धनुषामा मोटरसाइकल दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु
शनिबार, २० फागुन २०७९, २२ : ५१

जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । शनिबार साँझ करिब साढे ८ बजेको समयमा जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत लक्ष्मिनिया गाउँपालिका ४ सपहिमा भएको दुर्घटनामा स्थानीय ६० वर्षीय सत्य साह र ४५ वर्षीय राम एकवाल साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
महेन्द्रनगरबाट जनकपुरतर्फ गइरहेको ट्र्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक र त्यसमा सवार अर्का एकजनाको मृत्यु भएको डिएसपी गौतमले बताए । सपहीको जानकी पोल इण्डस्ट्रीज अगाडि ज १० प ६४२९ नम्बरको मोटरसाइकल र ज १प ४५५२ नम्बरको ट्याक्टर ठोक्किएको प्रहरीको भनाई छ ।
दुर्घटनालगत्तै ट्याक्टर चालक फरार भएका छन् । फरार ट्याक्टर चालकको पहिचान भइसकेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।