शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
दुर्गम

कर्णालीमै बिरानो छ तालागाउँ

शनिबार, २० फागुन २०७९, ०७ : ०१
शनिबार, २० फागुन २०७९

सुर्खेत । संघीयता कार्यान्वयनपछि ‘गाउँ–गाउँमा सिंहदरबार’को नारा गुञ्जिएको पनि पाँच वर्ष बितिसकेको छ । तर कतिपय ग्रामीण भेगका नागरिकले अझै संघीयताको अनुभूति गर्न पाएका छैनन् ।

कर्णाली प्रदेशको सुगम जिल्ला मानिन्छ सुर्खेत । तर यही जिल्लाका कतिपय गाउँका बासिन्दाले मानव जीवनमा आवश्यक पर्ने शिक्षा, स्वास्थ्य, यातायात जस्ता आधारभूत सुविधाको अनुभूति नै गर्न पाएका छैनन् । त्यसै मध्येको एक गाउँ हो–तालागाउँ ।

वीरेन्द्रनगरबाट १२१ किलोमिटर पश्चिम क्षेत्रमा पर्ने यो गाउँमा बाहिरका मान्छे कमैमात्र पुगेका होलान् । पुगेकाहरुले कर्णालीमै बिरानो गाउँका रुपमा यसलाई लिने गरेका छन् ।

हुन पनि कर्णालीलाई नेपालका ७ प्रदेशमध्ये सबैभन्दा कम विकसित र गरिब प्रदेश भनिन्छ । अविकसित र दुर्गम क्षेत्रको पर्यायवाची बनेको कर्णालीमै पनि बिरानो मानिने गाउँको अवस्था कस्तो होला भनेर सहजै अनुमान गर्न सकिन्छ ।

सुर्खेतको पश्चिमी भेगमा रहेको यो गाउँलाई तीनतिर कर्णाली र घना जंगलले घेरेको छ भने पूर्वतर्फ अग्लो चट्टानी पहाड छ । नदी र पहाड बिचको खोँचमा अवस्थित यो गाउँ चारैतर्फबाट ताला लागेझैं भौगोलिक अवस्थाका कारण नै ‘तालागाउँ’ नाम रहन गएको बताइन्छ । अछाम र डोटी जिल्लासँग सीमाना जोडिएको यो गाउँ चौकुने गाउँपालिका–१ अन्तर्गत पर्दछ । यद्यपि स्थानीयवासीले साविक लगाम–४ भनेरै आफ्नो ठेगाना बताउने गर्दछन् । पर्चा, पम्प्लेट, स्कुल परिसरभित्र पनि साविककै नाम लेखिएको भेटिन्छ ।

सञ्चार तथा प्रविधिले फड्को मारेको यो युगमा पनि तालागाउँ बासिन्दा बाहिरी दुनियाँसँग सम्बन्ध विच्छेद भएर बस्ने गरेका छन् । मोबाइल नेटवर्कसमेत नभएको यो गाउँका अधिकांश बासिन्दा वीरेन्द्रनगर त परै जावस्, पालिकाको मुकाम गटुसम्म पुग्ने सामर्थ्य पनि राख्दैनन् ।

झण्डै ६० वर्ष पुरानो यो गाउँ अहिले पनि ६० वर्ष अघिकै अवस्थामा छ । यहाँ डोटीको मेल्टा र अछामका व्यक्तिको बसोबास रहेको छ । झण्डै ५५ घरधुरी र करिब २०० जति जनसंख्या रहेको तालागाउँमा साउद, बुढा जातिको बाहुल्यता छ ।

स्थानीय रुद्र बुढाका अनुसार केही अघिसम्म ७० भन्दा बढी घर थिए, तर अशिक्षा, बेरोजगारी र चरम गरिबीका कारण १० प्रतिशतको हाराहारीमा कैलालीतर्फ बसाइँ सरिसकेका छन्, जुन क्रम अहिले पनि चलिरहेको छ ।

०००००००

कष्टकर जीवन

गगनसिं बुढा उमेरले ५६ वर्षका भए । उनका अनुसार ०४७ तिर अछाम ढकारीबाट तालागाउँ आउँदा खासै बस्ती र खेतीयोग्य जमिन थिएन । पछि विस्तारै मान्छेको बसोबास बढ्यो । अन्यत्र भौतिक सुविधा बढे पनि यो गाउँलाई विकासले छुन सकेन । परिणामस्वरुप यहाँका कतिपय बासिन्दा बसाइँ सर्न थालेको उनी बताउँछन् ।

