बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

लोकतन्त्रलाई न्याय चाहियो भन्दै माइतीघरमा धर्ना

आइतबार, २१ फागुन २०७९, १२ : ५३
आइतबार, २१ फागुन २०७९

काठमाडौँ । जुम्लाका नन्दराज उपाध्याय लोकतन्त्रलाई न्याय चाहियो भन्दै माइतीघरमा धर्नामा बस्दै आएका छन् । पूर्ण लोकतन्त्रको आधुनिक मान्यतामा लोकतन्त्र रक्षाका लागि निर्वाचन प्रणालीका मुख्य सुधारात्मक प्रक्रियाहरू अगाडि बढाउनुपर्ने माग गर्दै उनी ७ फागुन २०७९ बाट माइतीघरमा धर्ना थालेका हुन् । 

उनले मुख्यतः चार वटा विषय अगाडि सारेका छन् । जसमा प्राइमरी इलेक्सन, राइट टु रिजेक्ट, राइट टु रिकल र विदेशमा भएका नेपाली नागरिकलाई मतदाताको अधिकार कार्यान्वयनमा ल्याउनुपर्ने उनको माग छ । 

सर्वोच्च अदालतले २१ पुस २०७० मा नो भोटको व्यवस्था गर्न सरकारको नाममा निर्देशनात्मक आदेश दिएको थियो । कुनै पनि उम्मेदवारलाई मत दिन्न भन्ने अधिकारलार्य सर्वोच्च अदालतले तत्काल लागू गर भन्दै सरकारको नाममा आदेश दिएको थियो । तर, सरकारले अहिलेसम्म उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन सकेको छैन । उनले तत्काल उक्त व्यवस्था लागू गर्नुपर्ने माग अघि सारेका छन् । 

त्यस्तै असक्षम वा अयोग्य प्रतिनिधिलाई फिर्ता बोलाउन पाउने अधिकारको व्यवस्था गर्नुपर्ने माग राखेका छन् । सर्वोच्चले ४ चैत २०७४ मा विदेशमा भएका नेपाली नागरिकहरूलाई मतदानको अधिकार दिन आदेश जारी गरेको थियो । तर, सरकारले उक्त व्यवस्था पनि कार्यान्वयन गर्न सकेको छैन । उनले त्यसलाई पनि आफ्नो मागको रूपमा अघि सारेका छन् ।

dharna2

यति गर्न सकियो भने मात्र सर्वमान्य सिद्धान्तमा आधारित सुधारिएको चौथो पुस्ताको लोकतन्त्र बलियो हुने उनको भनाई छ । 

उनको आन्दोलनमा जय महाकाल युवा समूहले समर्थन गर्दै आएको छ । उनले उठान गर्दै आएका माग जायज भएको भन्दै आफूहरूले समर्थन गर्दै आएको जय महाकाल युवा समूहका केन्द्रीय कार्य समिति सदस्य बाबा बराजुलीले बताए । 

यसअघि गत मङ्सिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन अघि उनले निर्वाचन आयोगमा यो व्यवस्था लागू गर्न भन्दै निवेदन दिएका थिए । तर, निर्वाचन आयोगले पत्र दर्ता मात्र गरेको उपाध्यायले बताए । 

विदेशमा रहेका नेपालीले पठाएको नोटले नै देश चल्ने तर, उनीहरूलाई भोटको अधिकारबाट वञ्चित गराइएको उनको भनाई छ । सर्वोच्च अदालतले दिएको आदेशको पालना गर्न राज्य असक्षम रहेको भन्दै उनले भने, ‘यी माग पुरा नहुँदासम्म मेरो आन्दोलन जारी रहन्छ ।’

उनले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यहरूलाई खाम पत्र पनि तयार पारेका छन् । सबै सांसदहरूलाई धर्ना स्थलमा आएर आफ्नो खाम पत्र बुझिदिनु उनले अनुरोध गरेका छन् । त्यस्तै पार्टीका अध्यक्ष र संसदीय दलका नेताहरूलाई विशेष ज्ञापन पत्र समेत तयार पारेका छन् । अहिलेसम्म कसैले पनि बुझेर नलगेको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप