर्दै आएको तुलसी बहुउद्देश्यीय सहकारी संस्था अहिले सङ्कटमा छ । सहकारीको कार्यालय तथा डिपार्टमेन्ट स्टोरहरू बन्द छन् । तुलसी सहकारी विराटनगरको ठुलो सहकारी हो । यस सहकारीको विराटनगरमा मात्रै ५ हजार बढी बचतकर्ता छन् । 

विराटनगरका ५ हजार जनाबाट मात्रै झन्डै ६६ करोड बचत जम्मा भएको सहकारीका कर्मचारीहरू बताउँछन् । झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोल बजारमा पनि शाखा कार्यालय रहेको सहकारीको जम्मा निक्षेप (बचत) रकम मात्रै १ सय ४५ करोड बराबर रहेको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप