सरकारमा जाने तयारी गरेका उपेन्द्रलाई राजपा नेताहरुले भने, ‘हामी पनि मधेशका ‘स्टेकहोल्डर’ हौँ’
काठमाडौँ । संघीय समिाजवादी फोरम नेपाल सरकारमा जाने गृहकार्य गरिरहेको बेला राष्ट्रिय जनता पार्टी नेपाल सरकारमा नजाने अन्तिम निष्कर्ष निकालेको छ । संविधान संशोधन नभएसम्म सरकारमा नजाने राजपा नेपालका नेताहरुले स्पष्ट पारेका हुन् । यद्यपि सरकारमा जाने नजाने विषयमा सत्ताधारी दलसँग राजपा नेपालको कुनै छलफल भने भएको छैन ।
सरकारको विषय लिएर राजपा नेपाल अध्यक्ष मण्डलको बैठक विगत पाँच दिनदेखि बसिरहेको छ । आफू नजाने भए पनि सरकारमा फोरम नेपालको सहभागिताको विषय लिएर राजपा नेपालले कुनै निर्णय लिन सकिरहेको छैन । फोरम नेपाल सरकारमा सहभागि भए त्यस अनुसारको निर्णय गर्ने भनेर पर्ख र हेरको अवस्थामा रहेको छ ।
यता, फोरम नेपालले पनि सरकारमा जाने कि नजाने विषयमा अझै अन्तिम टुङ्गो लागेको छैन । त्यही भएर राजपा नेपालले फोरम नेपालका अध्यक्ष सहित पदाधिकारीहरुलाई बोलाएर छलफल गरेको छ ।
हिजो साँझ बबरमहलस्थित राजपा नेपालको पार्टी कार्यालयमा भएको छलफलमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र महासचिव रामसहाय यादव सहभागस् थिए । उनीहरुसँग राजपा नेपालका संयोजक महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो, महेन्द्र राय यादव र राजकिहोर यादवले छलफल गरेका हुन् ।
सो छलफलमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सविधान संशोधनको विषयमा स्पष्टता नआएसम्म सरकारमा नजाने कुरा राखेका थिए ।
बैठकबारे जानकारी दिँदै राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले भने, ‘उपेन्द्रजीको कुरा सुन्दा उहाँ सरकारमा जानु हुन्छ जस्तो लागेन । तर आ–आफ्नो पार्टीको निर्णयको कुरा हो उहाँहरु सरकारमा गए पनि हामीलाई कुनै आपत्ति छैन ।’
‘म्याण्डेट’ विपरित नजान चेतावनी
मधेशको विषयमा कुनै पनि सहमति गर्दा आफ्नो पार्टीले त्यसलाई स्वीकार गर्न बाध्य नहुने धारणा बैठकमा राजपा नेपालका नेताहरुले राखेका थिए । सरकारसँग कुनै पनि सहमति गर्दा आफूहरुको पनि संलग्नता हुने पर्ने कुरा राजपा नेपालका नेताहरुले राखेको अध्यक्ष मण्डलका एकजना सदस्यले बताए । राजपा नेपालका नेताहरुले उपेन्द्र यादवलाई भनेको कुरा उद्धृत गर्दै ती नेताले भने, ‘हामी पनि मधेश मुद्दाका स्टेकहोल्डर हौं । तपाईंले मात्र एक्लै सरकारसँग गर्ने सबै सहमति हामीले मान्नैपर्छ भने छैन ।’
चुनावमा मधेशी जनताले दिएको ‘म्याण्डेट’ विपरित कुनै पनि सहमति भए भने त्यसलाई नमान्ने कुरा उपेन्द्र यादवसँग प्रष्ट रुपमा राजपाका नेताहरुले राखेका छन् ।
प्रदेश दुईमा सँगै चुनाव लडेर मधेश सरकार बनाएपछि केन्द्रमा एक्ला एक्लै सहमति गर्दा त्यसले मधेशमा राम्रो सन्देश नजाने पनि राजपा नेपालका नेताहरुले सचेत गराएको बताइएको छ ।
‘फोरम नेपाल सरकारमा जाँदैछ, उता दुई नम्बरमा पनि वामगठबन्धनलाई सरकारमा सहभागि गराउँदैछ भन्ने कुरा सञ्चारमाध्यममा आइरहेका छन्,’ भन्दै ती कुराहरुको बारेमा पनि राजपा नेपालका नेताहरुले उनीसँग जिज्ञासा राखेका थिए ।
