आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस

नारी दिवसको औचित्य

बुधबार, २४ फागुन २०७९, १० : ३०
बुधबार, २४ फागुन २०७९

अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ तारिख तदनुरूप यस वर्षको फागुन २४ गते संसारभर मनाइँदै छ । सदाझैँ यस पटक इम्ब्रन्स इक्विटी अर्थात् समतालाई अपनाऔँ  भन्ने विषयलाई केन्द्र बनाई नेपाललगायत विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । यस वर्षको नाराको अर्थ बुझ्न सकियो भने अन्य वर्षहरूको भन्दा केही फरक र मननीय रहेको पाइन्छ किनकि हाल संसारभर महिलालाई सशक्तीकरण गराउने अभियानका लागि महिलालाई समान अवसर होइन कि समताको अवसर दिनुपर्छ वा संसारभर समतालाई सबैले अँगाल्नुपर्छ भन्ने यसको अर्थ हो भन्ने बुझिन्छ । यसैगरी यस वर्षको लागि अन्तर्राष्ट्रिय रूपमा यस्तो भनाइ सबै देशले अघि सार्नुपर्ने अन्तर्राष्ट्रिय महिला दिवसको थिम रहेको छ–"Equal opportunities are no longer enough" - and can in fact be exclusionary, rather than inclusive."  अर्थात् समान अवसरहरू मात्र अब पर्याप्त छैनन् र वास्तवमा समावेशी भन्दै गर्दा कतै बहिष्करण भएको पनि हुनसक्छ । 

यसको अर्थ महिलालाई हरेक कुरामा समान अवसरे कहीँकतै पर्याप्त दिइएको पाइँदैन बरु समावेशी भन्ने नीति अँगाल्ने काम गरिएको भए पनि कतै महिलाहरू उल्टै बहिष्करणमा त परेका छैनन् भन्ने बुझ्न सकिन्छ । आधा संसार ढाक्ने महिलाहरू र महिलाका उपलब्धिहरूलाई कम आकलन गर्न नहुने र समानताका साथ बाँच्नका लागि संसारभरका महिलाहरूलाई सुरुमा समताको अवसर दिने र पछि मात्र समानताकोे स्थानमा पु¥याउन सकिन्छ ।

यो प्रसङ्गलाई राम्ररी मनन गर्ने हो भने समता  र समानता  भनेको के हो भन्ने बारेमा पनि बुझ्न जरुरी छ । समानता त्यस्तो शब्द हो, जसको अर्थ सबैलाई बराबरी अर्थात् सानो ठूलो, होचो अग्लो केही नभनी सबैलाई बराबर वितरण गर्नु हो भन्ने बुझिन्छ । तर समता त्यस्तो शब्द हो, जसको अर्थ सबैलाई न्यायोचित व्यवहार गर्नु वा जसलाई जे आवश्यक छ त्यो दिनु र कसैलाई आवश्यक नभए दिइरहन पनि नपर्नु भन्ने अर्थ लाग्छ । 

महिला–पुरुषको हक अधिकार र जिम्मेवारीका कुरा गर्दा महिला पुरुष दुवैलाई बराबरी व्यवहार गर्नु वा बराबरी जिम्मेवारी दिनु भन्ने बुझ्नु समानता हो । त्यसैगरी समता भनेको पुरुषलाई आवश्यकता नपर्ने कुरा नदिई महिलालाई बढी आवश्यक जे छ त्यो दिनु र पुरुषको तुलनामा महिलालाई बढी नै दिनुपर्ने भए पनि दिएर न्यायोचित तरिकाले वितरण गरी पुरुषको समान बनाउनु समता हो । समानताले सानो र ठूलो मान्छेलाई खाना बराबर भाग दिनुपर्छ भन्छ तर समताले दुवैलाई अघाउन्जेल खाना दिने तर बराबर दिनु जरुरी छैन किनकि ठूलोलाई र सानो मान्छेलाई बराबर भाग नलगाई सानालाई सानो भाग र ठूलालाई ठूलो भाग लगाउनुपर्छ भनेर न्यायोचित कुरा गर्छ । यसरी दुवैजनाले बराबर रूपमा अघाउन्जेल त खाए तर ठूलोले धेरै खायो, सानोले थोरै खायो यो न्यायोचित वितरण भयो, यसैलाई समता भनिन्छ ।

माथिको उदाहरण अनुसार महिलालाई पनि समान हक, अधिकार, जिम्मेवार र सक्षम बनाउने हो भने एक कदम अघि बढिसकेका पुरुषलाई कम प्राथमिकता दिई वितरण गर्ने हो । त्यस्तै महिलालाई केही बढी प्राथमिकता दिएर बढी नै वितरण गर्दा समतामूलक तरिकाले न्यायोचित वितरण हुनेभयो । यसरी हालको अवस्थामा महिलालाई बढी प्राथमिकता दिएमा राज्यका सबै संयन्त्रमा, राजनीतिमा, हकअधिकार प्राप्त गर्ने कुरामा पुरुषसरह समान बनाउन सकिन्छ । त्यसकारण यस वर्षको महिला दिवसको मुख्य नारा नै महिला समता रहेको कुरा निकै अर्थपूर्ण रहेको प्रमाणित हुन्छ ।

यसरी प्रत्येक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस मनाउनुको अर्थ महिलालाई सांस्कृतिक, सामाजिक, राजनीतिक, आर्थिक र लैङ्गिक समानता प्राप्त गर्न सफल बनाउनु हो वा त्यस्तो अवस्था कायम गराउनु हो । तर पितृसत्तात्मक परिवार प्रथाका कारण नेपालमा मात्र नभई संसारका धेरै देशमा महिलालाई दोस्रो दर्जाको नागरिक मानिन्छ र महिला अधिकारलाई पछाडि राखिएको छ । त्यसकारण संसारमा नारीवादी आन्दोलनको सुरु भएको हो । यसरी नारीवादी आन्दोलनकोे सुरुवात भएको दिनलाई अर्थात् मार्च ८ तारिखलाई नारी दिवस भनेर मनाउने प्रचलन छ । 

संसारमा नारीवादको इतिहास धेरै लामो छैन । यो १९औँ शताब्दीदेखि मात्र सुरु भएको हो । प्रथम महिला अन्तर्राष्ट्रिय दिवस सन् १९११ देखि मनाउन थालेको पाइन्छ तापनि संयुक्त राष्ट्रसङ्घले सन् १९७५ लाई अन्तर्राष्ट्रिय महिला वर्ष घोषणा गरेको र १९७७ देखि मात्र औपचारिक रूपमा अन्तर्राष्ट्रिय महिला दिवस भनेर मनाउन सुरु गरेको हो । 

नेपालमा महिला समानता र समताका कुरा गर्दा नेपालको संविधान २०७२ लाई पल्टाउनुपर्छ । संविधानमा व्यवस्था गरिएको महिलाका हक अधिकारसम्बन्धी व्यवस्थामा नेपालका राज्य संयन्त्रमा उच्च पद राष्ट्रपतिदेखि पालिकाको प्रमुख पदसम्म महिलाका लागि विशेष व्यवस्था गरेको छ । राजनीति र देशका राज्य सञ्चालनका हरेक तहमा ३३ प्रतिशत कम्तीमा पनि महिलाको प्रतिनिधित्व हुनुपर्ने कुरा व्यवस्था गरिएको छ । यही व्यवस्थाअनुसार भरखरै भएको निर्वाचन प्रणालीको नतिजामा हाल महिलाहरू प्रतिनिधि सभामा ३३ प्रतिशत, प्रदेश सभामा ३४ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत पुगेका छन् । यसरी नेपालमा महिला संलग्नता सन्तोषजनक तरिकाले अघि बढेको भए पनि सोचेअनुसार विभिन्न कार्यकारी पदमा पुग्न नसकेका र पुगिसकेकालाई पनि फरक दृष्टिकोणले हेर्ने प्रचलन छ ।

त्यसकारण राजनीतिक परिवर्तनले मात्र महिलाको समता हुन सक्दैन । यसका लागि सांस्कृतिक र सामाजिक परिवर्तनको महत्त्वपूर्ण भूमिका रहने गर्छ । महिलालाई जतिसुकै प्राथमिकता दिएर अघि बढाए पनि समाज र त्यहाँको संस्कृतिले स्वीकृति दिँदैन भने त्यो केवल देखाउनका लागि मात्र हुने र महिलाहरू सधैँ पछाडि परिरहने सुनिश्चित छ ।

आखिर संसारको आधा आकाश ढाक्ने महिलाहरूलाई संसारमै किन यसरी पछाडि पारियो र पुरुषको तुलनामा महिला पुग्न सकेनन् ? अहिले किन महिला समताका कुराहरू अघि आए भन्ने सन्दर्भमा बुझ्नका लागि नारीवादसम्बन्धी अध्ययन र मननको आवश्यकता छ । अन्तर्राष्ट्रिय नारी दिवसका दिन कम्तीमा नारीवाद के हो, नारीप्रतिको दृष्टिकोण संसारमा केकस्तो छ ? पुरुषप्रधान साम्राज्य किन ? जस्ता कुरा बुझ्नुपर्ने भएकाले यो आलेख तयार गरिएको छ ।

नारीवाद के हो ?
    अङ्ग्रेजी शब्द फेमिनिज्मको नेपाली रूपान्तरण नारीवाद भन्ने हुन्छ । समाजमा चिरकालदेखि प्रचलनमा रहेको लिङ्ग केन्द्रित पुरुष विचारधाराका साथै पितृसत्तात्मक धारणा र व्याख्याप्रति प्रश्नचिह्न खडा गर्दै पुरुषद्वारा निर्धारित नारीको स्थान तथा परम्परागत मूल्य र विरोधका साथै नारीको हक, हित र समानताको पक्षधर मतलाई नारीवाद भनिन्छ ।

पाश्चात्य मुलुकमा नारीमुक्तिको सङ्घर्ष लामै समयदेखि चल्दै आएको भए पनि नारीवादी आन्दोलन र नारीवादी सिर्जनाको प्रयास सन् १९६० देखि मात्र भएको पाइन्छ । पाश्चात्य प्रसिद्ध दार्शनिक एरिस्टोटलले केही गुणको कमीका कारण नारी नारी भएको हो भन्दै नारीको कमजोरी समेत औँल्याएका छन् । सेन्ट् टमस एक्विनसले पनि नारीलाई अपूर्ण मानिस भनी नारीको खोट देखाएका छन् । फ्रायडले समेत नारीमा पाइने शिश्न ईष्र्याको सोचलगायतका शारीरिक बनोटगत अपूर्णताको परिणाम नारी हो भनेका छन् । यसरी संसारमा सबै दार्शनिक, चिन्तक, नेता, वैज्ञानिक, साहित्यकार सबै पुरुष भएका कारण नारीलाई अपमान गर्दै आएको कुरा नारीवादीहरूको आरोप छ । नारीवादीहरू नारीलाई प्रकृतिले ठगेको होइन कि सामाजिक व्यवस्थाले हीन तुल्याएको भनी आरोप लगाउँछन् ।

नारीमुक्ति आन्दोलनको इतिहास
    पश्चिमी मुलुकहरूमा नारीमुक्ति आन्दोलनको सुरुवात अठारौँ शताब्दीमा नै भएको पाइन्छ । सन् १७९२ मा सर्वप्रथम मेरी उलस्टोनक्य्राफ्ट्, सन् १८६९ मा मार्गरेट फुलर, सन् १९२० मा रिबेका बेस्ट् तथा भर्जिनिया उल्फ, सन् १९४९ मा साइमन दी बुभा जस्ता महिला साहित्यकारहरूको योगदानबाट सशक्त बनेको देखिन्छ । 
खासगरी सन् १९७० पछि नारीवादी दृष्टिकोणलाई प्रख्यात महिला साहित्यकारहरूले साहित्यका माध्यमले फरक मोडमा पु¥याएको पाइन्छ । नारीवादी सोचको विकास निम्न तीन चरणहरूमा भएको पाइन्छ ।

नारीजातीय चरण
यो सन् १८४० देखि १८८० को अवधिको चरण हो । यस चरणमा पितृसत्तात्मकताको विरोध नगरी भाले परम्परा र सौन्दर्यशास्त्रको अनुकरण गर्दै घरेलु तथा सामाजिक पृष्ठभूमिमा नारीको चित्रण गरिएको पाइन्छ ।

नारीवादी चरण
सन् १८८० देखि १९२० सम्मको यस चरणमा नारीहरूले पितृसत्तात्मकताको विरोध गरी भाले मूल्यमान्यताको उपेक्षा गरिएको पाइन्छ ।

नारी चरण  
सन् १९२० देखि हालसम्मको यस चरणमा नारीहरूले स्वायत्त नारी परिप्रेक्ष्यको जोडदार वकालत गरेका छन् र आफ्नो पहिचानको खोजी गरेका छन् । साथै पितृसत्तात्मक सोचका कमीकमजोरीको पर्दाफास गरी अन्त्यमा परिवर्तन गर्ने उद्देश्य यस चरणमा राखेको पाइन्छ ।

नारी आन्दोलन किन ?
    आज संसारमा अझै पनि नारीहरूलाई हेर्ने दृष्टिकोणमा खासै सुधार भएको पाइँदैन । संसारका विकसित देशहरूमा समेत नारीहरू दोस्रो दर्जाकै रूपमा रहेका छन् । अर्कोतिर नारीहरूले पनि आफूलाई अब्बल, सक्षम र पुरुषभन्दा के कम भनी प्रतिस्पर्धी बनाउन सकेका छैनन् । संसारका खासगरी मुस्लिम देशहरूमा अझै पनि नारीहरूलाई गरिने व्यवहार, राजनितिक हक, अधिकारको बाँडफाँटजस्ता कुरामा विभेद नै गरेको पाइन्छ । 
हाल तालिबानी सरकारले अफगानिस्तानमा महिलालाई गरेका व्यवहारहरूको त जस्तोसुकै शब्दमा घृणा गरे पनि कमै हुन्छ । महिलाले चुनावमा भोटसम्म हाल्ने अधिकारको लागि लडाइ लड्नु परिरहेको छ । आफू चुनावमा प्रतिस्पर्धी भएर राज्य सञ्चालनमा सहभागी हुने त सपना नै भयो । कतिसम्म भने नारीहरूले सवारी साधन चलाउने लाइसेन्ससमेत नपाइरहेको अवस्थामा भर्खरै साउदी अरबमा त्यो अधिकार दिइएको छ । सिनेमा हेर्ने, खेलकुदहरू हेर्ने, स्वतन्त्र घुमफिर गर्ने अधिकार प्राप्त गर्न पनि आन्दोलन नै गर्नुपर्ने अवस्था छ । महिलाहरूप्रति हेर्ने दृष्टिकोण जबसम्म परिवर्तन हुँदैन, तबसम्म महिलाहरू यसरी नै पीडित भइरहनुपर्ने अवस्था छ । यस्ता खाले दमन, अतिक्रमण र प्रभुवादी सोचलाई परास्त गरी समान हक, अधिकार प्राप्त गरी नारी पनि पुरुष जत्तिकै बराबरी हुन् भन्ने कुरा सामाजिक, सांस्कृतिक, राजनीतिक तथा अन्य विभिन्न क्षेत्रहरूबाट पुष्ट्याइँ गरी समान हक र समान पहुँचका लागि नारी आन्दोलन अझै अपरिहार्य देखिन्छ ।

नेपालमा नारीहरूको अवस्था
नेपालको सन्दर्भमा महिला हक, अधिकार र स्वतन्त्रता प्राप्त गर्न पनि महिलालाई निकै आन्दोलन गर्नुपरेको इतिहास छ । महिलालाई दोस्रो दर्जाका नागरिक मानी घरको चुलो चौकोमा, बच्चाको स्याहारसुसारमा, अनुत्पादनशील कार्यमा, परिवारको सेवा सुषुश्रामा मात्र सीमित राख्ने अवस्थाबाट बिस्तारै मुक्ति पाउन थालेको सङ्केत देखापर्दैछ । यीलगायत महिला भएका कारण गर्भमै भ्रूण नष्ट गर्ने, जन्मेपछि फरक दृष्टिले हेर्ने, किशोरी तथा बाल्यकालमा बलात्कार गर्ने, सानै उमेरमा बिहे गरिदिने, दाइजोका कारण मर्नुपर्ने, वंश परम्परा धान्न बच्चा जन्माउनुपर्ने, श्रीमान छउन्जेल श्रीमानको नियन्त्रणमा रही श्रीमान् मरेपछि छोराको नियन्त्रणमा रहनुपर्ने, प्रजनन समस्याहरू बोकी बाँच्नुपर्ने र उचित उपचार नगर्ने, छाउपडी प्रथा मान्नुपर्ने, बुढेसकालमा बोक्सीको आरोप सहनुपर्ने जस्ता अनगन्ती समस्या नेपालमा पनि छन् । जुन कुरा कोट्याइरहँदा यहाँ स्थान अभाव होला तर यति नेपालमा महिलाले अन्य देशको तुलनामा अलि बढी राजनीतिक अधिकार प्राप्त गरिसकेका छन् । तर यस्तो अधिकार त्यत्तिकै प्राप्त भएको होइन, यसका लागि धेरै लडाइँ, आन्दोलन, अनसन र आत्मदाह गरेर ल्याइएका अधिकार हुन् । नेपालमा हाल महिलालाई हरेक निकायमा आरक्षणको व्यवस्था, संविधानमा राजनीतिक रूपमा ३३ प्रतिशतको अधिकार, दक्षिण एसियामै पहिलो पटक पूर्णरूपले प्रजनन वा गर्भपतनको अधिकारजस्ता निकै महत्त्वपूर्ण प्रगति हासिल गर्न नेपाली नारी सफल भएका छन् । ती अधिकार प्राप्त भएकै कारण आज नेपालको राज्यसत्तामा महिलाको तुलनात्मक रूपमा राम्रो उपस्थिति रहेको छ तर पर्याप्त छैन । नेपालमा नारीले राष्ट्रपतिको पदमा बसी २ कार्यकाल बिताउन सक्नु पनि नेपाली महिलाको कम उपलब्धि हो भन्न मिल्दैन । 
 
अन्त्यमा
महिलाले जन्मनासाथ पुरुष जत्तिकै प्राकृतिक अधिकार पाएका हुन्छन् तर पुरुषप्रधान राज्य भएका कारण महिलालाई दोस्रो दर्जाका नागरिक ठानी कृत्रिम विभेद सुरु हुन्छ र स्वतः मारमा पर्छन् । निकै सहनशील, दयालु, मायालु र विवेकशील महिलाहरू आखिर पुरुषको षड्यन्त्रमा परिहाल्छन् र विभेदका सिकार हुन्छन् । प्रकृतिले महिलालाई पुरुषको दाँजोमा शारीरिक रूपमा केही कमजोर अवश्य बनाएको छ र महिनैपिच्छे हुने शारीरिक समस्या, प्रजननको जिम्मा, स्तनपान गराउनुपर्ने बाध्यता जस्ता कारणले महिलालाई केही पछिपारेको छ । अन्यथा महिलामा पुरुषको जस्तो मानसिक क्षमता, सामाजिक सहभागिता र सिर्जनशीलता आदि अब्बल नै हुनेगर्दछ । शारीरिक संरचनागत समस्याको फाइदा उठाई महिलालाई पुरुषले भेदभाव गर्नु र समान सहभागिता गराउन आनाकानी गर्नु केवल पुरुषको स्वार्थी भावना र पितृसत्तात्मक सोचको मात्र उपज हो । 

अतः महिलाहरू कुनै पनि कुरामा पुरुषभन्दा कमजोर नहुने भएपछि बराबरी हक, अधिकार र दायित्वका लागि किन पुरुषसँग लडिरहनु पर्ने ? पुरुषले ती अधिकार दिए प्राप्त गर्ने र नदिए सङ्घर्ष गर्नुपर्ने अवस्था किन ल्याउने ? संसारमा जब महिला र पुरुष मात्र दुई जाति छन् भने विवेकको आधारमा कोही ठूलो र कोही सानो हुनुपर्दैन । यसो गरिए प्राकृतिक सन्तुलनसमेत हुँदैन । त्यसकारण महिला पुरुष दुवै बराबरी हुन्, लिङ्गकै आधारमा कोही पनि ठूलो र सानो हुने होइन, समताका आधारमा दुवैले समान हक र अधिकार पाउनुपर्छ भन्ने कुरामा सबैले हेक्का राख्नु आवश्यक छ । अझै महिलाले पूर्ण सशक्तीकरण र ५० प्रतिशत पुरुष सरह अधिकार नपाएसम्म आन्दोलनबाट विश्राम लिने अवस्था छैन । अथवा भनौँ विभिन्न क्षेत्र, तह र तप्कामा लैङ्गिक समानता नभएसम्म नारी आन्दोलन पछिहट्नु पनि हुँदैन । यस्तो सोचको विकासका लागि समेत नारी दिवस मनाउनु सान्दर्भिक छ । नारी दिवसको अवसरमा विश्वभरका सबै नारीहरूलाई शुभकामना ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरनाथ पाण्डे
नरनाथ पाण्डे
लेखकबाट थप