टेलिकम कम्पनीहरूले उपत्यकामै दिँदैनन् मापदण्डअनुसार गुणस्तरीय सेवा
काठमाडौं । सञ्चालनमा रहेका टेलिकम कम्पनीहरूले काठमाडौं उपत्यकामै मापदण्ड अनुसारको सेवा नदिने गरेको पाइएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले गरेको एक अध्ययनअनुसार हाल सञ्चालनमा रहेका तीनवटै कम्पनीहरूको सेवा मापदण्डअनुसार नभएको पाइएको हो ।
प्राधिकरणले यही माघ २० देखि २४ गतेसम्म उपत्यकाका विभिन्न स्थानमा तीन वटा कम्पनीको सेवाको गुणस्तर मापन गरेको थियो । प्राधिकरणले नेपाल दूरसञ्चार कम्पनी, एनसेल र स्मार्टसेलले प्रदान गर्दै आइरहेको सेवाको गुणस्तर परीक्षण गरेको हो । यस क्रममा एनसेलको गुणस्तर सबैभन्दा उत्कृष्ट पाइएको छ ।
सेवा प्रवाह गर्दा पूरा गर्नुपर्ने ४ मध्ये एनसेलले पनि एउटा मात्रै मापदण्ड पूरा गरेको छ । तर, अन्य मापदण्डमा भने टेलिकमको भन्दा उत्कृष्ट देखिन्छ ।
तीन वटा टेलिकममध्ये सबैभन्दा उत्कृष्ट सेवा प्रदान गरेपनि एनसेलको समेत गुणस्तरीय सेवाको न्यूनतम मापदण्ड पुरा नभएको पाइएको हो । तीन वटा कम्पनीमध्ये स्मार्टसेलको गुणस्तर सबैभन्दा कम छ । यस्तै, तीन वटै कम्पनीहरूले ४ मापदण्डमध्ये एक मापदण्ड भने पुरा गरेका छन् ।
प्राधिकरणबाट ग्वार्को, कोटेश्वर, पुरानो सिनामंगल, नयाँ बस्ती, बौद्ध, चाबहिल र गौशाला क्षेत्रमा सेवाको गुणस्तर परीक्षण भएको थियो । यस्तै, सिफल, मैतीदेवी, हाँडीगाउँ, कपन, धुम्बाराही, बरफेदी, भंगाल, हात्तीगौडा, बूढानीलकण्ठ लगायतका क्षेत्रको सडकमार्गमा समेत कम्पनीहरूले प्रदान गर्दै आइरहेको सेवाको गुणस्तर परीक्षण गरेको थियो ।
कुन कम्पनीको अवस्था कस्तो पाइयो त ?
नेपाल दूरसञ्चार
दूरसञ्चार कम्पनीहरूले आफ्ना सेवाग्राहीलाई सेवा दिँदा चार वटा मापदण्ड पुरा गर्नुपर्छ । यीमध्ये नेपाल टेलिकमले जम्मा एउटा मापदण्ड पुरा गरेको पाइएको छ ।
यस्तै, निजी क्षेत्रको लगानीबाट सञ्चालित कम्पनी एनसेलको तुलनामा न्यून गुणस्तर दिइरहेको भेटिएको छ ।
टेलिकमले ‘कल ड्रप रेट’को मापदण्ड मात्रै पुरा गरेको छ । कल ड्रप रेट २ प्रतिशत हुनपर्छ । तर, कल ड्रप रेड शून्य रहेको गुणस्तर मापदण्डबाट भेटिएको छ । यसबाहेक अन्य तीन मापदण्ड भने पुरा भएको छैन । ९९.९९ प्रतिशत हुनुपर्ने कल सेटअप सक्सेस रेटको गुणस्तर ८८.७८ प्रतिशत मात्रै छ । यसअनुसार टेलिकमले यो कल सेटअप सक्सेस रेटको मापदण्डभन्दा ११.२१ प्रतिशतले न्यून छ ।
यस्तै, कल सेटअप टाइम ५ सेकेन्ड हुनुपर्छ । तर, टेलिकमले दिने सेवामा कल सेटअप टाइम ६.९७ सेकेन्ड छ । यसका साथै, २ प्रतिशत हुनुपर्ने कल ब्लक रेटको दर ११.२१ प्रतिशत छ । समग्रमा हेर्दा नेपाल टेलिकमले दिने सेवा मापदण्डअनुसार नभएको पुष्टी गर्छ ।
एनसेल
मलेसियन लगानीमा सञ्चालन भइरहेको एनसेलको सेवा भने सरकारी स्वामित्वको नेपाल टेलिकम भन्दा केही गुणस्तरीय भेटिएको छ । सेवा प्रवाह गर्दा पुरा गर्नुपर्ने ४ मध्ये एनसेलले पनि एउटा मात्रै मापदण्ड पुरा गरेको छ । तर, अन्य मापदण्डमा भने टेलिकमको भन्दा उत्कृष्ट देखिन्छ ।
९९.९९ प्रतिशत हुनुपर्ने कल सेटअप सक्सेस रेट ९३.६९ प्रतिशत छ । यो आवश्यक मापदण्डभन्दा जम्माजम्मी ७ प्रतिशतमात्रै कम हो । यस्तै, ५ सेकेन्ड हुनुपर्ने कल सेटअप टाइम ५.१८ सेकेन्ड छ । एनसेलले दिँदै आएको सेवामा यो मापदण्डभन्दा जम्मा ०.१८ सेकेन्डले न्यून हो ।
२ प्रतिशत हुनुपर्ने कल ब्लक रेट ६.३ प्रतिशत रहेको अध्ययनले देखाएको छ । यस्तै, २ प्रतिशत हुनुपर्ने कल ड्रप रेट भने शून्य छ । यो मापदण्डचाँही पुरा भएको देखिन्छ भने अन्य मापदण्डको आसपास रहेपनि मापदण्ड पुरा भएको छैन ।
स्मार्टसेल
सञ्चालनमा रहेर पनि प्रक्रियाअनुसार सरकारलाई बक्यौता नबुझाइरहेको स्मार्टसेलको सेवा भने सबैभन्दा झुर भेटिएको छ । प्राधिकरणले गरेको उपत्यकाको परीक्षणमा सञ्चालनमा रहेका तीनवटामध्ये स्मार्टको सेवा सबैभन्दा झुर पाइएको हो । यद्यपि, यो कम्पनीले पनि कल ड्रप टाइमको मापदण्ड पुरा गरेको छ ।
९९.९९ प्रतिशत हुनुपर्ने कल सेटअप सक्सेस रेट जम्मा २६.३९ प्रतिशत छ । यो आवश्यक मापदण्डको ५० प्रतिशतभन्दा पनि कम हो । यस्तै, ५ सेकेन्ड हुनुपर्ने कल सेटअप टाइम ११.९३ सेकेन्ड छ । यो पनि सबैभन्दा खराब सेवा हो । यसका साथै, २ प्रतिशत हुनुपर्ने कल ब्लक रेट ७३.६ प्रतिशत छ ।
प्राधिकरणको अध्ययन प्रतिवेदनअनुसार वर्षौदेखि बक्यौता नतिर्ने स्मार्टसेलको सेवा सबैभन्दा खराब पाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुनै पनि उडान प्रभावित नपार्न पाइलटहरुलाई निगमको अनुरोध
-
१० बजे १० समाचार : रवि लामिछाने अझै दुई साता हिरासतमै रहनेदेखि बालेनको पत्र बुझ्न एमालेको अस्वीकारसम्म
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ
-
रूखले च्यापिएर एकको मृत्यु, दुई जना गम्भीर घाइते
-
जनकपुरधाममा विवाहपञ्चमीको तयारी सुरु
-
सवारी दुर्घटनामा दम्पतीको मृत्यु