भवितव्य र हिंसाबाट उठेकी सुनिता : अनाथ बालबालिकाको स्याहारदेखि समाजको नेतृत्वसम्म
धनगढी । बेलौरी नगरपालिका–७ पौलाहा, कञ्चनपुरकी ३३ वर्षीय सुनिता चौधरी (सानु) आफ्नो जीवनमा आएको उतारचढाव स्मरण गर्दा क्षणभरमै भावुक हुन्छिन् । पहिलो पतिको देहान्तपछि काखे छोराको पालनपोषणको पूर्ण जिम्मेवारीसँगै पति वियोगको पीडा र दोस्रो विवाहपछि झेलेको घरेलु हिंसालाई स्मरण गर्दा उनको आँखा रसाउँछन् ।
तर जीवन नै संघर्ष हो भन्ने यथार्थ बुझेकी सुनिता कुनै पनि चुनौतीसँग झुक्दिनन् । परिवार, समाजको मन जित्दै क्रमिक रुपमा सफलता हासिल गर्दै गएकी छन् उनी । आफ्ना २ बच्चासहित अहिले उनी ११ बच्चाको आमाको भूमिकामा छिन् । २०७० सालदेखि परिवार बालगृह सञ्चालन गर्दै आएकी उनी आफ्ना २ सन्तान र ९ जना अनाथ बालबालिकालाई आमाको माया र ममता दिएर हुर्काइरहेकी छन् । हालसम्म ६ जना बालबालिकालाई उनीहरुकै परिवारसँग पुनर्मिलन गराइसकेकी उनी २ महिना यता जुम्ल्याहा बच्चा समेत हुर्काइरहेकी छन् । र त, भवितव्य र हिंसाबाट विक्षिप्त बनेकी उनै सुनिता आज समाजमा ‘रोल मोडल’ छिन् ।
२०७० सालदेखि परिवार बालगृह सञ्चालन गरेकी उनी उच्च मनोबलका साथ अनाथ बालबालिकाहरुलाई माया र ममता दिएर हुर्काइरहेकी छन् । ‘जब मेरो ४ महिनाको छोरा थियो । तब पहिलो श्रीमानको मृत्यु भयो । म विधुवा भए । म सोच्थेँ– म हुँदा त मेरो छोरोको यो अवस्था छ । जुन बालबालिकाको कोही पनि हुन्न, उनीहरुको के हालत हुन्छ ?’
पछि यही सोचले बालगृह सञ्चालनसम्मको यात्रामा आफूलाई डोर्याएको उनी बताउँछिन् । सुनिताको माइती घर राप्ती सोनारी गाउँपालिका–३, बाँके हो । उनको पहिलो विवाह मानपुर, दाङका कालुराम थारुसँग १३ वर्षको उमेरमा भयो । साँस्कृतिक कार्यक्रममा रुची राख्ने उनीहरुको साँस्कृतिक कार्यक्रमकै बिच प्रेम सम्बन्ध बढेको थियो । अन्ततः उनीहरुको प्रेम सम्बन्ध कलिलै उमेरमा भए पनि विवाह बन्धनमा परिणत भयो ।
सुरुवाती दिन साह्रै रमाइला थिए उनीहरुको । ४ महिनाको छोरा पेटमा हुर्किरहेको थियो । साँस्कृतिक कार्यक्रम भनेपछि हुरुक्कै हुने उनीहरु कार्यक्रममै रमाइरहेका थिए । दैवको लीला भनौँ कि संयोग ! कालुराम नाच्दा नाच्दै अचानक ढले । हृदयघातका कारण ढलेका कालुराम कहिल्यै नउठ्ने गरी ढलेछन् ।
अनि सुरु भयो सुनिताको कहालीलाग्दा दिनहरु । उता छोराको जन्म भयो । छोराको आगमनले खुसीयाली मनाउनुपर्नेमा उनी पतिको वियोग र अभावमा विक्षिप्त बनिन् । उसो त उनको ससुरालीमा अपुग केही थिएन । परिवारजनको राम्रो व्यवहार भए पनि उनी श्रीमानको अनुपस्थितिले बरालिन थालिन् ।
‘सासु, ससुरा, जेठाजु, जेठानीले मलाई छोरी झै माया गर्थे । कहिले काहीँ त भन्ने गर्थे– राम्रो केटा खोजेर यहाँबाटै विवाह गरिदिन्छौँ’, उनले विगत सुनाइन्, ‘तर मैले विवाहबारे सोचिनँ । छोराकै मुख हेरेर बसेँ ।’
दिन बित्दै जाँदा पश्चिम नेपालकी थारु चेली छोरासहित पूर्वी नेपालको काँकडभिट्टा पुगिन् । नोट पोइन्ट बोर्डिङ स्कूलको होस्टेलमा काम गर्न गएकी उनी छोरासँगै त्यसै स्कूलमा कक्षा ७ कक्षामा भर्ना भइन् । २ वर्षपछि पुनः उनी फर्किइन् गृह जिल्ला । तर उनी न माइती घर बसिन्, नत ससुराली घर । बर्दियाको बाँसगढीमा उनी साथीको घरमा बस्न थालिन् । त्यहाँबाट एसएलसी र प्रवीणता प्रमाणपत्र तहको अध्ययन पनि पूरा गरिन् । सँगै जीविकोपार्जनका लागि नेटवर्कि· व्यवसाय थालिन् ।
उनले नेटवर्किङ व्यवसायमा राम्रो व्यावसायिक सफलता हासिल गरिन् । व्यवसायको क्रममा उनी बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरसम्म पुग्न थालिन् ।
कञ्चनपुर उनको मामा घर पनि हो । त्यसैले कञ्चनपुरमा नेटवर्किङ व्यवसायमा आफूलाई निकै सफलता हासिल भएको सुनिता बताउँछिन् । यसैबीच कञ्चनपुरको बेलौरी गाउँपालिका–७, पौलाहाका आफ्नै ठूली आमाको छोरा दिलेन्द्र चौधरीसँग उनको भेट भयो ।
सुनिताको कार्यशैली, काममा निपूर्णताले गर्दा दिलेन्द्र निकै प्रभावित थिए । विधुवा महिला, त्यो पनि एक छोराको आमा । तर पनि दिलेन्द्रले एकाएक विवाहको प्रस्ताव राखे उनलाई । सुरुमा प्रस्तावप्रति पत्यार लागेन उनलाई । तर उनको अवस्था दिलेन्द्रले सहर्ष स्वीकार गर्दै आगामी दिन सँगै संघर्ष गर्ने बाचापछि सुनिता राजी भइन् । तर दिलेन्द्रका परिवारजनले स्वीकारेनन् ।
‘हाम्रो सम्बन्धलाई परिवारले स्वीकार गरेनन् । उहाँले घरमा मलाई लिएर जाँदा परिवारजनले भौतिक र मानसिक यातना समेत दिए’, उनले भनिन्, ‘तर हामीले कुनै किसिमले प्रतिकार गरेनाँै । विश्वासकै भरमा श्रीमान र श्रीमतीको रुपमा सँगै बस्न थाल्यौँ ।’
भनिन्छ, मानवको मुस्कान, उसको स्वाभावले निर्जीवको पनि मन पग्लिन्छ रे । मान्छेमा प्रभाव नपार्ने त कुरै भएन । उनको त्यही गुणले गर्दा परिवारको सबैभन्दा प्यारी छिन् । उनी भन्छिन्, ‘आजभोलि मेरो परिवार म बिना अधुरो रहन्छ । सबैले मलाई माया गर्नुहुन्छ । म पनि उत्तिकै ध्यान दिन्छु ।’
श्रीमानकै सहकार्य र काठमाडौंमा रहेको न्यू बिगेनिङ चिल्डे«न होमका सञ्चालक बबि अधिकारीको सहयोगमा उनले धनगढीमा बालगृह सञ्चालन गरेकी हुन् । बालगृहमा रहेका बालबालिकाहरुलाई धनगढीस्थित एक्सिस विद्या आश्रम इंग्लिस बोर्डिङ स्कूल र नाष्ट कलेजमा अध्ययन गराउँदै आएका छन् ।
उनका पति दिलेन्द्र पनि उत्तिकै सामाजिक कार्यमा तल्लीन छन् । दिलेन्द्र र सुनिताको मजबुत र प्रगाढ सहयात्राको छाँहरीमुनि सो बालगृह फक्रिदै गएको छ ।
श्रीमानलाई ‘दिलु’को उपनाम दिदै आएकी सुनिता भन्छिन्–‘जिन्दगीमा नाता अनि सम्बन्ध त धेरै नै हुने गर्छन् तर महत्त्वपूर्ण त त्यो हुन्छ, जुन आजीवन अनि हरपल एउटा साथी बनेर साथ निभाइरहेको हुन्छ । त्यस्तैल दिलुलाई सदैव सम्मान गरिरहन पाउँ ।’
सामाजिक क्षेत्रमा अग्रसरता
अध्ययनप्रति औधी रुची राख्ने सुनिता सामाजिक कार्यमा पनि उत्तिकै अग्रसर छिन् । उनले सामाजिक संघ संस्थाको नेतृत्व समेत गर्दै आएकी छन् । उनी थारु कल्याणकारिणी सभा कञ्चनपुरकी सभापति र नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद कञ्चनपुरका कोषाध्यक्ष पनि हुन् ।
जन्मिनु ठूलो कुरा नभएको बताउने उनी जीवनको सार्थकता त्यतिबेला पाउने बताउँछिन् जतिबेला समाजले त्यो व्यक्तिबाट परिवर्तनको आभाष गर्छ । फलतः उनी समाजमा उदाहरणीय पनि छिन् । यसैबीच उनलाई बुधबार ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा धनगढी महिला जेसिसले सम्मान समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल