बालनिबन्ध : मनको करामत
प्रायः हामी दुःख पाइयो त भन्छौँ तर दुःख किन पाइयो त्यतातिर भने ध्यान दिँदैनौँ, जसले गर्दा त्यही नै दुःखका कारण बनाइरहेका हुन्छन् । वेदान्तमा एउटा सूत्र छ– ‘मन एव मनुष्याणां कारण बन्ध मोक्षयोः ।’ यसको अर्थ हो दुःख र सुखको कारण संसार होइन मन हो । जस्तो मन छ संसार त्यस्तै संसार बन्छ । जब संसार बनाउने काम मनले गर्छ भने उसले बनाउने संसार कस्तो होला ? आफू जस्तो छ त्यस्तै त हो नि होइन र ?
मानौँ तपाईँलाई राम्रो देखिन मन लागेको छ तर लागेर मात्र हुन्न । यो त अरूले भनिदिएर मात्र हुने कुरा हो । संसार पनि त्यस्तै हो, उसले गर्ने त्यस्तै हो । तपाईँ राम्रो हुनुभयो, राम्रो हुन सक्नुभयो त्यस्तै बनाइदियो, त्यस्तै देखाइदियो । राम्रो बन्न सक्नुभएन त्यस्तै बनाइदियो, देखाइदियो । यसमा दोष कसको ?
मानिलिनुस् साँझमा कतै जादै हुनुहुन्छ । एक्लै हुनुहुन्छ । हल्का डराउनुभएको छ, मनमा नानाभाँतीका कुरा खेलिरहेका छन् । केही पर एउटा ठुटो थियो तर घुर्मैलो प्रकाशका कारण प्रष्ट देख्न सक्नुभएन । त्यसैलाई तपाईँको डराएको मनले बाघ बनाइदियो । थप डराउनुभयो । त्यसैले उसलाई चलाउन थाल्यो । चल्न चटपाउन लागेको जस्तो लाग्यो । अरू डराउनुभयो । बिस्तारै ऊ तपाईँ भएतिर आउन लागेको जस्तो देखिन थाल्यो । वास्तवमा त्यहाँ ठुटो थियो, जुन चल्ने कुरा थिएन, तपाईँ भएतिर आउने कुरा पनि थिएन । ऊ त जहाँ थियो त्यही थियो । तपाईँको डराएको मनले नै यी सब गरिरहेको थियो ।
मन डराएको बेला, बिग्रेको बेला, मनले सही ढङ्गले काम गर्न नसकेको बेला जहाँ पनि हुने यस्तै हो । डोरीहरू विषालु सर्प जस्ता देखिने छन्, ठुटाहरू बाघ बन्ने छन्, कमिलाहरू हात्ती बन्नेछन्, ढिस्काहरू पर्वत बन्ने छन्, नदीहरू सागर बन्नेछन् । केके बन्नेछन् केके । यी सबै मनकै करामत हुन् ।
संसारमा दुःख थिएन, छैन, संसार दुःख दिन बनेकै होइन । त्यसैले ऊ दुःखको कारण होइन, हुनै सक्दैन । तपाईँको मनले नै उसलाई दुःखको कारण बनाइदिएको हो ।
संसारमा जति पनि दुःख छन् तिनको मूलमा मनकै करामत हुन् । संसार आफैँमा स्वर्ग हो, स्वर्गीय सुख दिनकै लागि हो तर दुःखको कुरा हाम्रो मनले नै त्यसैलाई नरक बनाइरहेका छन् । आज आकाश दुःषित छ, पृथिवी दुःषित छ, हावा दुःषित, पानी दुःषित छ यसको कारण के हो ? देवीदेवताका कारण यस्ता भएका होलान् ? कि भूतप्रेत आए होलान् ? होइन मनकै कारण यी सब भएका हुन् ।
मानिलिनुस् तपाईँको घर अगाडि कुनै खोलो छ । पानी गनाएर बसिसाध्य छैन । यसैका कारण टोलमा नानाभाँतीका रोग लाग्न थालेका छन्, झाडाबान्ता भएको छ, हैँजा लागेको छ । यसको कारण के हो ? त्यही खोलो होला त ? होइन त्यहाँ जम्मा भएका फोहरहरू नै हुन्, जुन फोहर तपाईँ हामीले फालेका थियौँ । प्रश्न गर्न सक्नुहुन्छ त्यसो हो भने रोगका कारण फोहर पो हो त ? मनको कुरा कहाँबाट आयो ? हो जरूर कारण फोहर हो तर फोहर फाल्ने काम मानिसले नै गरेको हो । यस अर्थमा कारणको पनि महाकारण मानिस आफँै हो, मानिसको दुःषित मन हो । खोलो आफैँ दुःषित थिएन । खोलाको पानी आफैँ दुषित थिएन । नपत्याए उसको मुहानमा गएर हेर्न सक्नुहुन्छ ।
संसारको अवस्था पनि त्यस्तै हो । हामीलाई प्रकृतिले जेजति दिएको छ सबै आफैँमा सफा छन्, सुन्दर छन् । यही नै सत्यं शिवं सुन्दरम् हुन् तर जति बस्ती बढ्दै गयो त्यति मानिस बढ्दै गए, अनि जति मानिस बढ्दै गए त्यति नै मन पनि बढ्दै गए, जसले गर्दा सत्य असत्य जस्ता भए, शिव अशिव भए, सुन्दर असुन्दर देखिन थाले । यो एउटा दृष्टान्त हो । खोज्दै गए जहाँ पनि यस्तै पाउनुहुनेछ ।
संसार शत्रु होइन । सहयोगी हुन्, सहयोग गर्न आएका हुन् तर तपाईँका मनले नै तिनलाई शत्रुजस्ता बनाएका हुन्, बनाएका छन् । पहिले तपाईँले, तपाईँको मनले उनीहरूलाई शत्रुवत व्यवहार गरिदियो । पछि उनीहरूले पनि त्यस्तै गरिदिए । जे रोप्नुभएको थियो त्यसैलाई फलाइदिए, फुलाइदिए ।
तपाईँ अनकन्टार स्थानमा बस्न सक्नुहुन्न । तपाईँलाई बस्न अरूको सहयोग चाहिन्छ, सद्भाव चाहिन्छ । तपाईँले कमाएको सम्पत्ति मान, सम्मान, इज्जत प्रतिष्ठाले समेत त्यतिबेला महत्व पाउँछन्, जहाँ अरू मानिस रहेका हुन्छन् । एउटा खेलाडीलाई जितको प्रशंसा पाउन त अरू कसैले हारिदिनुपर्छ । युद्धमा योद्धाले प्रशंसा त्यतिबेला पाउँछ, जहाँ कसैले हारिदिएको हुनुपर्छ भने अरूको अवस्था कस्तो होला ? न रावणले नहारेका भए रामले प्रशंसा पाउँथे न कंश नभएका भए कृष्णको महत्व रहन्थ्यो । अब तपाईँं नै भन्नुस् आफ्नो मान सम्मान कायम राख्न अरूको केकति सहयोग चाहिला ।
आफूलाई चाहिँ अरूको सहयोग चाहिने उनीहरूलाई भने जे गरे पनि हुने सोचले, मनले व्यवहार चल्ला ? पक्कै चल्दैन । आफूलाई उनीहरूको सहयोग चाहिन्छ भने आफूले पनि उनीहरूप्रति सहयोगी हुन जान्नुपर्छ, सिक्नुपर्छ ।
संसार पैँचो हो, यसैले चल्छ । जहाँ लिने दिने काम हुन्छ त्यहाँ व्यवहार हुन्छ, जहाँ दिने मात्र काम हुन्छ त्यहाँ प्रेम र जहाँ लिनेमात्र काम हुन्छ त्यहाँ घृणा हुन्छ । यो प्रकृतिको नियम हो । यसलाई कसैले पनि तल माथि गर्न सक्दैन । हामी सामाजिक प्राणी हौँ । समाजमा बाँच्न व्यावहारिक हुनैपर्छ, हुन जान्नैपर्छ, सिक्नैपर्छ । हामीले जे दिएका छौँ त्यही नै अरूले फिर्ता गर्ने हुन् । नून पैँचो दिएर चिनी फिर्ता पाइन्न । जे दिएको त्यही पाउने हो । घृणा दियौँ, तिरस्कार दियौँ त्यस्तै पाउँछौँ, मान सम्मान दियौँ त्यस्तै पाउने छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी