नीतिकथा : बुबाले दिएको त्यो हिम्मत
जीवनमा एक्लो छु, असहाय छु, केही पनि गर्न सक्दिन भन्न थाले वास्तवमै केही पनि गर्न सकिन्न तर एक्लो छैन, गर्न सक्छु, साथमा कोही छन् नभए पनि भगवान् त पक्कै छन् भन्ने ठानेर निरन्तर काममा लागिरहने हो भने कठिनभन्दा कठिन काम पनि सजिलै गर्न सकिन्छ ।
धेरै पहिलेको कुरा हो । कुनै सहरमा एउटा बालक रहन्थ्यो । हरेक वर्ष ऊ आमा बाबु आमाको साथ गर्मीको छुट्टीमा हजुर बा र हजुर आमालाई भेट्न जाने गर्थ्यो । उनीहरूको बसाइ अर्कै सहरमा थियो । त्यसैले ऊ बाबु र आमाको साथमा जाने गर्थ्यो । ऊ गर्मीको छुट्टी त्यतै बिताउँथ्यो र स्कुल सुरु भएपछि फर्कने गर्थ्यो । समय बित्दै गयो ऊ पनि केही ठुलो भयो । केही जान्ने सुन्ने पनि भयो । त्यत्तिकैमा एक दिन उसले एक्लै हजुर बा आमालाई भेट्न जाने निधो ग¥यो ।
पहिले त उसका माता पिताले हुँदैन भन्दै एक्लै जान दिएका थिएनन् तर उसले निकै जिद्दी गरेकाले हार्न सकेनन् र स्वीकृति दिए । दिन गन्दागन्दै जाने दिन आयो । आमाले बाटामा खाने चिजबिज बनाइदिइन् । बाबु चाहिँ पु¥याउन रेल्वे स्टेशनसम्मै पुगे । बालक चल्तापुर्जा थियो । एक्लै जाने हिम्मत गरेकोमा खुसी पनि मानिरहेको थियो ।
रेल छुट्नै लाग्दा बाबुले उसको हातमा एउटा चिठीको खाम दिँदै भने–
‘छोरा यसलाई सुरक्षित राख्नु । जहिले पायो तैले खोल्ने गल्ती नगर्नु । यदि तिमीलाई ज्यादै डर लाग्यो र डर भगाउने अर्को उपाय भएन भने मात्र खोल्नु । त्यहाँ एउटा चिठी पाउने छौ । त्यसलाई पढ्नु र मनन गर्नु है ।’
यति भनेर उसका बाबु हात हल्लाउँदै बाटो लागे । उसले पनि हुन्छ त्यसै गर्नेछु भन्दै चिठी झोलामा राख्यो । रेलले गति लियो । बाटामा धेरै स्टेशनहरू आउने जाने भइरहे । प्रत्येक स्टेशनमा पुराना यात्री ओर्लन्थे नयाँ यात्री चड्ने गर्थे । सबै बालबालिकाका साथमा कोही न कोही अभिभावक हुन्थे । आफू मात्र एक्लै पाएर उसलाई अलिकति डर पनि लाग्यो, मनमा खिन्नता पनि ।
निकै परपुगेपछि एउटा कुनै एक स्टेशनमा निकै डर लाग्दो आकृतिको जीव देख्यो । कालो शरीर, कालो कपडा लगाएको । मुख पनि निकै कालो डर लाग्दो किसिमको थियो । त्यसपछि भने ऊ निकै डरायो । रातको सुनसान समय थियो । सबै यात्री मस्त निद्रामा थिए । यताउता हे¥यो । साथमा कोही पनि नदेखेपछि ऊ निकै डरले कालो नीलो बन्यो र मुख छोपेर सुत्न खोज्यो तर कसै गरे पनि निदाउन सकेन । जति निदाउँछु भन्थ्यो त्यति नै डर लाग्दो आकृति आँखाको अगाडि नाच्न थाल्थ्यो । त्यसपछि रुन कराउन थाल्यो तर के गर्ने । सुन्ने कोही थिएन ।
यत्तिकैमा उसलाई बाबुको भनाइ याद आयो । उसले झोलाबाट चिठी निकालेर पढ्यो, जहाँ लेखिएको थियो–
‘बाबु न डराऊ । तिमी एक्लो छैनौ, म पनि साथै छु, यसै डिब्बाको पछिल्लो डिब्बामा बसेको छु ।’
चिठी पढ्ने बित्तिकै उसमा हिम्मत आयो । उसको अनुहार खुसीले नाच्न लाग्यो । त्यसपछि ऊ सजिलै हजुर बा हजुर आमाको घरमा पुुुुग्यो र केही समय बसेर फर्क्यो । वास्तवमा त्यहाँ उसको बाबु थिएनन् । बाबु त सुरूमै विदा भएर घर फर्किसकेका थिए । उनले छोराको हिम्मत बढाउन मात्र त्यस्तो लेखिदिएका थिए ।
वास्तवमा यो एउटा दृष्टान्त हो । म एक्लो छैन, साथमा कोही छन् भन्ने भावना लिने हो भने जहाँ पनि यस्तै नियमले काम गरेको हुन्छ । अरू नभए पनि कम्तीमा साथमा भगवान् छन् भन्ने मात्र भावना लिने हो भने पनि धेरै गर्न सकिन्छ ।
पहिलो कुरा त यस्तो भावनाले एक्लो छैन भन्ने हिम्मत दिन्छन् दोस्रो कुरा नराम्रो काम गर्नबाट बच्न सकिन्छ । कुनै पनि नराम्रो काम गर्ने भनेको लुकेर नै हो । जब साथमा कोही छ भन्ने भावना आउनासाथ त्यस्तो काम गर्ने बुद्धि र विचार आउनै पाउँदैन ।