रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष १० समाचार
आज २०७९ फागुन २२ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा राष्ट्रपति निर्वाचनमा पाँच दलको ‘कित्ता क्लियर’ हुन बाँकी, काठमाडौं उपत्यका लगायत पहाडी जिल्लामा मनाइयो होली, कानुन निर्माण ओझेलमा, राष्ट्रपति भण्डारीले फागुन २९ भित्र शीतलनिवास छाड्ने, प्रहरीमा धमाधम काज सरुवा, माओवादीले अन्तर्घातीलाई अझै गरेन कारबाही, विभिन्न १३१ मुलुकसँग नेपालको व्यापार घाटा लगायत छन् ।
१. राष्ट्रपति निर्वाचनमा पाँच दलको ‘कित्ता क्लियर’ हुन बाँकी
राष्ट्रपति पदका लागि मतदान हुने दिन नजिकिइसकेको छ । सो पदका लागि सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनावी प्रतिस्पर्धामा छन् । समीकरणका हिसाबले पौडेललाई संस्थागत रुपमा १० दलको समर्थन छ भने नेम्वाङलाई अहिलसम्म एमालेबाहेक अन्य दलले ग्रीन सिग्नल दिइसकेका छैनन् । पाँच दलले राष्ट्रपति पदका लागि कसलाई समर्थन गर्ने भन्नेबारे औपचारिक निर्णय गर्न बाँकी छ ।
२. काठमाडौं उपत्यका लगायत पहाडी जिल्लामा मनाइयो होली
रङहरुको पर्व मानिएको होली सोमबार काठमाडौं उपत्यका लगायत पहाडी जिल्लामा मनाइएको छ । होलीलाई लक्षित गर्दै उपत्यकामा प्रहरीले उच्छृङ्खल गतिविधि हुन नदिन विशेष सावधानी अपनाएको थियो । ट्राफिक प्रहरीले समेत ठाउँठाउँमा सवारी चेकजाँच बढाएको थियो ।
३. कानुन निर्माण ओझेलमा
निर्वाचनपछि बनेको हालको प्रतिनिधि सभाको १४ वटा बैठक बस्यो तर संसद्को मुख्य काम कानुन बनाउने कुरा भने ओझेलमा परेको छ । प्रतिनिधि सभामा हालसम्म सरकारले दुईवटा विधेयक दर्ता गरेको छ भने तीन विधेयक राष्ट्रिय सभाबाट सन्देशसहित आएको छ ।
४. राष्ट्रपति भण्डारीले फागुन २९ भित्र शीतलनिवास छाड्ने
राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २९ गतेभित्र शीतलनिवास छोड्ने भएकी छन् । २५ फागुनमा हुने निर्वाचनमार्फत नयाँ राष्ट्रपति आउने भएपछि राष्ट्रपति भण्डारीले राष्ट्रपतिको सरकारी कार्यालय छोड्न लागेकी हुन् ।
५. प्रहरीमा धमाधम काज सरुवा
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले शक्तिकेन्द्रबाट नाम आएका र आफू निकटहरूलाई नियमित सरुवा छलेर काज सरुवा गर्ने गरेका छन् । कुनै कारणले युनिट इन्चार्ज परिवर्तन भएर छोटो समयमा अधिकृत पठाउनुपर्ने अवस्थामा काज सरुवा गर्न पाउने व्यवस्था प्रहरी नियमावलीमा छ । तर, प्रहरी नेतृत्वले सो व्यवस्थालाई दुरुपयोग गर्ने गरेका छन् ।
६. माओवादीले अन्तर्घातीलाई अझै गरेन कारबाही
गत मंसिरमा सम्पन्न निर्वाचनमा अन्तर्घात गरेर पार्टीका उम्मेदवारलाई पराजित गर्न भूमिका निर्वाह गर्नेहरुमाथि कारबाही गर्ने उद्देश्यले नेकपा माओवादी केन्द्रले गठन गरेको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको छ । तर प्रतिवेदनले दोषी ठहर गरेकाहरुमाथि माओवादी केन्द्रले अझै कारबाही गर्न सकेको छैन ।
७. विभिन्न १३१ मुलुकसँग नेपालको व्यापार घाटा
नेपालले वैदेशिक व्यापार गर्ने अधिकांश साझेदार मुलुकसँग नेपालको व्यापार घाटा छ । भन्सार विभागका अनुसार ७ महिनाको अवधिमा नेपालले विश्वका १५४ वटा मुलुकसँग व्यापार गरेको छ । यीमध्ये १३१ वटा देशसँगको व्यापार घाटामा छ ।
८. सरोज नेपालप्रति श्रद्धाञ्जली
छतबाट खसेर निधन भएका नेकपा एकीकृत समाजवादीका नेता सरोज नेपालप्रति सोमबार श्रद्धाञ्जली अर्पण गरिएको छ । प्रधानमन्त्री लगायतका नेताहरुले उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
९. युएईमाथि नेपालको जित
आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली युएईलाई हराएको छ ।
१०. र यो पनि,
मिथिलाको १५ दिने प्रशिद्ध मध्यमिकी परिक्रमा आज (सोमबार) जनकपुरधाम आइपुगेको छ ।
राजनीतिक समीकरण बदलिएपछि केन्द्रमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमालेले कर्णाली प्रदेश सरकारको बारेमा भने ठोस निर्णय लिएको छैन ।
बैंक तथा वित्तीय संस्थाहरुलाई जारी निर्देशनअनुसार २०८० असार मसान्तसम्म वाणिज्य बैंकले कुल कर्जा लगानीको कम्तीमा ४० प्रतिशत लगानी प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था भए पनि २०७९ पुस मसान्तसम्म २२ वटा वाणिज्य बैंकको यस्तो प्राथमिकता प्राप्त क्षेत्रको लगानी जम्मा २८.८८ प्रतिशतमात्र छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
अनुदानमा सञ्चार सामग्री खरिदका लागि आवेदन दिन काउन्सिलको आग्रह
-
सरकारले कसैलाई एक्लो र असहाय हुन दिँदैन : प्रधानमन्त्री ओली
-
रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने
-
माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित
-
‘कन्फ्लुयन्स’ : कलाका सिद्धान्त र तत्त्वमा आधारित प्रदर्शनी