सरकारमा जाने सहमति भएको छैन – यादव
त्यसको जवाफमा उपेन्द्र यादवले सञ्चारमाध्यममा आएका सबै कुरा झुठो भएको बताएका थिए । उनले सरकारमा जाने विषयमा हालसम्म कुनै सहमति नभएको राजपा नेपालका नेताहरुलाई बताएका थिए । एमाले र माओवादी केन्द्रले आफूहरुसँग पटक पटक छलफल गरेको तर कुनै सहमति नबनेको उपेन्द्र यादवले कुरा स्पष्ट पारेको राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले रातोपाटीलाई बताए ।
राजपाको आशंका
उपेन्द्र यादवले आफ्नो दल सरकारमा नजाने जति स्पष्टीकरण दिएपनि राजपा नेपालका नेताहरु भने त्यसलाई पत्याउन सकिरहेका छैनन् । हिजो साँझ भएको छलफलमा उपेन्द्र यादवले आर्थिक समृद्धि, विकासको एजेण्डाबाहेक अरु सबै कुरा गौण हो भन्ने कुरा पनि राखे पछि नेताहरु झन् सशंकित बनेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भएको कुरा पनि उपेन्द्र यादवले पटक–पटक दोहोर्याएका थिए । ‘देश निर्माणका लागि अब सँगै काम गर्नुपर्छ । अब विकासको एजेण्डामा काम गर्नुपर्छ,’ भन्ने जस्ता कुरा प्रचण्डले राखेको उपेन्दले बैठकमा सुनाएका थिए ।
यता, बैठकमा सहभागि फोरम नेपालका महासचिव रामसहाय यादवले संविधान संशोधनको विषयमा स्पष्टता नआएसम्म सरकारमा सहभागि हुने कुरा नहुने बताए । उनले राजपा नेपालका नेताहरुलाई पनि यही कुरा स्पष्ट पारेको बताए । सत्ताधारी दलले आफूहरुसँग पटक पटक छलफल गरेपनि कुनै निष्कर्ष ननिस्केको बताउँदै उनले भने, ‘छलफल जारी छ, सहमति नभएसम्म त्यतिकै सरकारमा जाने कुरा हुँदैन ।’
एमाले र माओवादी केन्द्रसँग आज पनि छलफल हुनसक्ने बताउँदै उनले फोरम नेपाललाई सरकारमा जाने हतार नरहेको बताए ।
राजपा र फोरममा मतभेद
संविधान संशोधनको विषमया सैद्धान्तिक सहमति भए फोरम नेपाल सरकारमा जान तयार देखिन्छ । तर, राजपा नेपाल भने ‘लिखित सहमति गरेर मात्र हुँदैन, सविधान संशोधन भए मात्र सरकारमा जाने’ भन्ने मुडमा छ ।
राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले भने, ‘एमाले, माओवादी र काँग्रेससँग यसअघि पनि पटक–पटक सैद्धान्तिक सहमति भएकै हो तर कार्यान्वयन भएन । त्यही भएर हामी यसपटक संशोधन भएपछि मात्र सरकारमा जान्छौँ ।’ संविधान संशोधन नै नगराई फोरम नेपाल सरकारमा सहभागि भए फोरम नेपाललाई सरकारमा जानलाई आफूहरुले नरोक्ने पनि उनले बताए ।
उनले भने, ‘हाम्रो धारणा यति मात्र हो कि दुई नम्बर प्रदेशमा जसरी सहकार्य भएको छ, मधेशका सवालमा त्यसरी नै केन्द्रमा सहकार्य गर्नुपर्छ । तर, हामीलाई सरकारमा जान हतारो छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा धान उत्पादन बढ्यो
-
अभियानको म्याद थप्ने तयारीमा जसपा नेपाल
-
‘एक्टिङ स्टार’ले फिल्म खेल्न पाउने
-
भैरहवामा दैनिक १० अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सकिन्छ
-
वरुणको नक्कली भ्याट बिल प्रकरण : २९ फर्मबाट खरिद गरिएको थियो नक्कली बिजक
-
सुनको मूल्य बढी लिन ज्याला र जर्तीको 'पासो', भन्सार घटेसँगै कोटा हटाउने बहस सुरू