सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
प्रदेश

काठमाडौँ–हेटौँडा जोड्ने आधा दर्जन सडकमध्ये अधिकांश दुरावस्थामा

मङ्गलबार, २३ फागुन २०७९, ०५ : ५२
मङ्गलबार, २३ फागुन २०७९

मकवानपुर । संघीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडालाई जोड्ने सडक आठ वटा छन् तर अधिकांश सडक दुरावस्थामा रहेका कारण यात्रुले तिनको प्रतिफल लिन सकेका छैनन् ।

हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–बल्खु, हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–बल्खु, हेटौँडा–भीमफेदी–फाखेल–मातातीर्थ–कीर्तिपुर, हेटौँडा–भीमफेदी–कुलेखानी–मार्खु–चित्लाङ–थानकोट, हेटौँडा–दामन–टिष्टुङ–नौबिसे–थानकोट (त्रिभुवन राजपथ), हेटौँडा–कुलेखानी–चन्द्रागिरी हुँदै थानकोट, हेटौँडा–ठिंगन–टीकाभैरव–सातदोबाटो (कान्ति लोकपथ) र हेटौँडा–नारायणगढ–मुग्लिन–नौबिसे–थानकोट सडकले हेटौँडा र काठमाडौंलाई जोडेका छन् ।

1-20230130_150518

उल्लेखित सडक सञ्जालमध्ये हेटौँडा र काठमाडौँसँग नियमित सम्पर्क भने हेटौँडा–नारायणगढ–मुग्लिन–नौबिसे थानकोट र हेटौँडा–दामन–टिष्टुङ–नौबिसे–थानकोट (त्रिभुवन राजपथ) सडकले मात्र गर्ने गर्दछ । यी दुई सडक वर्षभरि सञ्चालनमा रहने गर्दछन् भने अन्य सडक हिउँदमा मात्र सञ्चालन हुन सक्ने अवस्थामा छन् ।

हेटौँडा–काठमाडौँ छोटो दुरीको (हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–बल्खु र हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–बल्खु) सडक वर्षा लागेलगत्तै पहिरोका कारण ठप्प हुने गर्दछ । नियमित रूपमा वर्षा हुने हो भने सो सडक पूर्ण रूपमा ठप्प हुने गर्दछ ।

2-20230130_155931

हाल सो सडकको स्तरोन्नति कार्य जारी छ । साँघुरो र जीर्ण भएकाले सो सडकमा यातायात नै ठप्प पारेर मर्मत तथा स्तरोन्नतिको काम हुँदै आएको छ । तर, सो सडकमा यात्रा गर्न अझै सहज छैन । सो सडकलाई १० मिटर फराकिलो बनाउने उद्देश्य अनुसार स्तरोन्नति भइरहेको छ ।

सो सडक अन्तर्गतको भैँसेदेखि भीमफेदी खण्डको स्तरोन्नति कार्यका लागि पटकपटक म्याद थपिए पनि काम पूरा हुन सकेको छैन । सो सडकखण्ड स्तरोन्नतिका लागि गत भदौमा तेस्रो पटक म्याद थप गरिएको हो । २०७७ असार २४ गते कुल ३८ करोड ७८ लाख ८९७ रुपैयाँ लागतमा सडक स्तरोन्नति कार्यको ठेक्का सम्झौता गरी आशिष/डीएस जेभीले निर्माणको जिम्मा लिएको थियो । सडक स्तरोन्नति कार्यको शिलान्यास भएको करिब ३ वर्षभन्दा बढी समयसम्ममा भौतिक प्रगति जम्मा २६ प्रतिशतमात्र भएको छ ।

सो सडक खण्ड अन्तर्गत भीमफेदी गाउँपालिकाको २, ४ र ६ नम्बर वडामा करिब ४१ घर तथा केही जग्गामा मुआब्जा विवाद छ । सडकमा परेका घर तथा जग्गाको मुआब्जाको माग गर्दै उच्च अदालत पाटन हेटौँडा इजलासमा १९ जनाले मुद्दा दायर गरेपछि काम प्रभावित भएको हो ।

4-bhimfedi_sadak

हाल सो सडक फराकिलो पार्ने, पर्खाल लगाउने जस्ता कार्य भइरहेको छ । निर्माण कम्पनीले सडकमा स्काभेटर प्रयोग गरेर सडकको दायाँबायाँ खन्ने, माटो पन्छाउने जस्ता कार्य गरिरहेको छ । सोही सडक अन्तर्गत फाखेल तर्फको सडक पनि स्तरोन्नतिको काम जारी छ । यातायात नै बन्द गरेर सो सडकमा चौडा र कालोपत्रे गर्ने कार्य भइरहेको छ ।

हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–बल्खु सडक आयोजना अन्तर्गत मकवानपुर र काठमाडौँ खण्डमा ठेक्का लगाएर काम भइरहेको छ । संघीय र प्रदेश सरकारले उक्त सडक स्तरोन्नतिका लागि काठमाडौँ खण्डतर्फ २२ करोड रुपैयाँ र मकवानपुर खण्डतर्फ १८ करोड रुपैयाँ विनियोजन गरेको छ । जसको हाल भौतिक प्रगति २५ प्रतिशत छ ।

3-bhimfedi-kulekhani-road

सो सडकको वित्तीय प्रगति काठमाडौँ खण्डतर्फको १९ प्रतिशत र मकवानपुर खण्डतर्फको ३८ प्रतिशत छ । उक्त सडक निर्माणका लागि काठमाडौँ खण्डतर्फ ४ करोड १८ लाख ५९ हजार रुपैयाँ र मकवानपुर खण्डतर्फ ६ करोड ७८ लाख ८९ हजार रुपैयाँ खर्च भइसकेको छ ।

उक्त सडक स्तरोन्नतिका लागि काठमाडौँ खण्डको २०७८ फागुन ३ गते र मकवानपुर खण्डतर्फ २०७८ फागुन २५ गते सम्झौता भ्एको थियो । काठमाडौँ खण्डको निर्माणको काम २०८० माघ ३ गते र मकवानपुर खण्डको निर्माणको काम २०८१ भदौ २४ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने हुन्छ ।

5-chitlang sadak

यता, हेटौँडा–भीमफेदी–फाखेल–मातातीर्थ–कीर्तिपुर र हेटौँडा–भीमफेदी–कुलेखानी–मार्खु–चित्लाङ–थानकोट सडकले अझै पूर्णता पाउन सकेको छैन । निर्माण कार्य थालनी गरिएको लामो समय बितिसक्दा समेत उक्त सडकले पूर्णता पाउन नसकेको हो ।

चित्लाङ–थानकोट सडक (गणेशमान सिंह मार्ग) निर्माणमा ठेकेदार कम्पनीको लापरबाहीका कारण पर्यटकीय गाउँ थाहा नगरपालिका–९, चित्लाङ समस्यामा पर्दै आएको छ । सडक अलपत्र अवस्थामा रहँदा सवारी साधन र पैदल यात्रुलाई समेत आवतजावतमा समस्या हुँदै आएको छ ।

२०७३ सालमा सडक निर्माण सुरु गरेको कुलेखानी–मार्खु–चित्लाङ–थानकोट मार्ग करिब १५ महिनाभित्र सम्पन्न गर्नुपर्ने भए पनि काठमाडौँतर्फको सडक निर्माण गर्ने ठेक्का पाएको पीएस/किराँतेश्वर जेभीले ५ वर्षसम्म पनि निर्माण कार्य पूरा गरेको छैन ।

6-IMG-25769ebc6768dacede703390026a4f9d-V

२२.५ किलोमिटरको उक्त खण्डको निर्माण कार्य हालसम्म ४० प्रतिशत भौतिक प्रगतिमा सीमित छ । आर्थिक वर्ष २०७०/०७१ देखि हालसम्म उक्त सडक योजनामा करिब ४५ करोड रुपैयाँ खर्च भइसकेको छ । सरकारले २०६२ सालदेखि यो सडक निर्माण सुरु गरेको हो ।

सो सडक अन्तर्गत भीमफेदी, कुलेखानी, मार्खु, चित्लाङ, चन्द्रागिरि हुँदै काठमाडौँसम्म गाडी बोकेर लैजाने गरेको इतिहास छ । स्थानीयले गाडी बोक्ने गोरेटोलाई विसं. २०१८ देखि २०२२ सम्म जनश्रमदानबाट चित्लाङ–थानकोट मार्गको रूपमा निर्माण गरेका थिए । २०१३ सालमा त्रिभुवन राजपथ (बाइरोडको बाटो) निर्माण भएपछि मात्रै काँधमा गाडी बोक्न छाडिएको थियो ।

हेटौँडा–काठमाडौँ जोड्ने वैकल्पिक एवम् उपयुक्त मार्गको रूपमा रहेको कान्ति लोकपथ सडक निर्माण सुरु भएको ६६ वर्ष बितिसकेको छ । दुरीका हिसाबले छोटो मानिएको उक्त सडकले निर्माण सुरु भएको ६६ वर्षसम्म पूर्णता पाउन सकेको छैन । कान्ति लोकपथ सडक आयोजना नामकरण गरी निर्माणको काम थालेको वर्षौँ बितिसक्दा समेत सडकले मूर्तरूप लिन नसक्दा त्यसको प्रतिफल नागरिकस्तरमा पुग्न सकेको छैन । २०१३ सालमा नेपाली सेनाको नेतृत्वमा सो सडक निर्माणका लागि ट्रयाक खन्न सुरु गरिएको थियो । ३ वर्ष लगाएर सेनाको टोलीले सो सडकको ट्रयाक खोल्ने काम सम्पन्न गरेको थियो । २०१६ सालमा तत्कालीन राजा महेन्द्रले उक्त सडकको ट्रयाक उद्घाटन गरेका थिए ।

7-IMG-bef8c890eb71194a6fe04781cccd97a6-V

राजा महेन्द्रले सडकको ट्रयाकको उद्घाटन गर्दै हेटौँडाको बुद्धचोकदेखि जीपमा ललितपुरको टीका भैरवसम्म यात्रा गरेका थिए ।

कुल ९१ किलोमिटर लामो सडक निर्माणमा राज्यको पर्याप्त ध्यान पुग्न नसक्दा हालसम्म पूर्णता पाउन सकेको छैन । सो सडक अन्तर्गत सहज भू–बनोट भएका ठाउँमा सडक कालोपत्र सकिए पनि अझै केही ठाउँमा कालोपत्र गर्न बाँकी छ । मकवानपुरतर्फ करिब ४ किलोमिटर र ललितपुरतर्फ १० किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ ।

दुरीको हिसाबले सबैभन्दा लामो सडकको रूपमा रहेको हेटौँडा–नारायणगढ मुग्लिन–नौविसे सडक वर्षभरि नै नियमित सञ्चालनमा आउने गर्दछ भने यात्रामा पनि सहज मानिन्छ । घुमाउरो सडक रहेको बाइरोड (त्रिभुवन राजपथ) पनि नियमित रूपमा सञ्चालन हुने सडक हो । दुरीको हिसाबले हेटौँडा–नारायणगढ–मुग्लिन–नौबिसे सडकभन्दा केही कम रहेको उक्त सडक पुरानो भएसँगै यात्रामा समस्या हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप