आज २०७९ फागुन २३ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
प्रचण्डविरुद्ध मुद्दा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्चमा दायर गरिएको रिट दर्ता भएको छ । मुद्दाको फागुन २५ गतेलाई पेसी तोकिएका सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले रातोपाटीलाई जानकारी दिए । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतले प्रचण्डविरुद्ध रिट हालेका थिए । २०७६ माघ १ मा माघीको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्दकालमा मारिएका ५ हजारको जिम्मा मात्र आफूले लिएर अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेशको माग गरिएको छ ।
मुस्ताङ प्रकरण
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा निर्माण हुन लागेको भनिएको बौद्ध कलेजको विषयमा दिएको सार्वजनिक अभिव्यक्तिले परराष्ट्र नीतिमा प्रश्न उठेको छ। नेपालले छिमेकी राष्ट्रहरू भारत र चीनलाई हेर्ने दृष्टिकोणमा समानताको नीति लिइरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहिसकेका ओलीले छिमेकी राष्ट्रसँगको सम्बन्धका बारेमा पछिल्लो टिप्पणी गरेका हुन् ।
रवि लामिछानेको फैसलाको पूर्णपाठ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाबारे सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । लामिछानेको नागरिकताका विषयमा लामिछानेलाई विपक्षी बनाउँदै रविराज बसौला र युवराज सफलसहितले मुद्दा दायर गरेका थिए ।
महामूर्ख र पटमूर्ख
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह यस वर्षको ‘महामूर्ख’ घोषित भएका छन् । प्रत्येक वर्षझैँ यस वर्ष पनि होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा मेयर साहलाई वर्षकै ‘महामूर्ख’ घोषित गरिएको हो ।
सुस्त हुँदैछ जग्गा वर्गीकरण
सरकारले ‘भू–उपयोग नियमावली, २०७९’ ल्याएर भूमिलाई कृषि र गैरकृषिमा छुट्याउने भने पनि कार्यान्वयनमा समस्या देखिएको छ । नियमावली आएको लगभग एक वर्ष बितिसक्दा समेत एक चौथाइ पालिकाले पनि जग्गाको वर्गीकरण गर्न सकेका छैनन् । नापी विभागका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म सातवटै प्रदेशबाट जम्मा १९६ पालिकाले मात्र जग्गाको वर्गीकरण गरेका छन् ।
माइक्रोबायोलोजीका विद्यार्थीहरूको प्रश्न
माइक्रोबायोलोजी पढेका विद्यार्थीहरूलाई राज्यले लाइसेन्स नदिँदा समस्यामा परेका छन् । देशभरका विभिन्न कलेजहरूमा बीएस्सी र एमएस्सी माईक्रोबायोलोजी पढेका ४ हजार भन्दा बढी विद्यार्थीलाई राज्यले लाइसेन्स दिन सकेको छैन । यसले उनीहरु सरकारी सेवाबाट वञ्चित भएका छन् । राज्यबाट लाइसेन्ससमेत नपाएपछि उनीहरूलाई विदेश पलायन हुने बाध्यता छ । देशको दक्ष जनशक्तिलाई राज्य नै विदेशतिर लखेटिरहेको देखिन्छ ।
कोशी प्रदेशका बहुवर्षे आयोजना
चतराबाट २५ किलोमिटर भित्र गएपछि सुनकोशी नदीमा ९० मिटरको पुल निर्माणाधीन छ । तर, ठेक्का लिएको ३ वर्ष हुन लाग्दा पनि प्रगति न्यून छ । त्यो पुल सक्ने बित्तिकै एडीबीको आरसीआइपी प्रोजेक्टमार्फत १५ किलोमिटर बाटो निर्माण गर्ने तयारी थियो । पुल नबनाएकै कारण उक्त सडक निर्माण अन्यौल बनेको छ । अब पनि काममा प्रगति नभए कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माण कम्पनीलाई कारबाही गर्ने बताएको छ ।
सिँचाइमा अर्बौँको लगानी
सरकारले बर्सेनि सिँचाइ पूर्वाधारमा अर्बौँ रुपैयाँ खर्च गर्छ तर, त्यो लगानीको प्रतिफल स्थानीयले नपाउँदा हजारौँ हेक्टर खेतीयोग्य भूमि बाँझो बस्छ । सरकारले महत्त्वाकाङ्क्षी योजना ल्याएर बजेट खर्चिने मेलोमात्रै बनाएको देखिन्छ ।
काठमाडौँ–हेटौँडा जोड्ने सडक
संघीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडालाई जोड्ने सडक आठ वटा छन् तर अधिकांश सडक दुरावस्थामा रहेका कारण यात्रुले तिनको प्रतिफल लिन सकेका छैनन् । हेटौँडा र काठमाडौँसँग नियमित सम्पर्क भने हेटौँडा–नारायणगढ–मुग्लिन–नौबिसे थानकोट र हेटौँडा–दामन–टिष्टुङ–नौबिसे–थानकोट (त्रिभुवन राजपथ) सडकले मात्र गर्ने गर्दछ । यी दुई सडक वर्षभरि सञ्चालनमा रहने गर्दछन् भने अन्य सडक हिउँदमा मात्र सञ्चालन हुन सक्ने अवस्थामा छन् ।
पूर्वबैंकर सिर्जना खड्का पक्राउ
चितवनको नारायणी डेभलपमेन्ट बैंकको पूर्व ब्रान्च मेनेजर सिर्जना खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले जानकारी दिए ।
प्रतिक्रिया