नाटक विमोक्ष : ‘जात’–थर ढाँट्ने पुरुषको कुण्ठा
काठमाडौँ । बितेको जवानीले वर्तमानको वृद्धावस्थासँग निहुँ खोज्दैछ– ‘कसले कसलाई बचाएको छ, त्यो त देखिरहेको छ सारा संसारले । म नभई तिमीले सास पनि फेर्न सक्दिनौँ । जुन दिन मलाई बिर्सन्छ्यौ नि, त्यो दिन तिम्रो सास फुस्सै जान्छ ।’
घिमिरे युवराज लिखित र प्रवीण खतिवडा निर्देशित नाटक ‘विमोक्ष’ दुई पात्र (सहयोगी र मुमाहजुर)को बाझाबाझबाट सुरु हुन्छ । झट्ट हेर्दा लाग्छ, सहयोगी र मुमाहजुर फरक पात्र हुन् । नाटकको कथा अगाडि बढ्दै जाँदा सहयोगी पात्र नै मुमाहजुरको अधबैँसे विगत भएर मञ्चमा उत्रन्छे । अनि, दर्शकलाई उपरोक्त संवादको दोहोरो अर्थ महसुस हुन्छ– मुमाहजुर स्मृतिहरू साँचेर बाँचेकी छन् ।
पतिको मृत्युपछि रश्मिदेवीले अधबैँसे जवानीलाई जसरी भोगिन्– त्यसैमा जीवन थियो, जीवन हुनुको ताप, रङ र स्वाद थियो । उमेरसँगै अर्थात् रश्मिदेवी मुमाहजुरमा बदलिएसँगै उनको जीवनबाट त्यो ताप, रङ र स्वाद उडेको छ । यद्यपि मुमाहजुरको सम्झनामा उही अधबैँसे रश्मिदेवी जीवित छे, जसले मुमाहजुरको वर्तमानसँग निहुँ मात्रै खोज्दिन हाबी नै हुन खोज्छे । अर्थात् मुमाहजुरले यतिखेर आफ्नै विगतसँग बाझ्दै छन्, जुध्दै छन् ।
मुमाहजुरले आफूमाथि हाबी हुन खोज्ने विगतलाई परास्त गर्ने संवाद बोल्नुपर्छ– ‘म भएर पो तँ बाँचेकी छेस् । मैले तँलाई अझै मेरो स्मृतिमा साँचेकी छु ।’
प्रमुख पात्र मुमाहजुर र दीप दर्नालले आफ्नै विगतसँग बाझेका दृश्य मञ्चमा निकै सुन्दर ढंगले प्रस्तुत गरिएको छ । मुमाहजुर ऊर्फ रश्मिदेवी अर्थात् दरबारका सेवक खरदार रूपेन्द्रविक्रम थापाकी छोरी, कर्नेल श्यामकुमार बस्नेतकी श्रीमती, कर्नेलनीसाहेब । उनी आफ्नो परिचय पनि पिता र पतिसँग जोडेर दिन्छिन्, मानौँ उनको आफ्नो पहिचान नै छैन ।
कर्नेल श्यामकुमारको जीवनको रङ पनि सैनिक पोसाक खाकीको रङजस्तै (खैरो) थियो । त्यसबाहेकको रङमा रश्मिदेवीले पतिलाई कहिल्यै भोगिनन् । छोरीहरू जन्मेपछि रश्मिदेवीका लागि श्यामकुमार लोग्ने कम र छोराछोरीका बाबु बढी हुँदै गए । युद्ध प्रभावित क्षेत्रमा जाँदा कर्नेलको मृत्यु हुन्छ । त्यसपछि मात्रै रश्मिदेवीले एक १९ वर्षे युवकसँग रंगीन जीवन जिउँछिन् ।
रश्मिदेवीको वर्तमान र विगत (फ्ल्यासब्याक)लाई निर्देशकले मञ्चमा सानदार ढंगले प्रस्तुत गरेका छन् । मञ्च साजसज्जा र पात्रको मनस्थिति जनाउन लाइटका माध्यमबाट रङको प्रयोग गरिएको छ । साजसज्जाका माध्यमबाट घरभित्रको दृश्य अर्थात् कोठालाई तीन तह पारेर कथाका पत्रहरू पस्केको आभास हुन्छ । योसँगै माथि कौसीबाट विगतको कथा प्रस्तुत गरिएको छ ।
नृत्यबाट उत्पत्ति भएर हिँड्न थालेको नाटकले समय क्रमसँगै विभिन्न कला (गीत–संगीत, चित्रकला, वास्तुकला आदि)लाई समेट्दै आयो । प्रविधिको विकाससँगै नाटकमा दृश्य (भिजुअल) र श्रव्यदृश्य (भिडियो) आदि अधिष्ठापन (इन्स्टलेसन) गर्न थालियो । निर्देशक खतिवडाले पनि यस नाटकमा भिडियोको सहारा लिएका छन् ।
तीन वर्षअघि खतिवडाले रंगकर्मी सुनील पोखरेलसँग मिलेर ‘माक्र्स फर्किए’ नाटकको निर्देशन गरेका थिए । त्यस नाटकमा मल्टिमिडियामार्फत आवश्यक दृश्य प्रस्तुत गरिएको थियो । यसपालि खतिवडाले नाटकमा भिडियो राखेका छन् । भिडियो वा भिजुअलको प्रयोगले नाटकको मौलिकतालाई मार्छ । नाटक भनेकै वा नाटकको मौलिकता भन्नु नै प्रत्यक्ष अभिनय हो । नाटकको कथा भन्न भिडियो वा भिजुअलको प्रयोग गर्नुले निर्देशकको कमजोरी दर्शाउँछ, अर्थात् निर्देशकले मौलिक ढंगले कथा भन्न सकेनन् । विमोक्षको कथालाई निर्देशक खतिवडाले भव्य ढंगले प्रस्तुत गरेकै हुन्, यद्यपि बीचमा खिस्रिक्क भिडियो आउँदा खल्लो लाग्छ । भिडियो राख्ने हो भने फिल्म नै बनाए भइगयो ! नाटकलाई नाटककै रूपमा रहन र हिँड्न दिन बहस हुनुपर्छ भन्ने लाग्छ, (संसारमा यस्ता बहस भएका होलान्, यस्तो जानकारीदेखि म पछाडि हुन सक्छु) ।
यस नाटकमा रश्मिदेवीको भूमिका निभाएकी पवित्रा खड्काले कामभावलाई सम्पूर्ण रूपमा न्याय गरेकी छन् । फ्ल्यासब्याककी पात्र भएकाले उनलाई नाटकभरि फोकस गरिएको छैन, अझ मञ्चको पछिल्लो भाग कौसीमा प्रेमीसहित उपस्थित हुने उनको भावभंगिमालाई दर्शकले सहजै नियाल्न सक्दैनन् । यो नाटक हेरिरहँदा लाग्यो– कहिलेकाहीँ मञ्चमा एउटा दृश्यलाई स्थापित गर्न खोज्दा अर्को दृश्य केही छायामा पर्दो रहेछ । यस नाटकमा निर्देशकले मञ्चको साजसज्जालाई बढी जोड दिएका छन्, भव्य साजसज्जाबाटै पात्रलाई स्थापित गरिएको छ, पात्रमाथि लाइट फोकस मात्र एक ठाउँमा गरिएको छ । नाटकको अन्तमा मुमाहजुरलाई फोकस गरेर वर्तमान र वर्तमानकी पात्रलाई महत्त्व दिइएको आभास हुन्छ ।
दलित मुद्दा
विमोक्ष नाटकले सामाजिक समस्या (जातीय विभेद र छुवाछुत)लाई औँल्याउँदै त्यसमाथि केही बहस समेत गरेको छ । गाउँदेखि पढ्न आएको एक दलित युवा (दीप दर्नाल)ले जातका कारण सहरमा कोठा पाउँदैन । त्यसपछि उसले कोठाका लागि नाम–थर बदल्छ, अर्थात् कमल घिमिरे भनेर आफूलाई चिनाउँछ । नामथर बदलेपछि उसले कोठा मात्रै होइन, यौन सहकर्मीका रूपमा घरधनी आन्टी (रश्मिदेवी)लाई पाउँछ । आफ्नो थरको रहस्य खुलेपछि उसले रश्मिदेवीको घर छाड्छ र अनुसन्धाता भएर निस्कन्छ । दीप दर्नालको तर्क छ– रश्मिदेवीले दीप दर्नाललाई होइन कमल घिमिरेलाई प्रेम गरेकी थिइन् र कमल घिमिरेले वृद्धा मुमाहजुरलाई होइन रश्मिदेवीलाई प्रेम गरेको थियो, यसैले यस प्रकरणमा दीप दर्नाल ओभानो छ ।
उसले वृद्ध भइसकेकी आफ्नी भूतपूर्व प्रेमिका (मुमाहजुर)लाई भेटेर आफ्ना कुण्ठाहरू व्यक्त गर्छ । अनुसन्धानमा लागेको (अझ रिसर्च सेन्टरमै काम गर्ने) एउटा चेतनशील युवाले आफ्नी भूतपूर्व प्रेमिकामाथि कुण्ठा लादेर बस्ननपर्ने हो । ऊ त तर्कहरू प्रस्तुत गरेर वा नयाँ सिद्धान्त बनाएर स्पष्ट रूपमा जात व्यवस्थाको उन्मूलनमा उभिनुपर्ने हो । आफूसँग जोडिएका विगतका घटनाप्रति स्वीकारोक्तिसहित, आवश्यक परे आत्मालोचना र क्षमायाचनासहित ऊ प्रस्तुत हुनुपर्ने हो ।
जातको उत्पत्ति तीन नियम (पेसा, विवाह र भोजनको नियम) सहित भएको थियो । हिजो सामन्ती युगमा जुन काम वा पेसालाई अपमानित र फोहोरी मानिएको थियो, आज तिनै कामको पारिश्रमिक बढेको छ र कथित अभिजात वर्गले त्यसलाई अपनाउन थालेका छन् । हिजो कुनै पेसा अपनाउँदा, भोजन र विवाहको नियम तोड्दा कैयाँै मानिस कथित साना जातमा परे, तर आज त्यही पेसा अपनाउँदा वा विवाह र भोजनका कारण कसैको जात जाँदैन । यो अवस्थामा, औचित्यहीन र विभेदकारी जात व्यवस्थाको उन्मूलनतर्फ दीपको आवाज उठ्नुपथ्र्यो ।
यस नाटकमा देश, काल र परिस्थिति पनि सही रूपमा आएको छैन । कथा अनुसार, युद्ध प्रभावित क्षेत्रमा कर्नेल श्यामकुमार गएको उल्लेख छ र उसको निधन भएकै २५ वर्ष पुगेको भनिएको छ । युद्ध प्रभावित क्षेत्र भन्नाले माओवादी प्रभावित क्षेत्र नै बुझ्नुपर्ला । जबकि २०५८ मंसिर ११ मा आएर मात्रै तत्कालीन सरकारले संकटकालको घोषणा गरी सेनालाई माओवादीविरुद्ध परिचालनका लागि आदेश दिइएको थियो । यस हिसाबले कर्नेलको मृत्यु भएको २१ वर्ष मात्रै पुग्छ ।
अर्कोतिर, त्यतिबेला जातीय विभेदका विरुद्ध कैयौँ ‘दीप दर्नाल’हरू जनयुद्धमा होमिएका थिए, लेखक र निर्देशक दुवैले यस तथ्यलाई लुकाउन खोजेका छन् । यस नाटकको पुस्तक पनि नाटकको मञ्चनसँगै सार्वजनिक गरिएको छ । पुस्तकमा नाटककार घिमिरेले लेखेका छन्, ‘मलाई माफ गरिबक्सियोस् कर्नेलनी साहेब, मैले हजुरहरूजस्ता कथित उच्चजात र विलासी मानिसहरूको विरुद्ध उभिनैपर्छ ।’ आजको चेतनशील युवाले विभेदकारी जात व्यवस्थाको उन्मूलनका लागि सबैलाई साथ लिएर अगाडि बढ्ने विचार लिनुपर्ने होइन र ?
आज चेतना र बौद्धिकताका दृष्टिले दरिद्र मानिसहरू टिकटक, फेसबुक लगायत सामाजिक सञ्जालमार्फत, आलेख र आख्यानहरूमार्फत, फिल्ममार्फत दलितका विरुद्ध खनिइरहेका छन् । गणतन्त्रपछि महिला, जनजाति, दलित लगायतले कोटा पाएका छन्, महिलाको कोटामा पर्ने बाहुन–क्षत्री नै बढी छन्, तर केही बौद्धिक दरिद्रहरूले दलितको मात्रै विरोध गरिरहेको देखिन्छ । कतिपय बौद्धिक दरिद्रहरू अपमानजनक र अन्यायपूर्ण ढंगले दलितको विषय घुसाएर, विवाद सिर्जना गरेर साहित्यका पुस्तक वा फिल्म बेच्न उद्यत समेत छन् । यस परिस्थितिमा नाटक विमोक्ष आंशिक रूपमा भए पनि दलितको पक्षमा छ ।
मञ्चमा :
मुमाहजुर : सगुना शाह
रश्मिदेवी : पवित्रा खड्का
दीप दर्नाल : घिमिरे युवराज
कमल घिमिरे : सागर खाती कामी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी
-
ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुँदैन : अध्यक्ष चन्द
-
मन्त्रालयको बजेट नगरपालिकाको भन्दा पनि कम हुँदा काम गर्न सकिएन : खेलकुद मन्त्री