जाबो एउटा कुर्सीको निम्ति

सहिदको रगत
माथि शैलुङ्ग डाँडामा
रातो गुराँस बनेर फुलेको छ
आमाहरूको आँसु
बगर छेउको सागरमा मिसिएर
नुनिलपानी बनेको छ,
थुप्रै थुप्रै आफ्नाहरूको
अनगिन्ती सहोदर सहगोत्रीहरुको ।
करङको भर्याङ बनाउँदै
मेरुदण्डलाई लिस्नु बनाएर
ठुलो मान्छे बनेर
विजयको गीत गाएर
ठुलो सहरको ठुलो महलमा
विराजमान भयो ।
कुर्सीको खेलमा
जायज नाजायज कुकर्म गर्यो ।
के के गर्यो
के के गरेनौँ
गरेको छ लेखाजोखा ?
जाबो एउटा कुर्सीको निम्ति ।
भुल्न सक्छौँ समकालीन इतिहास
खण्डन गर्न सक्छौँ
तिम्रा तीतो झुटहरूको विश्लेषण
हताश मनले
तिमीलाई विचलित पार्छ, पार्दैन ?
अन्धकारले घेरिएको भविष्यलाई
सम्झेर काँप्दैन तिम्रो अदृश्य मन ?
के मात्रै भनेको थिएनन्
चुपचाप मिलेर बसेको जनतालाई
जहाँ पुग्यो, जता पुग्यो
जे मन लाग्यो,
त्यहीँ कुरा दिन्छु भनेर हिँड्यौँ ।
तामाङलाई ताम्सालिङ्ग
मगरलाई मगरात
के के ...
गोजीको प्राइभेट बस्तु जसरी
बाँड्दै हिँड्यौँ ।
जाबो एउटा कुर्सीको निम्ति ।
दुई चार केजी वजन भएको कुर्सी
काटकुट गरेर चुलोमा बाल्ने हो भने
दुई छाक खाना पाक्लान् ।
सिपालुकर्मीको हात परे
एक दुई घण्टामा बन्लान् ।
त्यही कुर्सीको निम्ति
कति गर्छौ तानातान, हानाहान
आफू आफैमा मारामार ।
कति फेर्छौ इमानदारिताको रङ्ग
कति फेर्छौ स्वार्थी गुँड
कति मरिहत्ते गर्छौ
एक जुनीलाई
जाबो एउटा कुर्सीको निम्ति
याद गर,
तिम्रो आश्वासनको पुलिन्दाहरू
ज्वारभाटाको रूप लिएर
निश्चित समयमा
आशाको उल्टो निराशा बनेर
विस्फोटको वसन्त
बन्न बेर लाग्दैन ।
टुटेको मनहरू
झरीमा रुझेको,
आँखाको डिलहरू
फाटेको दौराको,
इज्जत बचाउँदै गरेको
हातको औँलाहरू
पुनः बन्दुकको,
ट्रिगर दबाउन बेर लाग्दैन ।
बिटुलो भएको आत्मीयता
रोएर कमजोर भएको नठान ।
चेत फर्काऊ
कुर्सीको खेलमा
आफूले आफैलाई धोका नदेऊ
जाबो एउटा कुर्सीको निम्ति ।
काभ्रे, पाँचखाल
हालः लिमासोल, साइप्रस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असल अभ्यास आदानप्रदान गर्न स्थानीय निकायबिच समन्वय हुनुपर्छ : महर्जन
-
विश्वकपको यात्रामा वर्षा बाधक बन्दा समर्थकको नाराबाजी, खेलाडी निराश
-
काठमाडौँ उपत्यकाको वायु प्रदूषण कम गर्न साइकलमैत्री कानुनको माग गर्दै प्रदर्शन (तस्बिरहरू)
-
पटक-पटक नाकबाट रगत बग्छ ? हेमोफिलिया हुनसक्छ
-
वर्षाका कारण विश्वकप खेल्ने नेपालको सपना चकनाचुर
-
राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक : सभामुख घिमिरे