सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुई वर्ष अघि दुर्घटनामा परेका बस्नेत अझै क्षतिपूर्ति र उपचार खर्चको पर्खाइमा

बिहीबार, २५ फागुन २०७९, १९ : १६
बिहीबार, २५ फागुन २०७९

विराटनगर । दुर्घटनामा परी कम्मरदेखि मुनिको भाग नचल्ने ५० वर्षीय माधव बस्नेतले क्षतिपूर्ति रकम दिलाइदिन र थप उपचारका लागि सहयोगको याचना गरेका छन् । विराटनगर– ६ मा डेरा गरी बस्दै आएका उनले बिहीबार विराटनगरमै पत्रकार सम्मेलनमार्फत यस्तो याचना गरेका हुन् ।

दुई वर्ष अगाडि सिराहाको लहानमा सवारी दुर्घटनामा घाइते भएका बस्नेत अझै पूर्ण रुपमा निको भइसकेका छैनन् । आफूसँग अहिले थप उपचार गर्ने पैसा नभएपछि सहयोगको याचना गरिरहेको उनको भनाइ छ ।

काठमाडौँबाट मोटरसाइकलमा विराटनगर फर्कँदै गर्दा बस्नेत २०७७ पुस १ गते साँझ सिराहाको लहानमा दुर्घटनामा परेका थिए । अनियन्त्रित हिसाबमा विपरीत दिशाबाट आइरहेको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिएपछि उनी यो अवस्थामा पुगे ।

उनी क्यान्सरका बिरामी थिए । २०७५ कात्तिकमा कलेजोको क्यान्सरको शल्यक्रिया गरियो । त्यसको फलोअपका लागि काठमाडौँस्थित टिचिङ अस्पताल पुगेर फर्किदा उनी दुर्घटनामा परे ।

‘भयानक दुर्घटनामा परे पनि बाँच्न त बाँचे । तर जिउँदो भए पनि मरेसरह छु,’ बस्नेतले भने, ‘ओछ्यानाबाट ओर्लन सक्दिनँ । खानपिनदेखि दिसापिसाब पनि ओछ्यानमै हुन्छ ।’

पारिवारिक आर्थिक अवस्था कमजोर भएको र दुर्घटना गराउने पक्षले पनि उपचारमा चासो नदिएपछि समस्या दिन प्रतिदिन बढ्दै गइरहेको उनले बताए ।

ट्याक्टर सिराहाको गोलबजार नगरपालिका–११ का २६ वर्षीय शत्रुधन सदाले चलाएका थिए । सदाले मापसे (मादक पदार्थ सेवन) गरेर ट्याक्टर चलाएको अनुसन्धानबाट खुलेको छ । सवारी चालक अनुमति पत्र (लाइसेन्स)समेत नभएका उनले कल्याणपुर–१२ का राम एकवाल महतोको ट्याक्टर चलाएका थिए । दुर्घटनाका बेला महतो पनि सोही ट्याक्टरमा थिए ।

दुर्घटनापछि बस्नेतले प्रभावकारी उपचार पाउन सकेनन् । ‘मैले उपचार पाउन सकिनँ । दुर्घटना गराउने पक्षबाट पटकपटक गरेर २ लाख १५ हजार रुपैयाँ पाएँ । त्यसपछि उनीहरु सम्पर्कमै आउन चाहेनन्,’ उनले भने, ‘उपचारमा २६ लाख खर्च भइसकेको छ, पछि तिरिदिन्छन् होला भन्ने आशले ऋण खोजेर उपचार गरिरहेको थिएँ । उपचार बापतको ऋण तिर्न नसक्दा पीडामाथि अर्को तनाव थपिएको छ ।’

डाक्टरले अझै उपचारका लागि १० लाख रूपैयाँभन्दा बढी लाग्छ भनेको उनले सुनाए । जिल्ला प्रशासन कार्यालय सिराहाले क्षतिपूर्ति बापत १२ लाख रुपैयाँ पीडकबाट भराउने आदेश दिए पनि हालसम्म आफूले नपाएको उनले बताए ।

जिल्ला अदालत सिराहाका न्यायाधीश पुष्पराज थपलियाको इजलासले २०७८ पुस २६ गते ट्याक्टर चालकलाई चार वर्ष कैद र ट्याक्टर धनीलाई आधा सजायको फैसला सुनाइसकेको छ । चालकलाई २५ हजार रुपैयाँ जरिवाना र धनीलाई १२ हजार ५ सय जरिवानाको फैसला अदालतले गरेको छ ।

‘दुर्घटना गराउनेलाई कानुनी कारबाही त भयो । तर मैले उपचार पाउन सकिनँ,’ उनले भने, ‘न त क्षतिपूर्ति चित्तबुझ्दो भयो । ट्याक्टर धनी सम्पर्कमा आएनन्, प्रशासनले पूरै बेवास्ता गरिदियो ।’

बस्नेतले सिराहाका तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई ८ लाख रुपैयाँ खर्चको बिल पेस गरेका थिए । पछि उपचारमा थप १२ लाख खर्च भएको उनले सुनाए । उपचारमा लागेको खर्च र क्षतिपूर्ति माग गर्दा प्रजिअले धरौटीमा राखेको ६ लाख रुपैयाँभन्दा बढी भराउन नसक्ने बताएको उनको भनाइ छ ।

२ महिना अस्पताल बसेर उपचार गराएका उनको कम्मरदेखि मुनिको भाग चल्दैन । दाहिने हातको औंला पनि चल्दैन । ‘छिन्न लागेको दाहिने खुट्टालाई अड्याउन सिलाई गरिएको थियो । डेढ वर्षसम्ममा त वैशाखी टेकेर हिँड्न सक्नुपर्ने हो,’ बस्नेतले भने, ‘तर उपचारका लागि खर्च अभाव भयो । सोचेजस्तो उपचार नपाउँदा ओछ्यानमै जिन्दगी सकिन्छ कि जस्तो भएको छ ।’

१५ लाखको बिल बुझाएपछि प्रशासनमा भएको अनौपचारिक छलफलमा ट्याक्टर धनीले तिर्ने भने पनि अहिलेसम्म आलटाल गरिरहेको गुनासो उनले गरे ।

उपचार र क्षतिपूर्तिको विषयमा अदालतबाट पनि असहयोग भएको गुनासो उनको छ । विराटनगरमा डेरा बसेका उनले मासिक १० हजार भाडा तिर्छन् । उनकी श्रीमती किराना पसल चलाउँछिन् । श्रीमानको उपचार, स्याहार, सुसार र हेरचाहमा उनी खटिन्छिन् । पसलको आम्दानीले घरको भाडा तिर्न पनि गाह्रो परेको उनले सुनाए ।

बस्नेतका छोरा र छोरी छन् । प्लस टु सकिसकेका छोरा र कक्षा ८ मा पढ्दै गरेकी छोरीलाई पढाउनसमेत समस्या भइरहेको उनको गुनासो छ । ‘उपचार नपाएर म थलिएको छु । छोरालाई पढाउन पनि सकिनँ ।  विदेश पठाउन पनि पैसा नै चाहिन्छ,’ बस्नेतले भने, ‘छोरा र छोरीसहित मेरो हेरचाह र स्याहार गर्दै श्रीमतीले घर व्यवहार धान्नुपर्ने अवस्था छ । हामी साह्रै ठूलो पीडामा छौं । भगवानले पनि सजाय दिएका होलान् जस्तो लाग्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप