रङसँग मानिसको नाता, बालबालिकाको उत्सव र होलिकाको दहन
हामीले होलीलाई रङको पर्वका रूपमा मनाउँछौँ, अर्थात् यस पर्वमा विभिन्न रङ अनुहारमा दलेर रमाइन्छ ।
रङ मानिसका लागि प्रकृतिप्रदत्त छ । प्रकृतिका विभिन्न वस्तुका रङ, फूलहरूको रङ र आकाशमा देखिएको इन्द्रेनीले नै मानिसलाई रङको ज्ञान दियो, रङप्रतिको रुचि जगायो । रङको नाम र प्रकृति नजान्दादेखि नै मान्छे रङसँग जोडिँदै र मानसिक रूपमा प्रभावित हुँदै आएको हो । मानिसका लागि जीवन र दर्शनका आधार हुन्– उज्यालो र अँध्यारो, जन्म र मृत्यु, उत्पत्ति र अन्त्य । खासगरी, कालो (अँध्यारो) र रातो (रगत) रङसँग मान्छे मानसिक रूपमा बढी प्रभावित हुन्थ्यो । रातमा कालो छाया देख्दा उसको मनमा अनेक भय र भाव उत्पन्न हुन्थे । रातो रगतले उसलाई खुसी र भय दुवै अनुभूत गराउँथ्यो । रातो रगतको टाटो वा चिह्नबाट उसले सिकार शत्रुको आशंका गथ्र्यो ।
पूर्वीय ज्योतिषले जन्मकुण्डली अनुसार फाप्ने र नफाप्ने रङ नै तोकेको छ । पश्चिमी विज्ञानले रङसँग हुने भय (क्रोमोफोबिया) नै पत्ता लगाएको छ । आज पुँजीवादी बजारमा रङ ‘ब्रान्ड’सँग जोडिएको छ । रङमाथि हाम्रो (हिन्दु) समाज धार्मिक वा सांस्कृतिक रूपमा सचेत हुन थालेको धेरै अघिदेखि हो । जस्तो: विधवालाई रातो लगाउन नदिनू, विजयको प्रतीक स्वरूप (दसैँमा) रातो टीका लगाउनू आदि । पछिल्लो समय रङ र मनोवैज्ञानिक कार्यप्रणालीमाथि सोध–अनुसन्धान हुन थालेका छन् ।
मानिसले खुसी प्रकट गर्ने शरीरको स्पष्ट भाषा छ– नृत्य । तपाईंले देखेको वा अनुभूत गरेको हुनुपर्छ– कुनै खुसीको खबर सुन्दा वा कुनै मनचाहा वस्तु पाउँदा मानिसले आफ्नै ढंगले आफ्नै तालमा उफ्रेर वा हल्लेर (नाचेर) आनन्द प्रकट गर्छ । सारा कला, साहित्य र संस्कृतिको आधार वा आमा हो– नृत्य । मान्छेका संस्कृतिमा दुई आधार छन्– खुसी (उत्सव) र शोक (दुःख) । खुसी वा उत्सव र शोक मनाउने क्रममै अधिकांश संस्कृतिको विकास भएको हो । खुसीको प्रसंगमा अर्को कुरा पनि आउँछ, त्यो हो– खेती राम्रो फलाइदेऊ, पानी पारिदेऊ भनी प्रकृति वा अलौकिक शक्ति (भगवान)लाई खुसी पार्न गाउँदा, नाच्दा, पूजा–प्रार्थना गर्दा हाम्र्रा अधिकांश संस्कृति जन्मे ।
नृत्यबाट जन्मेर हुर्केको नाटक प्रस्तुत गर्ने ठाउँलाई हामी रंगमञ्च भन्छौँ, जीवनका रङको अर्थमा । रंगमञ्चमा रस (नवरस)को कुरा आउँछ । अभिनयमार्फत रस अनुसारको भावभंगिमा प्रकट गर्न कलाकारले कोसिस गर्छन् । अभिनयमा रमाउँदाको वा दुःखी हुँदाको भावका रङ आउनुपर्ने हुन्छ । तपाईंले सुन्नुभएको छ– फलानो कस्तो अँध्यारो मुख लाउँदै थियो, फलानाले अनुहारै उज्यालो पारेको छ । अर्थात्, मान्छेले दुःख (शोक) र सुखका रङ अनुहारमा लिएर हिँडेको हुन्छ । रमाउने बहानामा हाम्रा पुर्खाले कहिलेदेखि रङको प्रयोग गर्न थाले ?
होलीको कथा
फाल्गुन शुक्ल पूर्णिमाको दिन अर्थात् शिशिर ऋतु समाप्त भई वसन्त ऋतु प्रारम्भ हुन लागेको अवसरमा नेपाल र भारतमा हिन्दूहरूले होलिका उत्सव मनाउँछन् । वसन्त ऋतुसँगै पानी पर्ने र धर्ती हराभरा हुने क्रम सुरु हुने हुँदा मानिसमा एक खालको उमंग आउनु स्वाभाविक हो ।
हामीकहाँ यस पर्वलाई शास्त्रीय आधारमै टेकेर हेरिन्छ । चेतोनाथशर्मा आचार्यको पुस्तक ‘हाम्रा धार्मिक चाडपर्व’ अनुसार, हेमाद्रि कालखण्डमा लिंगपुराणको एक श्लोक उल्लेख गर्दै होलिकोत्सव मनाउने प्रक्रियाबारे भनिएको छ–
फाल्गुने पौर्णमासी च सदा बालविकासिनी ।
ज्ञेया फाल्गुनिका सा च ज्ञेया लोकविभूतये ।।
अर्थात् फाल्गुनीपूर्णिमा बालविकासका लागि प्रसिद्ध छ । फाल्गुनीका नामले प्रसिद्ध यस दिन मनोरञ्जक क्रीडा गरिन्छ । आचार्य लेख्छन्, ‘वराह पुराणमा फाल्गुनी पूर्णिमालाई ‘पटवास विलासिनी’ भनिएको छ । ‘पटवासक’ शब्द अबीर जस्तो चूर्णका लागि प्रसिद्ध छ । त्यसैले यस दिनले अबीरादि चूर्ण प्रयोग गरी क्रीडा गर्ने कुरालाई द्योतन गर्छ ।’
आचार्यले होली सम्बन्धी केही कथा प्रस्तुत गरेका छन् । एकपल्ट युधिष्ठिरले कृष्णसँग सोधे, ‘भगवान् ! फाल्गुनी पूर्णिमाको दिन प्रत्येक गाउँ र नगरमा किन उत्सव हुन्छ ? यस दिन बालकहरू निकै रमाएर क्रीडारत भएका देखिन्छन् । बस्तीबस्तीमा होलिका जलाएको देखिन्छ । यो जलाउनुमा के कारण छ । यस दिन पूजिने देवताको नाम के हो ?’
कृष्णको जवाफ हुन्छ– सत्य युगमा रघुनाम गरेका धर्मात्मा र विद्वान् राजा थिए । उनीकहाँ एक दिन प्रजाजन आएर भने– हामीलाई ढुण्ढा नाम गरेकी राक्षसीले साह्रै दुःख दिएकी छ । उसले विभिन्न रूप धारण गरी हामी र हाम्रा बालबालिकालाई सताउने गर्छे ।
राजाले आफ्ना पुरोहितसँग त्यस राक्षसनीबारे बुझे । माली नाम गरेको राक्षसकी पुत्री ढुण्ढाले विगत कालमा उग्र तपस्या गरी शिवलाई प्रशन्न बनाई शस्त्र–अस्त्र, जाडो–गर्मी, वर्षा आदिबाट अवध्य र अप्रभावित हुने वर प्राप्त गरेकी थिई । उसलाई शिवले वर दिँदै भनेका थिए– तिमीलाई केवल उन्मत्त बालकहरूबाट मात्र भय हुनेछ । यही कारण यो राक्षसी खासगरी बालबच्चालाई बढी सताउँछे ।
पुरोहितको सुझाव रहन्छ– बालबालिकाको निर्भय क्रीडा र मनोरञ्जनले मात्र त्यस राक्षेसनीको विनाश सम्भव छ ।
पुरोहितको सल्लाह अनुसार राजाले फाल्गुनशुक्ल पूर्णिमाका दिनमा धुमधामसँग बालक्रीडा महोत्सव आयोजना गर्न लगाए । बच्चाहरूको हल्लीखल्ली, बेरोकतोक चिल्लाहट र ताली तथा गानाबजानाका बीच सुकेका दाउरापात र स्याउला बालेर सबैले बलेको अग्नि परिक्रमा गरे । जसको प्रभावमा परेर त्यो राक्षसी मरी । अनि समाज निर्भय बन्यो ।
यसले संकेत गर्छ– यो पर्व केटाकेटीलाई खुसी हुन सिकाउने पर्व हो । हिउँदमा जाडोले कठ्यांग्रिएर कतिपय केटाकेटी खेल्ने–उफ्रने नगरेका हुन सक्छन्, यसो हुँदा उनीहरूलाई शारीरिकसँगै मानसिक स्वास्थ्य खराब हुने खतरा हुन्थ्यो । त्यसैले हाम्रा पुर्खाले केटाकेटीलाई उत्सव मनाउने पर्वको कथासहित परिकल्पना गरेको हुन सक्छ ।
यस पर्वसँग अलि बढी मिल्दो लाग्ने अर्को कथा छ । दैत्यराज हिरण्यकशिपुकी बहिनी होलिकाले अग्निमा नडढ्ने वर पाएकी थिइन् । हिरण्यकशिपुका लागि विष्णु शत्रुजस्तै थिए, उनका छोरा प्रहलाद भने विष्णुभक्त निस्के । हिरण्यकशिपुले छोरालाई मार्न अनेक उपाय लगाए तर सकेनन् । अन्ततः उनले आफ्नी बहिनी होलिकालाई हतियार बनाए । फागुन पूर्णिमाको दिन, दाइको आग्रहमा होलिका प्रह्लादलाई काखमा लिई आगोमा पसिन् । आगोले होलिकालाई जलायो तर प्रह्लादलाई केही भएन । दैत्यकी बहिनी होलिकाको दहन भएको खुसियालीमा यो पर्व मनाउन थालियो ।
फागुपूर्णिमाका रातमा होलिकाको पूजा गर्ने पनि विधान छ । पूजा गर्दा निम्नलिखित मन्त्र पढेर पूजा गर्ने गरिन्छ–
होलिके पूजयामि त्वां सर्वसौख्यप्रदायिनीम् ।
अर्चितासि महाभागे । देहि मां धनसम्पदः ।।
यस होलिकाको कथा भने अन्यायपूर्ण छ । दाइको आग्रह मानेकी होलिकाको के दोष ? अर्कोतिर, आगोले नजल्ने वर पाएकी होलिका आगोमा जलेकी छन्, वरै नपाएका प्रह्लादलाई आगोले जलाउँदैन । यो त मिथकीय कथा भयो, खैर हामीले आज कम्तीमा निर्दोष स्त्रीको दहनमा रमाउनु उचित होइन । यस्ता कथातिर पनि हामी सचेत रहनुपर्छ ।