बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय
कथा

गल्लीको चिया पसल, ऊ र म

शनिबार, २० फागुन २०७९, ०७ : ४०
शनिबार, २० फागुन २०७९

जब म हरेक दिन काम गर्न कार्यालय पुग्छु र गल्लीको चिया पसलमा उसलाई उभिई रहेको देख्छु । 

खै किन किन, उसलाई देख्नासाथ म एकाएक अत्तालिएको महसुस गर्छु र उसलाई त्यहाँ दिनहुँ देख्दा उ किन मेरो  कार्यालयको छेवैमा रहेको गल्लीको चिया पसलमा आउँछ होला भनी सोच्न बाध्य हुन्छु । 

किनभने उसको गल्लीको चिया पसलमा दिनहुँ हुने उपस्थितिले मलाई हिजोआज कार्यालय आउन मनै लाग्न छाडिसकेको छ ।  

उ मेरो अगाडि कहिल्यै देखा नपरोस् जस्तो लाग्छ तर मैले चाहेको जस्तो कहाँ हुँदो रहेछ र ? मनले नचाहँदा नचाहँदै पनि हरेक दिन जस्तो म उसलाई देख्न बाध्य हुन्छु । 

उसलाई देख्न नपरोस् भनेर म गल्लीको चिया पसलतिर सकभर मेरा आँखा नजाउन् भन्ने सोच्छु । तर, किन हो किन गल्लीको चिया पसलतिर मेरा आँखाहरू दौडन्छन् । र, जब उ मेरो सामु पर्छ र मेरा नजरहरू ऊसँग जुध्छन्, म भित्रैदेखि गलेको महसुस गर्छु । आफूलाई सम्हाल्दै स्वाभाविक स्थितिमा आउने प्रयास गर्छु । 

कहिलेकाहीँ उसको नजिकबाट हिँड्दा उ मसँग बोल्न आउँछ कि भन्ने लाग्छ । त्यसैले, उसलाई देख्नासाथ म अर्कोतर्फ फर्कन्छु र डराउँदै, अत्तालिँदै फटाफट आफ्नो पाइलाहरू अगाडि बढाउँछु । किनभने मलाई ऊ जस्तो व्यक्तिसँग एक शब्द पनि बोल्न मन छैन । 

उसको छेउमा पर्दा म भित्र डर, क्रोध, आत्मग्लानि, लज्जाबोध लगायतका भावनाहरू एकैपटक विस्फोट भएर आउँछन् । जब जब म  उसलाई देख्छु, तब तब म उसले मलाई दिएको धोका र पीडाहरू सम्झन बाध्य हुन्छु  । आफू अपमानित भएको महसुस गर्छु । किनभने उसले मलाई गरेको अपमान मैले आजसम्म बिर्सिन सकेकी छैन । उसले दिएका पीडाका घाउहरू अझैसम्म ओभाएका छैनन् ।

गल्लीको चिया पसलमा देखा पर्ने व्यक्तिलाई बिर्सिएर म नयाँ  जिन्दगी सुरु गर्न चाहन्छु । त्यसैले, मैले उसलाई  फेसबुक, टिकटक सबैमा ब्लक गरेकी छु । उसले म्यासेज गर्छ  कि भन्ने डरले मैले मोबाइल नम्बर नै चेन्ज गरेकी छु । मलाई डर छ, कतै उसले मेरो मोबाइल नम्बर पत्ता लगाएर मलाई सताउने त होइन ? 

ऊ मसँग कहिल्यै नबोलोस् भन्न चाहन्छु । त्यसो त दिनहुँ भेट हुँदा पनि खै किन हो कुन्नि, उ आजसम्म म सँग बोल्न आएको भने छैन । उसले मलाई देख्दा कस्तो महसुस गर्छ, त्यो त मलाई थाहा छैन तर उ पनि मलाई देख्दा नदेखेको जस्तो गर्छ । र, आफूलाई स्वाभाविक बनाउने प्रयास गरेको मैले महसुस गरेकी छु । 

आज मलाई उ मेरो कुनै बेलाको प्रेमी हो भन्नु पर्दा लज्जाबोध महसुस हुन्छ । कुनै समय ऊसँग मेरो नाम जोडिदा म गर्व महसुस गर्थे भने आज मलाई ऊसँग मेरो प्रेम सम्बन्ध थियो भन्नु पर्दा पश्चाताप लाग्छ । कुनै समय ऊसँग हुँदा म सबैभन्दा बढी सुरक्षित महसुस गर्थे भने आज उसलाई देख्नासाथ म असुरक्षित महसुस गर्न थालेकी छु ।

गल्लीको चिया पसलमा देखा पर्ने त्यो व्यक्तिलाई मनदेखि माया गर्नु नै आज मलाई अभिशाप बन्न पुगेको छ । आखिर के गरिन र मैले उसको लागि ? 

तर जहिलेदेखि उसले मेरै बहिनीको अगाडि मलाई अपमानित गर्‍यो, यो कुरा मैले आजसम्म  बिर्सन सकेकी छैन । म उसलाई सबैभन्दा बढी विश्वास गर्थे र आफ्ना कुनै पनि कुरा नलुकाएर ऊसँग बाँड्ने गर्थे तर आज उसले त्यो विश्वास तोडेको छ । 

उसलाई म सबैभन्दा बढी माया र सम्मान गर्थे । उसलाई म सधैँ हजुर भनी सम्बोधन गर्थे तर आज उसकै बानीको कारण आज म उसलाई तँ भनी सम्बोधन गर्न बाध्य भएकी छु । 

हुन त ऊ मसँग पटक पटक माफी माग्न नआएको चाहिँ होइन तर मैले नै उसलाई माफी माग्ने अवसर पनि दिएकी छैन । किनकि उ माफी दिन योग्य पनि छैन ।

उसले मलाई यति रुवाएको छ कि मेरा आँखामा अब आँसु पनि शायदै  बाँकी होला । आज म उसलाई प्रेम होइन, घृणा गर्छु । किनभने १४ वर्षको प्रेम सम्बन्धमा उसले मलाई सधैँ रुवाई रह्यो र सताईरहयो र ऊसँगको प्रेम सम्बन्धमा मैले उसबाट  तिरस्कार, अवहेलना, पीडा सहेर पनि उसलाई प्रेम गरिरहेकी नै थिएँ र पटकपटक उसका गल्तीहरू माफ गदै उसलाई साथ दिई नै रहेकी थिएँ । तर, आफ्नै बहिनीको अगाडि मलाई अवहेलना गरेको कुरामा चाहिँ म उसलाई माफ गर्न सकिरहेकी छैन ।

तर जति घृणा गरे पनि २–४ दिन गल्लीको चिया पसलमा उसलाई नदेख्दा मेरो मन अत्तालिन्छ र म आफैलाई सोध्छु, उ कहाँ गएको होला भनेर । अनि, आफैले आफैलाई प्रश्न गर्छु, हैट, कस्तो अनौठो सम्बन्ध हो उसको र मेरो ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण राज पाण्डेय
किरण राज पाण्डेय
लेखकबाट थप