मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : नेम्वाङको अपराजित यात्रामा ब्रेक, पौडेलको सपनाले पायो सार्थकता

बिहीबार, २५ फागुन २०७९, २२ : ३५
बिहीबार, २५ फागुन २०७९

आज मिति २०७९ फागुन महिनाको २५ गते बिहीबार । आज दिनभर राष्ट्रपति निर्वाचनको विषयले प्राथमिकता पायो । साथसाथै नेपाली क्रिकेट टोलीले पाएको सफलताको विषयले पनि महत्व पायो । यी विषयसहित आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।

 कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । आगामी कार्यकालका लागि बिहीबार राष्ट्रपतिको निर्वाचन भएको हो।

यसैबीच संसदीय निर्वाचनमा अपराजित एमालेका नेता सुवास नेम्वाङ राष्ट्रपति निर्वाचनमा भने पराजित बने ।  इलाममा २०५१ सालदेखि लगातार चुनाव जितेर सांसद भएका उनी त्यसअघि  २०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको अध्यक्ष भएका थिए । संसदीय चुनावमा मात्रै नभएर पार्टीभित्र हुने प्रतिस्पर्धामा समेत उनी हारेका थिएनन् ।

नेम्वाङले राष्ट्रपति निर्वाचनको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको बताएका छन् । निर्वाचनमा नेपौडेल विजयी भएपछि उनले लोकतन्त्रमा विश्वास गर्नेले प्रतिस्पर्धामा विश्वास गर्नुपर्ने धारणा व्यक्त गरे ।

यसैगरी मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित पूर्वसभामुख पौडेलको बोहोराटारस्थित निवासमा बधाई तथा शुभकामना दिनेहरूको भीड लागेको छ । राष्ट्रपति पौडेललाई बधाई दिन उल्लेख्य सङ्ख्यामा आफन्त, नेता कार्यकर्ता एवं शुभेच्छुकहरूको भीड लागेको हो ।

राष्ट्रपति निर्वाचनबारे थप समाचार

राष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोगले शुक्रबार प्रतिवेदन पेश गर्ने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले बिहीबारको निर्वाचनको परिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा निर्वाचित पौडेललाई बधाई दिएका छन् । निर्वाचनको मतगणनाअनुसार पौडेल निर्वाचित भएलगत्तै सामाजिक सञ्जालमार्फत देउवाले बधाई दिएका हुन् । पाडेल कांग्रेसका वरिष्ठ नेता समेत हुन् ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको रूपमा पौडेलको कार्यकाल अद्वितीय र अनुकरणीय रहने प्रचण्डको विश्वास लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नवनिर्वाचित राष्ट्रपति पौडेल  सिंगो देशको अभिभावक बन्न विश्वास व्यक्त गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपतिले राष्ट्रहित विपरीतका काम गर्नु नहुने बताएका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसीयालीमा उनको गृह जिल्ला तनहुँको दमौलीमा दीप प्रज्वलन गरिएको छ । व्यास नगरपालिका–३ अनसन चौतारीमा बिहीबार साँझ दीप प्रज्वलन गरिएको हो ।

यसैबीच नेकपा मसालले राष्ट्रपतिमा पौडेल विजयी भएकोमा बधाई दिएको छ । मसालले विज्ञप्तिमार्फत राष्ट्रपतिको चुनावमा उनको विजय सामान्य विषय मात्रै नभएर प्रतिगमनका विरुद्धको सङ्घर्षमा निर्णयात्मक विजय पनि भएको जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार बिस्तार हुने बताएका छन् । बिहीबार राष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

जनता समाजवादी पार्टी नेपालले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेस अवसरवादी पार्टी नभएको बताएका छन् । राष्ट्रपति निर्वाचनपछि संसद भवनमा सञ्चारकर्मीसँग उनले ८ दलीय गठबन्धन अगाडि बढ्ने बताए ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ८ दलीय गठबन्धनबाट स्थिर सरकार बनाउने बताएका छन् । राष्ट्रपति निर्वाचनपछि संसद भवनमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले ८ दलीय गठबन्धन पाँच वर्ष जाने बताए ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली काँग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न नसकिने बताएका छन् । बिहीबार राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्ने भनाइले सार्थकता पाउन सक्ने बताए ।

नेपाल सरकारले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक आज प्रतिनिधि सभामा दर्ता गर्ने भएको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई हराएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो ।

दीपा शाहीको ह्याट्रिक र गरिमा राईको दुई गोलको सहयोगमा बुधवार नेपाली यु–२० महिला टोलीले घरेलु टोली प्यालेस्टाइनलाई ६–० गोल अन्तरले पराजित गर्दै एसियन कप छनोट खेलमा सानदार सुरुवात गरेको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचकमा भारी वृद्धि भएको छ । यस दिन नेप्से सूचक ५० अंकमाथिले बढ्दै २ हजार अंकको विन्दुमा उक्लिएको हो ।

काठमाडौँबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको विमानमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलायन्सको विमानको दाहिने इञ्जिनमा आगलागी भएको हो ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विरुद्धको रिट हेर्न नभ्याइने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा प्रारम्भिक सुनुवाइका लागी पेशी राखिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा लगाउन आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले कोभिड–१९ को जोखिम रहेकाले बुस्टर डोज लगाउन आग्रह गरेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप