राष्ट्रपतिको निर्वाचन तयारी पूरा : मतपत्रमा दुवै उम्मेदवारको तस्बिर हुने

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको जनाएको छ । भोलि बिहिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा निर्वाचनका लागि मतदान केन्द्र तयार पारिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । बिहिबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदान कार्यक्रम रहेको छ । संसद भवनको ल्होत्से हलमा २ वटा मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्रमा संघका सांसदहरुले मतदान गर्नेछन् भने अर्को मतदान केन्द्रमा प्रदेश तर्फका सांसदले मतदान गर्नेछन् । राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेश तर्फका ८ सय ४२ सांसदले मतदान गर्नेछन् । आयोगले निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र बानेश्वर पठाइसकेको छ ।
मतपत्रमा उम्मेदवारको नाम र फोटो हुने तर निर्वाचन चिन्ह नहुने पौडेलले बताए । उनले भने– ‘मतपत्र छपाई गरेर आयोगले निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा पठाइसकेको छ । मतपत्रमा सम्बन्धित उम्मेदवारको नाम र तस्विर रहेको हुन्छ । मतपत्रको कोठाभित्र स्वस्तिक छाप लगाएर मत संकेत गर्नुपर्ने हुन्छ ।’
मतदाताले मतपत्रमा स्वस्तिक छाप लगाएर मतदान गर्नुपर्नेछ । मतपत्रमा ठीक चिन्ह लगाएमा मतपत्र बदर हुने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।
मतदान सम्पन्न भएपछि भोलि नै ४ बजेदेखि मतगणना सुरु गरेर साँझ ७ बजेसम्म परिणाम घोषणा गर्ने तयारी गरेको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । निर्वाचन आचार संहिताका कारण गए रातिदेखि चुनाव प्रचार प्रसारको गर्न रोक लागेको छ । मतदानका बेला मतदाताका रुपमा रहेका संघीय र प्रदेश सांसदले मतदानस्थलमा मोबाइल फोन प्रयोग गर्न नपाउने उनले बताए । निर्वाचनमा एक मतदान केन्द्रमा ७ जना कर्मचारी खटिनेछन् भने पर्याप्त मात्रामा सुरक्षाकर्मी खटिने उनले बताए ।
राष्ट्रपतिको निर्वाचनका लागि सत्ता गठबन्धन ८ दलको समर्थन र सहयोगमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् भने उनका प्रतिस्पर्धीका रुपमा एमालेको तर्फबाट पार्टीका उपाध्यक्ष समेत रहेका सुवास नेम्वाङ उम्मेदवार रहेका छन् । निर्वाचनमा आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरिसकेको र अब मतदानको समयको प्रतिक्षामा रहेको आयोगले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त