‘आयस्रोत अरु केही छैन । गाईबाख्रा पाल्ने, खेतीपाती गरेर गुजारा चलाउँछौं, दुःख नै छ,’ उनले भने, ‘उब्जनी गरेको अन्नले २ महिना पनि खान पुग्दैन ।’

उनीजस्तै ०३८ सालतिर डोटीबाट आएका आइते दमाईको परिवारमा १० जना छन् । उनको परिवारका कोही पनि जागिरे छैनन् । जग्गाजमिन पनि थोरै भएकाले ‘के खाउँ के लाउँ’ भन्ने सास्तीकै बिच दिन बितिरहेको उनी बताउँछन् ।

ya maila kam gardai

उनी भन्छन्, ‘साल फेरियो तर हाम्रा दुःख उस्तै, सामान्य बिरामी हुँदा पनि औषधि गर्ने पैसा हुँदैन ।’ कैलालीको चौमला, बर्दिया, राजापुर लगायतका ठाउँबाट चामल, नुन बोकेर पनि कुनै समय जीवन निर्वाह गरेको बताउने उनी अहिले त आर्थिक अभावका बिच चामल सहजै किन्न सक्ने अवस्था पनि नरहेको बताउँछन् ।

स्थानीय रुद्र बुढाका अनुसार चेतनाको विकास नहुँदा यहाँका मान्छे पछि परेका हुन् । उनी थप्छन्, ‘सबैभन्दा पहिला चेतनाको विकास नभएसम्म परिवर्तन सम्भव छैन, गाउँबाट यताउता कहीँ नजाने, शिक्षाको अभावका कारण युवा पुस्ता विद्यालयभन्दा बढी गोठाला जान्छन्, त्यसैले यहाँका मान्छे चरम गरिबीकोे दुष्चक्रबाट माथि उठ्न नसकेका हुन् ।’

१५ जनाको परिवारका मुली रहेका उनी दैनिकी चलाउनकै लागि संकट हुँदै गएको बताउँछन् । ‘एक बोरा चामललाई २ हजारदेखि २२ सय तिर्नुपर्छ, एक बोरा चामल ल्याउन दुई दिन पैदल यात्रा गर्नुपर्छ,’ उनी भन्छन्, ‘हामीलाई कम दुःख छैन ।’

त्यसैले पनि यहाँका बासिन्दा जुनसूकै राजनीतिक व्यवस्थामा पनि आफूहरुको जीवनस्तरमा केही परिवर्तन हुन नसकेको गुनासो गर्दछन् । चौकुने गाउँपालिकाको मुकाम गुटुबाट यो गाउँ ६० किलोमिटर पश्चिममा पर्छ भने वडा कार्यालय पनि १५ किलोमिटरको दुरीमा छ । आफ्नै पालिका र वडा कार्यालयभन्दा बढी सामिप्यता कैलालीतर्फ रहेको तालागाउँबासी बताउँछन् ।

वडा कार्यालय र सदरमुकाम टाढा भएरै यो गाउँका कतिपयले नागरिकता समेत बनाएका छैनन् । रुद्र बुढा ३० वर्षका भए तर उनको नागरिकता छैन । ०६८ सालमै कक्षा ८ सम्म पढाई गरेका उनी त्यसपछि रोजगारीका लागि भारत गए । केही वर्ष कमाएर फर्किएपछि उनले विवाह गरे, चार छोराछोरी जन्मिसके तर नागरिकता बनाएका छैनन् । उनी भन्छन्, ‘नागरिकता लिएरमात्र के गर्नु, राज्यले हामीलाई नागरिकको दृष्टिकोणले हेर्नुपर्यो नि !’

तालागाउँका मान्छेहरु बढीजसो भारतको रत्नागिरी, मनाली लगायतका ठाउँमा मौसमी रोजगारीका लागि जाने गरेका छन् । मंसिर–पुसमा जाने र वैशाखमा गाउँ फर्किने चलन रहेको उनले बताए । यही बिचको समयमा भारतमा कमाइ गरेको पैसाले वर्षभरि परिवार धान्नुपर्ने उनको भनाइ छ ।

०००००००

जब गाउँ नै थलियो

०७४ मा तालागाउँमा भाइरल ज्वरो सतायो । मान्छेहरु घरबाट उठेर यताउता हिँड्न सक्दैन थे । गाउँमा बाहिरबाट माखोसमेत छिरेन । औषधि उपचार गर्न गाउँबाट बाहिर जान न भौतिक सुविधा छ, न पैसा ।

स्थानीय रुद्र बुढाका अनुसार महिना दिनसम्म मान्छे घरभित्रै थलिए । लामो समयसम्म गाउँमा महामारी चले पनि बाहिर खबर पुगेन । उपचार नपाउँदा पाका उमेरका दुई जनाको मृत्यु नै भयो । त्यसपछि मात्रै कतैबाट तालागाउँमा भाइरल ज्वरोको प्रकोप छ रे भन्ने खबर पालिकासम्म पुगेको थियो ।

त्यसपछि चौकुने गाउँपालिकामा कार्यरत जनस्वास्थ्यकर्मी गगन पाण्डेको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली त्यहाँ पुगेको थियो । पाण्डे भन्छन्, ‘हामी पुगेपछि अब जीवन बाँच्ने भयो भनेर स्थानीयको मुहारमा चमक आएको थियो, गाउँ पुरै लखतरान परेको रहेछ । हामीले दुई दिन शिविर चलाएर उपचार गर्यौँ ।’

पाण्डेको बुझाइमा तालागाउँ देशभित्रकै एउटा अर्कै मुलुकजस्तो छ । गाउँ प्रवेश गर्ने बित्तिकै अर्कै दुनियाँमा प्रवेश गरेजस्तो अनुभूति हुने उनी बताउँछन् ।

०६४ मा संविधानसभाको चुनावको तयारी हुँदै थियो । गुटु लगामबाट केही पार्टीका कार्यकर्ता प्रचारका लागि तालागाउँ पुगेका रहेछन् । त्यही बेला गाउँकी एक जना महिला सुत्केरी भइन् । उनले बच्चा त जन्माइन् तर उच्च रक्तस्रावका कारण ज्यान गुमाइन् । चौकुने गाउँपालिकाका उपाध्यक्ष नरबहादुर बान्तोला भन्छन्, ‘चुनाव प्रचारमा गएकाहरुले उपचार नपाएर सुत्केरी महिलाको मृत्यु भएको खबर ल्याएपछि हामीले थाहा पाएका थियौँ ।’

स्थानीयका अनुसार ०६१ सालमा पनि सुत्केरीकै क्रममा एक जना महिलाको मृत्यु भएको थियो ।

कोरोना महामारीको समयमा एक जना अहेवसहित सामुदायिक स्वास्थ्य इकाई राखिएको छ । त्यो राख्नु र नराख्नुको कुनै औचित्य नभएको स्थानीयहरुको भनाइ छ । ‘सामान्य बिरामीको पनि औषधि पाइँदैन,’ आइते दमाई भन्छन्, ‘ज्वरो आएको औषधि पनि हुँदैन ।’

aaite damai

उनका अनुसार त्यहाँ सुत्केरी छाउ विकराल छ । सुडेनीको सहायतामा गोठमा सुत्केरी गराउनुपर्ने बाध्यताले महिलाको ज्यान जोखिममा छ । अझै सुत्केरी हुँदा अस्पताल जाने चलन भइनसकेको उनको भनाइ छ ।

पछिल्लो समय कतिपय गर्भवती महिला महिना पुगेपछि कैलाली जाने, उतै बस्ने र बच्चा जन्मिसकेपछि मात्रै गाउँ फर्कने गरेको स्थानीय रुद्र बुढाले सुनाए । उनका अनुसार अहिले पनि गाउँका ४ जना गर्भवती महिला कैलालीमा छन् ।

००००००००

शिक्षाको छैन पहुँच

तालागाउँको समजी प्राथमिक विद्यालय छ । तर विद्यालयमा विद्यार्थीको संख्या न्यून छ । गत बुधबार उक्त विद्यालयमा पुग्दा ५ कक्षामा २ जान छात्रमात्रै थिए, कमल र सुशिल साउद । उनीहरुले विद्यार्थी अरु पनि भएको र आज स्कुल नआएको जवाफ दिए । कक्षा ५ सम्म पढाइ हुने विद्यालयका अरु कक्षामा पनि ७ जना भन्दा बढी विद्यार्थी भेटिएनन् ।classs 5

विद्यालयको कार्यालय कोठाका चारैतर्फ भित्तामा विद्यार्थीका सिकाईका लागि पोष्टर टाँगिएका थिए– जहाँ लेखिएको थियो ‘समजी प्राथमिक विद्यालय लगाम–४’ । अहिले चौकुने गाउँपालिका–१ मा पर्ने विद्यालयमा साविककै ठेगाना लेखिएको थियो ।

विद्यालयका सहायक प्रधानाध्यापक तुलासिं साउदका अनुसार ८४ जना विद्यार्थी रहेको विद्यालयमा ३ जना शिक्षक छन् । तर हिजोआज ७४ जना विद्यार्थी विद्यालय आउँछन् । नियमित भने ४० जनाको हाराहारीमा पनि विद्यालया नआउने उनको भनाइ थियो ।

head sir

यो विद्यालय ०३९ सालबाटै सुरु भएको हो । त्यो बेला निजी स्रोतबाट चलाइएको थियो । पछि ०४४ सालबाट औपचारिक रुपमा पठनपाठन सुरु भएको साउले बताए ।

०३९ सालबाट अहिलेसम्म विद्यालयले ५५ लाखको एउटा भवनमात्र पाएको छ । तर उक्त भवन पनि जीर्ण छ । झ्याल ढोका टुटफुटको अवस्थामा देखिन्थे भने भित्री संरचना निकै दयनीय छ ।

००००००

५ कक्षामाथि पढ्न अछाम जानुपर्ने बाध्यता

Bharat budha

गाउँमा ५ कक्षासम्म पढ्न विद्यालय भए पनि त्योभन्दा माथिल्लो कक्षाका लागि विद्यार्थीहरु अछाम पुग्नु पर्दछ । कक्षा ७ मा अध्ययन गर्दै आएका भरत बुढा अछामको ढकारी गाउँपालिका–४ बलातास्थित श्री माध्यामिक विद्यालयमा पढ्छन् ।

गाउँबाट त्यहाँ पुग्न उनलाई घना जंगलको बाटो पैदल ३ घण्टा लाग्छ । उनले कक्षा ७ मा पढ्ने आफू गाउँकै एक्लो विद्यार्थी रहेको सुनाए । एक्लै विद्यालय जान उनलाई निकै डर र त्रास लाग्छ । अर्कोतर्फ आर्थिक अभाव ।

तर डाक्टर बन्ने सपना बोकेका उनी दुःखकष्ट झेलेर पनि विद्यालय जाने गरेको बताउँछन् । उनका बुबा रुद्र बुढाका अनुसार कक्षा ७ देखि १० कक्षासम्म पढ्दै गरेका विद्यार्थीको संख्या ३–४ जनामात्र छ । ‘बाहिर गएर पढ्न पैसा हुँदैन, कि पारी अछाम जानुपर्यो, कि ३–४ घण्टाको यात्रापछि धनरास पुग्नुपर्यो,’ उनले भने, ‘टाढाको यात्रा र आर्थिक अभावकै कारण यहाँका मान्छेहरु पढाइ गर्दैनन् ।’

००००००

तालागाउँको ताला कहिले खोलिन्छ ?

दशकौँदेखि बन्दी तालागाउँको ताला अब खोलिने स्थानीयवासीको अपेक्षा छ । चौकुने गाउँपालिकाले विकासको नाममा सडक पु\याउने काम गरिरहेको छ । गाउँका बुद्धिजीवी तिलासिं भन्छन्, ‘यो ठाउँमा राज्यको आँखा नपुगेको हो, नेतृत्वबाट पनि बिमुख भयो । तर यहाँका नागरिकले हरेकजसो चुनावमा भोट हाल्छन्, यो राजनीति भन्ने नै खत्तम रहेछ, कहिल्यै हाम्रा दुःख बुझेन ।’

चौकुने गाउँपालिकाका उपाध्यक्ष नगरबहादुर बान्तोला तालागाउँको विकासलाई आफूहरुले प्रमुख चासोको रुपमा लिएको बताउँछन् । तत्कालै आधारभूत आवश्यकता पूरा गर्न पालिकालाई कठिन रहे पनि क्रमशः गाउँको अवस्थामा सुधार गर्दै लैजाने उनले बताए ।

शिक्षा, स्वास्थ्य, यातायातबाट बिमुख यो गाउँमा मोबाइलको टावर नहुँदा सम्पर्क विहीन हुने गरेको छ । यो समस्या तत्काल समाधान गर्नेतर्फ आफू अग्रसर भएको सोही क्षेत्रका सांसद विन्दमान विष्टले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप