शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

यसरी सम्भव भयो ब्रेन डेथ भएका व्यक्तिबाट कलेजो प्रत्यारोपण

शनिबार, २० फागुन २०७९, १० : १७
शनिबार, २० फागुन २०७९

काठमाडौँ । मस्तिष्क मृत्यु (ब्रेन डेथ) पछि गरिएका अंगदानबाट कलेजो र मिर्गौला प्रत्यारोपण गरिएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ब्रेन डेथपछि गरिएको अंगदानबाट दुई जनाको मिर्गौला प्रत्यारोपण र एक जनामा कलेजो प्रत्यारोपण गरिएको अस्पतालका कार्यकारी निर्देशक तथा मिर्गौला रोग विशेषज्ञ डाक्टर पुकारचन्द्र श्रेष्ठले  बताए । ब्रेन डेथ भएका व्यक्तिबाट कलेजो प्रत्यारोपण गरिएको नेपालमा पहिलोपटक हो । 

यही फागुन १६ गते दुई वटा मिर्गौला रुपन्देही मायादेवी गाउँपालिका वडा नम्बर ४ पविका ४७ वर्षीया र सिराहा जिल्लाका सिराहा नगरपालिका एकका ३५ वर्षीय पुरुषमा प्रत्यारोपण भएको थियो । यस्तै, कलेजो प्रत्यारोपण ललितपुर महानगरपालिका वडा २५ का ६८ वर्षीय पुरुषलाई प्रत्यारोपण गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए । यसैगरी मस्तिष्क मृत्यु भएकी एक किशोरीबाट प्रत्यारोपण मिर्गौला प्रत्यारोपण निर्देशक डा. श्रेष्ठले जानकारी दिए । 

वि.सं. २०७४  बैशाख २८ गते पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गबाट प्रत्यारोपण सुरु गरिएको थियो । त्यस पश्चात् हालसम्म जम्मा पाँच जना व्यक्तिबाट अङ्ग प्राप्त गरी १३ जनामा प्रत्यारोपण गरिएको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनाएको छ । 

प्रत्यारोपण समूहमा कोको थिए ?

फागुन १६ गते ब्रेन डेथपछि अंगदानपछि प्रत्यारोपणको नेतृत्व कलेजो तथा मिर्गौला प्रत्यारोपण विज्ञ डाक्टर पुकारचन्द्र श्रेष्ठले  गरेका थिए । कलेजो प्रत्यारोपणमा डा.रोशन घिमिरे, डा. ललित कुमार दास र भारतीय प्रत्यारोपण विशेषज्ञ चिकित्सकहरूको सहभागिता थियो । 

मिर्गौला प्रत्यारोपण कार्यमा प्रा.डा. राकेश कुमार बर्मा, प्रा. डा पवन चालिसे, डा. दिपेश श्रेष्ठ, डा.रवि किरण गौतम, डा. हरि बराल, डा. रोजन अधिकारी लगायत सर्जरीमा कार्यरत चिकित्सकको सहभागिता थियो । 

यस्तै, एनेस्थसिया तथा क्रिटिकल केयरमा डा.आरती राई,डा. निभा श्रेष्ठ,डा शोभित थापा, डा रश्मित श्रेष्ठ लगायतले सहयोग गरेको थिए । 

नेफ्रोलोजी विभागबाट डा.कल्पना कुमारी श्रेष्ठ, डा.लुसन सिंह, डा.सुमित आचार्य, डा. जुजु राज श्रेष्ठ, डा. सुरेश महर्जन, डा विक्रमवीर बज्राचार्य, रेडियोलोजि विभागबाट डा.शमिर दवाडी, डा. गौरव श्रेष्ठ, डा. जस्मिन जोशी, डा. विवेक नेपाल,प्याथोजिष्ट डा.सविना श्रेष्ठ, टान्सपलान्ट कोर्डिनेटर तारा साँध, अर्चना बगाले, सुरु कोजु, फिजियोथेरापिष्ट सोनी सिखवल, नर्सिङ  पूजा कोइरालाको नेतृत्वमा नर्सिङ इन्चार्ज अस्मिता कटुवाल, बबिता लवजु अनिता कार्की, मिना खर्वुजा, मञ्जु भट्टराईले नर्सिङ व्यवस्थापन तथा बिरामीको उपचारको लागि आवश्यक व्यवस्था मिलाएको थिए ।  

ब्रेन डेथपछि प्रत्यारोपण कसले गर्न पाउँछन् ?

मस्तिष्क मृत्यु हुने जीवित व्यक्तिले आफू जीवितै हुँदा मस्तिष्क मृत्यु पश्चात् अङ्ग दान गर्न मन्जुरी दिएको अवस्थामा मात्र अङ्ग प्रत्यारोपण गर्न सकिने व्यवस्था मानव शरीरको अङ्ग प्रत्यारोपण नियमित तथा निषेध ऐन २०५५ को पहिलो संशोधन २०७२ तथा नियम २०७३ मा उल्लेख गरिएको छ । 

सरकारले मस्तिष्क मृत्यु पश्चात् अङ्ग दान तथा प्राप्त हुने अङ्गग्रहण गर्न चाहने व्यक्तिको प्राथमिकता सूची बनाउने र प्राथमिकताको सूची अद्यावधिक गरी राख्ने डा. श्रेष्ठले बताए ।  झिकेको अङ्गलाई नियममा उल्लेख गरिए अनुसार   प्राथमिकताको आधारमा  प्रत्यारोपण गरिने कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए । 

सो कार्य लागि केन्द्रले समन्वय इकाई स्थापना गरेको छ । सोही इकाईमार्फत मस्तिष्क मृत्यु पश्चात् प्राप्त गरिएको अङ्गको लागि नियमावलीमा तोकिए अनुसार प्राथमिकताको आधारमा सिफारिस गरिने उनले बताए । 

गाडेर खोर वा जलेर खरानी हुने अङ्गलाई दान गर्न सके एक जनाको ब्रेन डेथबाट ८ जनाले नयाँ जीवनदान पाउन सक्ने उनले बताए । एक जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट ८ वटा अङ्गहरूमा २ वटा मिर्गौला, २ वटा फोक्सो, १ वटा कलेजो, १ मुटु, १ प्यानक्रियाज, १ सानो आन्द्रा, लगायत प्रयोग गर्न सकिन्छ । 

के हो मस्तिष्क मृत्यु ?

कार्यकारी निर्देशक डा. श्रेष्ठका अनुसार मस्तिष्कले गर्ने सम्पूर्ण काम बन्द भई रिसिभ अनि रेस्पोन्स गर्न छाडेपछि पनि शरीरका अन्य अङ्गले केही समय काम गरिरहेको हुन्छ । मस्तिष्कले काम नगरेको अवस्थामा अन्य अङ्गले काम गरिरहेको अवस्थालाई मस्तिष्क मृत्यु भनिन्छ । सडक दुर्घटनामा परेर, रुखबाट लडेर या कुनै कारणले टाउकोमा गम्भीर चोट लागेमा मस्तिष्कको मृत्यु हुन सक्छ । यस्तै, मस्तिष्क घात ‘स्ट्रोक’ हुँदा पनि मस्तिष्क मृत्यु हुन्छ । 

जस्तै ब्लड प्रेसर हाइ भई रगतको नसा फुटेर मस्तिष्क घात हुँदा, मस्तिष्कमा चोट लागेर यसको कार्य क्षमतामा ह्रास आउँदा, औषधि उपचार असफल भई मस्तिष्कले गर्ने कार्य सम्पूर्ण बन्द भई कहिल्यै पनि नफर्किने गरी कार्य क्षमता बन्द हुनुलाई साधारण भाषामा मस्तिष्क मृत्यु भनिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप