रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार
आज २०७९ फागुन २१ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा बालुवाटारमा ९ दलको बैठक : संक्रमणकालीन न्याय सम्बन्धी कानुन परिमार्जन गर्ने निर्णय, प्रचण्ड, बाबुराम, विप्लव एउटै मञ्चमा, ८ दलीय गठबन्धनप्रति ओलीको टिप्पणी– सत्ता प्राप्ति र भागबण्डाको लागिमात्र राजनीति, सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए दुई तिहाइ सांसदको विश्वासको मत, उपत्यकाका केही विद्यालय आफू खुसी शुल्क बढाउँदै, कर्णालीको रङ्गशाला निर्माण दुई मन्त्रालयबीचको संघर्षमा पिल्सिँदै, पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माण अलपत्र लगायत छन् ।
१. बालुवाटारमा ९ दलको बैठक : संक्रमणकालीन न्याय सम्बन्धी कानुन परिमार्जन गर्ने निर्णय
सत्ता पक्ष निकट मानिएका विभिन्न ९ राजनीतिक दलले संक्रमणकालीन न्याय सम्बन्धी कानुन परिमार्जन गर्ने निर्णय गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सर्वोच्च अदालतको आदेशअनुसार कानुन परिमार्जन गर्ने गरी छलफल अघि बढाउने निर्णय गरेको छ ।
२. प्रचण्ड, बाबुराम, विप्लव एउटै मञ्चमा
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ एउटै मञ्चमा उभिएर १० वर्ष लामो जनयुद्धको बचाउ गरेका छन् । विगतमा एउटै पार्टीमा रहेर हाल अलगअलग पार्टीमा रहेका नेताहरु एउटै मञ्चमा उभिएर माओवादी आन्दोलन र जनयुद्धको बचाउ गरेका हुन् ।
३. ८ दलीय गठबन्धनप्रति ओलीको टिप्पणी– सत्ता प्राप्ति र भागबण्डाको लागिमात्र राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८ दलीय गठबन्धनप्रति लक्षित गर्दै सत्ता प्राप्ति र भागबण्डाका लागिमात्र राजनीति भन्ने मान्यता स्थापित गर्न खोजेको आरोप लगाएका छन् । सहिद स्मृति दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजलाई अराजकतातर्फ धकेल्ने प्रयास भइरहेको पनि बताए ।
४. सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए दुई तिहाइ सांसदको विश्वासको मत
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभामा दुई तिहाइ सांसदको विश्वासको मत प्राप्त गरेका छन् । आइतबार उनले प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् । यसैबीच नेकपा एमालेले भने आफू प्रतिपक्षमा बस्ने जनाएको छ ।
५. उपत्यकाका केही विद्यालय आफू खुसी शुल्क बढाउँदै
नयाँ शैक्षिक सत्र सुरु हुन लाग्दा काठमाडौं उपत्यकाका केही निजी विद्यालयले आफू खुसी शुल्क बढाउन थालेका छन् । सम्बन्धित पालिका भने विद्यालयले बढाएको शुल्कप्रति बेखबरजस्तै बनिरहेका छन् ।
६. कर्णालीको रङ्गशाला निर्माण दुई मन्त्रालयबीचको संघर्षमा पिल्सिँदै
कर्णाली प्रदेश गौरवको आयोजनाका रूपमा रहेको रङ्गशाला निर्माण विवादको भुमरीमा फसेको छ । सरकारकै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) स्वीकृत नगरी रङ्गशाला निर्माण गरेको भन्दै १० हजार जरिवाना तोकेपछि विवाद उत्पन्न भएको हो ।
७. ओखलढुंगामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–३ दियालेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चिसंखुगढी–३ घर भएका मीनबहादुर श्रेष्ठसहित दुई जना छन् ।
८. पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माण अलपत्र
राष्ट्रिय गौरवको आयोजनामध्येको पुष्पलाल मध्यपहाडी लोकमार्गको पहाडी खण्डको काम अलपत्र परेको छ । पहाडबाट बसाइसराइ रोक्ने र पहाडी बजारहरूलाई सहर बनाउने उद्देश्यले सुरु गरिएको सडक निर्माण करिब दुई दशकसम्म पनि सम्पन्न हुन सकेको छैन ।
९. राजधानीमा होलीको रौनक
सोमबार काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा होली अर्थात् फागु पूर्णिमा मनाइँदैछ । रङको पर्व मानिएको होलीका लागि आइतबार काठमाडौंका बजारमा किनमेल गर्नेको घुइँचो देखिएको थियो । लोसपा नेपालले आइतबार नै पार्टी कार्यालयमा होलीको शुभकामना कार्यक्रम आयोजना गरेको छ ।
१०. र यो पनि,
बारामा कानुन विपरीत सञ्चालनमा रहेका भन्दै केही अघि बन्द गरिएका क्रसर उद्योग फेरि खुल्न थालेका छन् ।
गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित उडान हुने भनिए पनि नेपाल वायुसेवा निगमको उडान अनिश्चित बनेको छ ।
सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लंघनका घटनालाई विभिन्न कारण देखाई अनन्तकालसम्म अल्झाइराख्न नमिल्ने ठहर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
-
‘सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा योगदानकर्ता र रोजगारदाता दुवैलाई नोक्सान छैन’
-
‘हामी भारत कि चीन भनेर लडिरहेका छौँ’
-
घाइते भएका कारण नेपाल प्रिमियर लिगबाट बाहिरिए दक्षिण अफ्रिकी बलर डे लान्ज
-
प्रचण्डले चीन भ्रमण गर्दा चाइना कार्ड नहुने, ओलीले गर्दा हुने ?
-
कर्णाली डेभपलमेन्ट बैंक ‘समस्याउन्मुख’, वित्तीय कारोबार गर्न रोक