बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

भृकुटी कागज कारखानाको ऋण तिर्न गोल्छा अर्गनाइशेजन तयार, १ वर्षको ग्रेस अवधि पाउने

शुक्रबार, १९ फागुन २०७९, १३ : १५
शुक्रबार, १९ फागुन २०७९

काठमाडौं । भृकुटी कागज कारखानाको ऋण तिर्न गोल्छा अर्गनाइजेशन तयार भएको छ । कारखानाको जग्गा बेचेर बक्यौता ऋण तिर्न स्वामित्वकर्ता हितेश गोल्छा तयार भएसँगै लगानीकर्ता नेपाल बैंक र हिमालय बैंकले कम्पनीलाई थप १ वर्ष ग्रेस समय दिन तयार भएका हुन् । कारखानामाथि नेपाल बैंक र हिमालयन बैंक गरी १ खर्ब ५० अर्ब रुपैयाँमाथिको लगानी रहेको छ । 

वि.स. २०३९ सालमा चिन सरकारको सहयोगमा नवलपुर गैँडाकोटमा भृकुटी कागज कारखाना सञ्चालनमा ल्याइएको थियो । मुलुकभित्रै कागजको उत्पादन गरी आत्मनिर्भर बन्न चिन सरकारले कारखानाको निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तर, कारखाना सञ्चालनको १ दशक पनि नबित्दै सरकारले उक्त कागज कारखाना निजी क्षेत्रलाई सुम्पियो । 

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले वि.स. २०४९ सालामा भृकुटी कागज कारखाना गोल्छा अर्गनाजेशनलाई सुम्पियो । गोल्छा अर्गनाइजेशनसहितको ज्वाइन्ट भेन्चर (जेभी) कम्पनीलाई १ हजार ८० कट्ठा जमिन र औद्योगिक उपकरणसहित १३ करोड रुपैयाँमा कारखाना बेचिएको थियो ।  

तर, निजीकरण भएसँगै कारखाना राम्रोसँग सञ्चालन हुन सकेन । निरन्तर उत्पादनमा कमजोर बन्दै गएको कागज कारखाना अन्ततः २०६७ फागुन १९ देखि पूर्ण रूपमा बन्द हुन पुग्यो ।

त्यसबेला कारखानाको क्षमता विकास गर्न भन्दै गोल्छा अर्गनाइजेशनले बैंकसँग करिब ८५ करोड रुपैयाँ व्यावसायिक ऋण लिएको थियो । सोही ऋणको ब्याज, हर्जाना बढेर झण्डै दोब्बर भइसकेको छ । तर, उद्योग बन्द भएको १२ वर्ष बितिसक्दा समेत बैंकहरुले सो कर्जा फिर्ता पाउन सकेका छैनन् । 

अन्ततः भृकुटी कागज कारखानाका स्वामित्वकर्ता हितेश गोल्छाले कारखानाको जग्गा बेचेर ऋण तिर्न राजी भएपछि बैंकहरुले थप एक वर्षको समय दिने भएका हुन् । 

गोल्छाले नै एक वर्ष भित्र ऋण तिर्ने प्रतिबद्धता जनाएपछि थप समय प्रदान गरिने तयारी गरिएको नेपाल बैंकले जनाएको हो । यद्यपि, यसबारेमा निर्णय नै चाहिँ भई नसकेको प्रमुख कार्यकारी अधिकृत (सिईओ) केष्णबहादुर अधिकारीले जानकारी दिएका छन् । 

तत्कालीन समयमा भृकुटी कागज कारखानाका मुख्य सञ्चालक दिवाकर गोल्छा थिए । दिवाकरको निधनपछि यो कारखानाको स्वामित्व उनका छोरा हितेश गोल्छामा आएको छ । 

कागज कारखानाले चर्चेको कूल १ हजार ८० कट्ठा मध्ये ८ बिघा जग्गा भने कम्पनीले यसअघि नै बेचिसकेको छ । गैडाकोटमा अहिले सडकले छोएको ठाउँमा एक कट्ठा जग्गाको न्यूनतम मूल्य १ करोड पर्छ । यस हिसाबले १ बिगाहको २० करोड रुपैयाँ पर्छ । भृकृटी कागज कारखानासँग ५२ बिगाह जग्गा रहेको छ । सो जग्गा बिक्री गर्दा न्यूनतम १० अर्ब ४० करोड रुपैयाँ पर्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप