मौलिकता गुमाउँदै होली
कञ्चनपुर । हिन्दु परम्परामा विजय उत्सवका रूपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ । पौराणिक मान्यताअनुसार असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा होली पर्व मनाउने गरिन्छ ।
होलीमा इतिहास तथा पुराणका विभिन्न कालखण्डका घटनासँग सम्बन्धित विषयवस्तुलाई प्रस्तुत गरिन्छ । विभिन्न देवीदेवताका गाथा एवम् स्तुति तथा इतिहास, प्रसिद्ध वीर पुरुषका गाथालगायत सामाजिक तथा प्राकृतिक विषयवस्तुमा आधारित गाथा प्रस्तुति हुने गरेपनि पछिल्लो समय केवल रङ्गमा मात्रै होली सीमित हुने गरेको छ ।
साहित्यकार कविराज भट्ट होली प्रस्तुतिका आधारमा खडी तथा बैठी गरेर दुई किसिमको हुने गरेको बताउँछन् ।
‘खडी’ होली गोलाकार रूपमा पङ्तिबद्ध भई नृत्य तथा अभिनय गर्दै प्रस्तुत हुन्छ भने ‘बैठी’ होली बसेर तालीसँग खेल्ने गरिन्छ । “अहिलेको पुस्ता त होली भनेपछि रङग दल्ने मात्रै बुझ्न थालेको छ, होलीको आफ्नै मौलिकता छ”, उनले भने,“होलीको महिमा र गरिमालाई अहिलेका पुस्ताले अपनाउनु जरुरी छ ।”
होलीमा विभिन्न लोक बाजाको प्रयोग गरिन्छ । देवस्थल, सार्वजनिकस्थल तथा घर–घरमा गएर होली खेल्ने चलन छ । होली विजय तथा खुसीयालीको पर्व भएकाले विशेष गरी रङ लगाउँदै मनोरञ्जन गरिन्छ । होलीमा विभिन्न विषय वस्तुमा आधारित गाथाका साथै आशिर्वादसमेत दिने गरेको पाइन्छ । होलीमा प्रस्तुत गरिने गाथामा हाम्रो इतिहास एवम् मौलिक पहिचान लुकेको प्रगतिशील लेखक सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमेश पन्त मीतत्रन्धुले बताए ।
“भाषा, साहित्य एवम् लोक साहित्य र लोकवार्ताका विषयवस्तुलाई झल्काउने भएकाले यसको गहन अध्ययन तथा प्रस्तुतिमा निरन्तरता दिनु आवश्यक छ”, उनले भने,“वर्तमान समयमा पश्चिमा संस्कृति हाबी हुँदै गएपछि हाम्रा मौलिक पहिचान बोकेका संस्कृति लोप हुँदै गएका छन् ।”
होलीलाई अतिरञ्जनात्मक बनाइ मादकपदार्थ सेवन तथा जथाभावी रङ दल्ने परिपाटी बढ्दै गएपछि होलीको मौलिकता हराउँदै गएको छ । “होलीको मौलिकता हराउनु भनेको हाम्रो इतिहास र मौलिक पहिचान हराउनु हो,” पन्तले भने,“यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो ।”
होलीमा गाइने लोक गीतसँगै प्रयोग हुने लोकबाजासमेत हराउन थालेको छ । अहिले होलीमा डिजेको प्रयोग गरेर नाच्ने र रमाइलो गर्ने गरिन्छ । हाम्रा लोकबाजा र मौलिक गीत हराउन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
सुकुटी बेचेर मासिक दुई लाख आर्जन
-
पूर्वाञ्चल विश्वविद्यालयले विराटनगरमा बालविकासबारे अन्तर्राष्ट्रिय सम्मेलन गर्दै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति छ ? (सूचीसहित)
-
वायु प्रदूषण बढेको भन्दै वातावरण विभागले दियो यस्तो सुझाव
-
राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दरखास्त आह्वान