सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश : समयमै काम नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउने तयारी

‘अब पनि काम नगरे म्याद थप हुँदैन’
आइतबार, २१ फागुन २०७९, २० : ४७
आइतबार, २१ फागुन २०७९

विराटनगर । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्काको समयावधि थप नगर्ने चेतावनी दिएको छ ।

पटक–पटक म्याद थप गरेर काम गर्ने अवसर दिँदा पनि विभिन्न बहाना गरेर तीन आर्थिक वर्षमा ३० प्रतिशतसम्म पनि काम नगर्ने ठेकेदारलाई तत्काल कामको प्रगति बढाउन मन्त्रालयले चेतावनी दिएको हो ।

काम ढिला गर्ने २५ भन्दा बढी निर्माण कम्पनीका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर मन्त्री दुर्गा प्रसाद चापागाईँले पूँजीगत खर्च बढाउन र रोकिएका काम सम्पन्न गर्न भइरहेको कठिनाइको विषयमा जानकारी लिएका हुन् । सो क्रममा उनले मन्त्रालयको तर्फबाट गर्नुपर्ने काम तत्कालै गरिने तर निर्माण कम्पनीले पनि सोही अनुसारको काममा तीव्रता बढाउनु पर्ने बताए ।

‘मन्त्रालयले तीन पटकसम्म म्याद थपेका निर्माण कम्पनीको पुनः म्याद थप्ने गरी मैले क्याबिनेटमा प्रस्ताव लान्न,’ चापागाईँले निर्माण कम्पनीका प्रतिनिधिलाई सम्बोधन गर्दै भने, ‘काम गर्ने जिम्मा तपाईँहरूको हो । निर्माण कम्पनीको समस्या हामीले पनि बुझेका छौँ । तर, सम्झौता अनुसार काम गर्ने त फेरि पनि तपाईँहरू नै हो । मन्त्री भएर क्याबिनेटमा ठेकेदारको निर्माण अवधि बढाउन भन्दै फाइल बोकेर म जान्न ।’

मन्त्रालयका सचिव मोहनराज चापागाईँले पनि विभिन्न बहानामा काम रोक्न नहुनेमा जोड दिए । ‘कन्ट्रयाक डकुमेन्टमा साइट हेरेर मात्रै ठेक्का हाल्नु भनेर बकाइदा भनेको छ । तर, भौगोलिक कठिनता लगायत अन्य कतिपय विषय ल्याएर काम रोक्न पाइँदैन । साइट क्लियरेन्स र बिल पेमेन्टको कुरा हामीले सहयोग गर्छौं,’ चापागाईँले भने, ‘मैले अघिल्लो आर्थिक वर्षमा १ सय भन्दा बढी आयोजनाको समयावधि थप गरेँ । अहिले भने केही फाइल रोकिएको छ । म्याद थप्नुपर्ने कारण के हो ? जहिले पनि कोभिड ? पानी प¥यो भनेको छ । यो त जहिल्यै आउने कुरा हो नि ।’

सचिव चापागाईँले सार्वजनिक खरिद ऐनको ११ औं र १२ औं संशोधनले म्याद थपलाई सहयोग गरेको भए पनि अब म्याद थप्न समस्या हुने बताए । ‘हामी २०७९ सालको अन्तिममा छौँ । अब दुई वटै संशोधनले छुँदैन । क्याबिनेटमा लगेर म्याद थप गर्ने कुरा राम्रो होइन । कतिपय ठेक्का कम्पनीको पाँचौं पटकसम्म म्याद थप गरिएको छ । एक पटक दुई पटक पो हुन्छ त हौ साथी हो, कति पटक म्याद थप गर्ने ?,’ उनले प्रश्न गरे ।

समयमै काम नसक्ने निर्माण कम्पनीलाई जरिवाना तिराइने चेतावनी पनि उनले दिए । ‘अब पेनाल्टी पनि लाग्छ । म्याद थपको विषयलाई लिएर हाम्रो द्वन्द्व हुने अवस्था छ,’ उनले भने, ‘दुई वटा म्याद थप गरिसकेपछि तेस्रोमा जानसक्ने अवस्था छैन । कानुनको विषयलाई हेरेरै तपाईँहरूले ठेक्का लिनु भएको हो ।’

उनले निर्माण व्यवसायीको समस्याका विषयमा आफू जानकार रहेको र समाधानका लागि लागिपर्ने पनि बताए । ‘समयमै पेमेन्ट भएन भने तपाईँहरूले काम गर्न सक्नुहुन्न । हामीलाई थाहा छ । युक्रेन युद्ध र कोभिडको समस्या पनि थाहा छ । तर, ठेक्का लिइसकेपछि काम गर्नुपर्ने तपाईँहरूको बाध्यता हो । अफिसले सक्ने सहयोग गर्छ । पेमेन्टको समस्या समाधानका लागि हामी काम गरिरहेका छौँ,’ सचिव चापागाईँले भने, ‘कसैले काम गरेर पनि पैसा नपाउने अवस्था देखिएको छ । कसैले आयोजनामा पर्याप्त पैसा भएर पनि काम नहुने अवस्था छ । त्यसो चाहिँ हुनु भएन ।’

उनले तीन वर्षसम्म पनि ३० प्रतिशतभन्दा कम प्रगति गर्ने निर्माण कम्पनीको विषयमा फरक तरिकाले मन्त्रालयले सोच्ने पनि बताए । ‘हामीले ३ वर्षसम्म पनि ३० प्रतिशतभन्दा कम प्रगति हुनेको बारेमा केही न केही निर्णय गरेर जानुपर्ने सोचेका छौँ,’ चापागाईँले भने, ‘हाम्रो डिसिजन भनेको बैंकलाई पत्र लेख्ने र कारबाही गर्ने नै हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप