प्रेरक प्रसङ्ग : सङ्कल्प शक्ति
केही गर्छु भन्ने दृढ सङ्कल्प भए संसारमा असम्भव भन्ने केही पनि हुँदैन । हालसम्म मानिसले जेजति उन्नति र प्रगति गरेका छन् त्यसको मूल कारण यही सङ्कल्प शक्ति नै हो । केही गर्छु भन्ने भावना भएका मानिसका लागि असम्भव भन्ने शब्द नै हुँदैन भन्छन् विद्वान्हरू । त्यस्तो शब्द कोषकारले बनाएकै छैनन् भन्ने उनीहरूको अभिमत छ । भाइबहिनीहरूको जानकारीका लागि भगवान् बुद्धसम्बन्धी एउटा यस्तै प्रसङ्ग प्रस्तुत गरिएको छ ।
धेरै पहिलेको कुरा हो । कुनै बेला भगवान् बुद्ध शिष्यहरूका साथ केही समय कुनै एक पहाडी गाउँमा बस्दै आएका थिए । उनको साँझपख घुमेर प्राकृतिक सौन्दर्यको दृष्यावलोकन गर्ने नियमित दिन चर्या थियो । एक दिन यसै गरी धुम्दै गएको बेला अगाडि एउटा विशाल चट्टान देखियो । चट्टान जति ठूलो थियो देख्दा त्यस्तै बलियो पनि लाग्थ्यो । यस्तो चट्टान उनका शिष्यहरूले यस अघि देखेका थिएनन् । त्यसैले उनीहरूका मनमा एक किसिमको कौतुहलता उत्पन्न भयो र एक जना शिष्यले विनम्रतापूर्वक सोधे–
‘गुरु देव ! हामीले यस अघि यति ठूलो र बलियो चट्टान देखेका थिएनौँ । यसमाथि हैकम चलाउने तागत संसारमा कसैको पनि छैन होला, होइन ?’
शिष्यको कुरा सुनेर बुद्ध अनकनाए । एकछिन केही सोचे जस्तो गरी मुस्कुराउँदै भने–
‘किन र वत्स ! यस चट्टानमा के त्यस्तो गुण देख्यौ र ?’
तत्कालै शिष्यले शिर झुकाउँदै भने–
‘किनकि यो चट्टान आफैँ पनि निकै ठूलो छ त्यसमाथि बलियो पनि त्यत्तिकै छ होला जस्तो देखिएको छ ।’
शिष्यको कुरा सुनेर बुद्धले केही सम्झाउने विचार गर्दै भने–
‘हो, वत्स ! तिमीले भने जस्तै यो चट्टान ठूलो पनि छ र बलियो पनि छ तर यसमाथि कसैको पनि हैकम चल्दैन भन्ने चाहिँ होइन । संसारमा कुनै पनि चीज आफैँमा ठूलो र बलियो भन्ने हुँदैन । सबै एक अर्कामा निर्भर छन्, एक अर्काको अधीनमा हुन्छन् । यही नै प्रकृतिको नियम हो । यही नियमले नै संसारलाई अनुशासित बनाएको छ, चलाएको छ । कदाचित यस्तो हुँदैनथ्यो भने तत्कालै ध्वस्त हुन पुग्छ । यो चट्टान ठूलो र बलियो भएर मात्र के गर्ने यदि तिमीले फलामले प्रहार गर्न थाल्यौ भने उसलाई टुक्राटुक्रा हुन कर लाग्छ ।’
उनको कुरा सुनेर शिष्यको मनमा अर्को कौतुहलता जागृत भयो । उनले थप जान्ने उद्देश्यले सोधे–
‘त्यसो भए फलाम नै शक्तिशाली भयो नि होइन र गुरुदेव !’
उनको कुरा बुद्धलाई मन परेन । उनले थप सम्झाउँदै भने–
‘होइन वत्स ! तिमी यहाँ पनि भ्रममा छौ । फलाम शक्तिशाली त हो तर उसमाथि पनि कसैको हैकम चल्छ । यदि उसलाई आग्निको तापमा राख्न थाल्यौ भने ऊ पनि गल्न थाल्छ, गल्न कर लाग्छ । जति नै कठोर भए पनि आगोको अगाडि परेपछि उसको केही लाग्दैन ।’
उनको कुरा सुनेर शिष्यले आश्चर्य मान्दै अर्को प्रश्न गरे–
‘यसको अर्थ त आगो नै संसारको शक्तिशाली तत्व भयो नि होइन र ?’
तुरुन्तै बुद्धले भने–
‘होइन, त्यो पनि होइन । पानीको अगाडि परेपछि आगोलाई पनि चिसो हुन कर लाग्छ । उसको उष्णतालाई पानीले शीतल बनाइदिन्छ ।’
शिष्यले पुनः अर्को प्रश्न गरे–
‘त्यसो भए पानीमाथि चाहिँ कसको हैकम चल्छ नि गुरुदेव !’
उत्तरमा बुद्धले भने–
‘हवाको शासन चल्छ नि कसको ? हावाको झोक्काले पानीको पनि दिशा बदलिदिन सक्छ ।’
शिष्यले अर्को प्रश्न तेस्र्याउँदै भने–
‘अनि हावामाथि चाहिँ कसको हैकम चल्छ नि ?’
बुद्धले मुस्कुराउँदै भने–
‘मानिसको सङ्कल्प शक्तिको । वायुको शक्तिलाई मानिसको सङ्कल्प शक्तिले बदल्न सक्छ । सङ्कल्प शक्ति भनेको यस्तो शक्ति हो, जसले पृथिवी, जल, वायु र अग्निलाई नियन्त्रणमा लिन मात्र होइन यिनलाई जस्तो बनाउन मन लाग्यो त्यस्तै बनाउन पनि सक्छ । अब त बुझ्यौ ?’
त्यसपछि शिष्यहरू सबैले बुझ्यौँ गुरुदेव ! भन्दै टाउको हल्लाए ।
वास्तवमा सङ्कल्प शक्तिभन्दा ठूलो शक्ति संसारमा अर्को कुनै छैन । मसक्क आँटेर गर्नुपर्छ जे पनि गर्न सकिन्छ । हो, तत्कालै पूरा नहुन सक्छ तर निरन्तर लागिरहने हो भने कुनै दिन पूरा हुन करै लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलम्पिक कमिटीको विवाद उत्कर्षमा : गृहलाई खेलकुद मन्त्रालयले पठाएको पत्रमा के छ ?
-
जुलाई–सेप्टेम्बरबिच बढेन बेलायतको आर्थिक वृद्धिदर
-
मुग्लिङ–नौबिसे सडकखण्ड आंशिक बन्द गरेर धमाधम काम, तस्बिरहरु
-
सामाजिक सञ्जाल प्रयोगमा कठोर बन्दै दलहरू
-
ओलम्पिक कमिटीको कार्यालयमा प्रहरी परिचालन
-
सर्वोच्चमा सोमबार ४१ प्रतिशतभन्दा बढी मुद्दा स्थगितको सूचीमा, यस्तो छ कारण