सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

‘२९ घरका ३१ युवा मजदुरीका लागि भारत’

शुक्रबार, २६ फागुन २०७९, ०९ : ५२
शुक्रबार, २६ फागुन २०७९

दाङ । बंगलाचुली गाउँपालिका दाङको दुर्गम पहाडी क्षेत्र हो । दुर्गम पालिकाको थुप्रै दुर्गम बस्ती क्षेत्रहरू छन् । ती मध्ये एक हो बंगलाचुली गाउँपालिका वडा नं. ४ गदारी । जहाँ २९ घर परिवार बसोबास छ । विकासका हिसाबले निकै पछि परेको गदारीमा भर्खर खानेपानी र विद्युत् सेवा पुगेको छ । मोटर बाटोको ट्याक्क भर्खर खुलेको छ । तर मोटर चल्दैन । जिल्ला सदरमुकाम घोराहीदेखि गदारी करिब ५० किलोमिटर उत्तर पहाडी बस्ती हो । 

गदारी गाउँको मुख्य आम्दानीको स्रोत केही छैन । खेतबारीको उत्पादनले गदारीबासीलाई मुस्किलले ३ महिना खान पुग्छ । बाँकी ९ महिनाको जोहो भारतकै मजदुरीले टार्नुपर्छ । गदारी गाउँमा १ सय १० जना पुरुष र ९६ जना महिला छन् । जसमध्ये ४६जना युवा रहेका छन् । ४६ जना युवाहरु मध्ये ३१ जना अहिले भारतको विभिन्न क्षेत्रमा रोजगारका लागि पुगेका छन् । स्थानीय टोमलाल घर्तीले भने–‘ घर खर्च टार्न युवाहरू बर्सेनि भारत जानुपर्ने बाध्यता छ । गदारीको गाउँको चुलो सदियौँदेखि भारतको मजदुरीले चल्दै आइरहेको छ । ’ 

आम्दानीको कुनै स्रोत नहुँदा पुरै गाउँ नै भारतको मजदुरीका लागि धाउनु परेको छ ।  १२-१४ वर्षको उमेरदेखि युवाहरू भारत जान सुरु गर्छन् । ८-१० कक्षा पास गरिसकेपछि गरिबीले उनीहरूलाई विद्यालय होइन भारत पुर्याउछ । यो गदारी गाउँको बाध्यता नै हो । 

‘भारत नगए भोकै बस्छ गाउँ’

‘आफ्नो उत्पादनले गाउँलाई ३ महिना पनि खान पुग्दैन । गाउँमा मोटर अझै आएको छैन । केही व्यापार व्यवसाय गरे पनि जीविका चलाउँथे । त्यो पनि छैन । व्यावसायिक कृषि खेती गरौँ उत्पादन बेच्न मुस्किल छ । गाउँमा व्यापारी आउँदैनन् । रहरले होस् वा बाध्यताले घर छोड्नु बाहेक अरू केही उपाय छैन । ’ – बंगलाचुुली गाउँपालिका वडा नं. ४ वडा सदस्य बोधराज परियारले भने–‘ भारत जानु बाहेक युवाहरूको अर्को उपाय केही छैन । ’ जसका कारण गाउँमा मर्दापर्दा युवाहरू कोही नुहुने गरेको उनले सुनाए । उनले थपे–‘ गाउँमा महिला, बालबच्चा र बृद्धबृद्धाहरु मात्रै बस्छन् । ’ 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप