साना हातमा ठुला गुलेली कहिलेसम्म ?
विश्वभरिमा रहेका चराका कुल प्रजातिहरूमध्ये ८.१ प्रतिशत प्रजातिका चरा नेपालमा पाइन्छन् । चराहरूको संरक्षणमा कार्यरत अन्तर्राष्ट्रिय संस्था वर्ल्ड लाइफ इन्टरनेशनलका अनुसार विश्वमा करिब ११ हजार विभिन्न प्रजातिका चराहरू छन् । सो मध्ये ८ सय ९१ प्रजातिका चराहरू नेपालमा पाइन्छन् ।
जमिन तथा भू–भागको हिसाबले विश्वको कुल भूभागको ०.१ % मात्र क्षेत्रफल ओगटेको नेपालमा यति धेरै प्रजातिका चराहरू पाइनु हाम्रो लागि गर्वको विषय हो ।
समुद्री सतहबाट ५७ मिटर उचाईमा रहेको धनुषाको मुसहरनियादेखि सगरमाथाको चुचुरो ८,८४८.८६ मिटरसम्म उचाइ नेपालको भौगोलिक सतह छ । यसर्थ, संसारमै सबैभन्दा बढी भौगोलिक विविधता भएको देश नेपाल हो । त्यसैले, संसारका विभिन्न हावापानी, भूगोल तथा वातावरणमा बाँच्ने विभिन्न प्रजातिका पक्षीहरूका लागि यही ठाउँ प्यारो भएको हो ।
यी चराहरू कुनै जंगलमा, कुनै सिमसारमा त कुनै खेतीयोग्य जमिनमा आश्रित छन् । त्यसै गरी कतिपय सहरी चराहरू पनि छन् । चराहरू पारिस्थितिकीय प्रणालीका महत्त्वपूर्ण अङ्ग, कृषकका साथी एवं प्राकृतिक कुचीकार हुन् ।
आकाशमा उड्ने, वनजंगल र सिमसारमा बस्ने चराले प्रकृतिको पारिस्थितिक प्रणाली (इको सिस्टम) लाई बचाइ राख्न मुख्य भूमिका खेल्ने हुँदा कुनै पनि प्रजातिका चरालाई सङ्कटमा पार्न नहुने चराविज्ञ तथा जलपंक्षी गणनाका अगुवा प्रा.डा हेमसागर बरालको तर्क छ ।
विश्वमै सबैभन्दा महँगो पर्यटन क्षेत्रमध्ये चरा पर्यटन पनि एक हो । यस क्षेत्रमा रमाउन चाहने पर्यटकले महिनौँ बिताउनुपर्ने भएकाले सोही अनुसारको खर्च पनि गर्छन् ।
बरालले पंक्षी संरक्षणमा जोड दिँदै चरा गणना प्रतिवेदनमा भनेका छन्, ‘चराले बालीनाली नाश गर्ने कीरा फट्याङ्ग्रा तथा शत्रुजीव नखाइदिने हो भने संसारका किसानले गर्ने फलफूल तरकारी र खाद्यवस्तु उत्पादनमा नकारात्मक प्रभाव पर्छ । वनजंगलका विरुवा अर्को ठाउँमा उमार्नुमा पनि चराकै मुख्य भूमिका छ ।’
त्यतिमात्र नभएर जलपंक्षीले पारिस्थितिक प्रणाली र टेरेस्टेरियल सिस्टमलाई जोड्ने काम गर्दै आएको छ, यसले समग्र वातावरणीय पर्यावरणमा एकरूपता कायम हुने गरेको छ । मानवीय समाजका लागि अपरिहार्य पारिस्थितिक प्रणालीलाई बचाउने चराको विभिन्न प्रजाति सङ्कटमा पर्नु मानिसका लागि नै खतराको संकेत हो ।
विश्वमै सबैभन्दा महँगो पर्यटन क्षेत्रमध्ये चरा पर्यटन पनि एक हो । यस क्षेत्रमा रमाउन चाहने पर्यटकले महिनौँ बिताउनुपर्ने भएकाले सोही अनुसारको खर्च पनि गर्छन् ।
चरा पर्यटकका लागि उपयुक्त पर्यटकीय गन्तव्य हो नेपाल । हालसम्म यहाँ चरा पर्यटनको गति फस्टाउँदै गएको देखिन्छ । चरा हेर्न, चरा अध्ययन र अनुसन्धान गर्नकै लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरू नेपाल आउने गरेका छन् ।
बाहिरबाट नेपाल आउने कुल पर्यटकमध्ये आठ प्रतिशत चरा हेर्नकै लागि आउने गरेका पर्यटन व्यवसायीको अनुमान छ । यसले मुलुकको अर्थतन्त्र मजबुत पार्न तथा कुल गार्हस्थ्य उत्पादनमा टेवा पुगिरहेको छ । सोही कारण लेकसाइड, सिमसार तथा रामसार क्षेत्रका पर्यटन व्यवसायीहरूले जलपंछी हेर्न आउनेलाई लक्षित गरी प्याकेज नै बनाएका छन् ।
चरा तथा चराजन्य सामग्रीको तस्करी र सिकारले चराको अस्तित्वमा संकट थपेको छ । ठुला तथा अनुभवी सिकारीमात्र होइन, स–साना बालबालिकाहरू पनि चराको सिकारमा संलग्न हुने गरेका छन् ।
तर पछिल्लो समय चराहरूको बासस्थान मासिदै गएकोले चराको अस्तित्व सङ्कटमा परेको छ । चराविज्ञ तथा जलपंक्षी गणनाका संयोजक एसोसिएट प्राडा हेमसागर बरालका अनुसार नेपालमा रहेका प्रजातिहरूमध्ये १६८ प्रजाति चराको अवस्था सङ्कटमा परेको छ । उनले पछिल्लो एक दशकमा नेपालमा १९ प्रजातिका चरा सङ्कटमा परेको बताएका छन् ।
त्यसै गरी चीन, साइवेरियालगायत अफ्रिका र एसियाका विभिन्न मुलुकहरूबाट नेपाल भ्रमणमा आउने पाहुना चराहरूको प्रजाति घट्न थालेको विज्ञहरूले बताएका छन् । सिमसार क्षेत्रको विनाश, डढेलो, प्रदूषण, वन विनाश, विषादीको प्रयोग, करेन्ट, जलवायु परिवर्तनलगायतको कारण चराको बासस्थान सङ्कटमा परेको हो ।
यतिमात्र नभई चरा तथा चराजन्य सामग्रीको तस्करी र सिकारले चराको अस्तित्वमा संकट थपेको छ । ठुला तथा अनुभवी सिकारीमात्र होइन, स–साना बालबालिकाहरू पनि चराको सिकारमा संलग्न हुने गरेका छन् । गाउँघरका बालकहरू विद्यालय समय बाहेकका समय चरा सिकार गरेर बिताउँछन् । उनीहरू हातमा गुलेली बोकेर चराको सिकारमा रुख विरुवा भएका स्थल, सिमसार एवं जंगल चहार्ने गरेका छन् । अन्नबालीमा पासो थाप्ने, लिसो राख्ने चलन त पुरानै हो ।
तराई मधेस क्षेत्रका बालकहरूको मुख्य शिकार बगेडी चरा हो । यहाँका होटल, रेस्टुरेन्टलगायत लाइन होटल र सेकुवा कर्नरहरूमा समेत बगेडी चराको अबैध व्यापार हुने गरेको छ । बगेडी चराको नाममा भँगेरा चरा, फिस्टे र गौँथली चराहरूसमेत बाल शिकारीको निसानामा पर्ने गरेका छन् ।
यसरी चराको सिकार गर्नु कानुनतः अबैध हो । “द स्टेटस् अफ नेपालस् बर्डस् २०१०’ का अनुसार नेपालमा अवैध सिकार र व्यापारका चपेटमा परेका चराहरुमध्ये २९ प्रतिशत चराका प्रजाति नेपालबाट लोप हुन सक्ने अवस्थामा छन् ।
चराविज्ञ तथा संरक्षणकर्मी हेमबहादुर कटुवालका अनुसार पछिल्लो दशकमा बगेडी व्यापार उच्च मूल्यमा फस्टाएकोे छ । उनले मधेस प्रदेशमा बगेडी व्यापारबारे गरेको एक अध्ययनअनुसार स्थानीयहरु बगेडी खाएमा जाडो भाग्ने र शरीरमा गर्मी पैदा हुन्छ भन्ने विश्वास गर्छन् । चराको मासु भरपुर पौष्टिकयुक्त हुन्छ भन्ने सर्वसाधारणको विश्वासले पनि चरा सिकारले तीव्रता पाएको देखिन्छ ।
बगेडी चराको सिकार गर्दै चरा सिकारमा बानी परेका र कमाई देखेका बालकहरू बिस्तारै ठुला र दुर्लभ चराहरूको सिकार एवं चराजन्य बस्तुहरूको तस्करीमा लहसिने गरेको पाइएको राष्ट्रिय निकुञ्ज विभागका पूर्व महानिर्देशक डा रामचन्द्र कँडेलको भनाई छ ।
चरा शिकारलाई कतिपय बालकहरुले मनोरञ्जनात्मक कार्य तथा खेलको रूपमा पनि लिँदै आएको पाइन्छ । मधेस प्रदेश सरकारका पूर्व वन सचिवसमेत रहेका डा. कँडेलका अनुसार बालकहरूमा सानैदेखि लागेको बानीले किशोर तथा युवावस्था हुँदै अगाडि बढ्दा सिकारको लत झन् गाढा हुँदै जान्छ । जसले उनीहरूको मनोविज्ञानमा नकारात्मक असर परी कुनै पनि अबैध शिकारतर्फ उन्मुख हुने सम्भावना बढी हुन्छ ।
“द स्टेटस् अफ नेपालस् बर्डस् २०१०’ का अनुसार नेपालमा अवैध सिकार र व्यापारका चपेटमा परेका चराहरुमध्ये २९ प्रतिशत चराका प्रजाति नेपालबाट लोप हुन सक्ने अवस्थामा छन् ।
मनोविज्ञहरूका अनुसार बाल्यकालका घटनाहरू मानवका लागि अति प्यारो र चीरस्थायी हुन्छ । मानिस युवा, बयस्क वा बृद्ध हुँदा पनि उसको अन्तरमनमा बाल्यकाल लुकेर बसेको हुन्छ र बाल्यकालको कुरालाई पुनरावृत्ति गर्ने चाहना राख्दछ । संरक्षणका निम्ति मानिसको बाल्यकाल नै सुधारिएको हुनुपर्छ भन्ने कुरा यसले पुष्टि गर्छ ।
बालकहरू भविष्यका कणर्धार हुन् । यी बालकहरूलाई चरा संरक्षणको बाटोमा लगाउन नसके संरक्षण शब्दको अवशेष बाँकी रहनेछैन । यसबारे मुलुकका तीनै तहको सरकार र समाज अनि बालबालिकाका अभिभावकको ध्यानाकर्षण जरुरी छ ।
नेपालमा चरा संरक्षणबारे कानुन नभएको होइन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार राष्ट्रिय निकुञ्ज वन्यजन्तु आरक्ष, मध्यवर्ती क्षेत्र, संरक्षण क्षेत्रमा कसैले कुनै पनि पंछी मारेमा, हानी गरेमा, बेचबिखन गरेमा वा सो गर्न सघाएमा दफा २६ (५) अनुसार २० हजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना र ६ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ ।
यद्दपि चरा संरक्षणका नीति नियमहरू कागजी रूपमा मात्रै सीमित छ । यसलाई व्यावहारिक रूपमा लागु गर्न सबैभन्दा पहिले समाज र अभिभावकमा चरा संरक्षणबारे चेतना जागरणको खाँचो छ ।
साना हातमा ठुला गुलेली लिएर बालकहरू चरा सिकारमा हिँड्दा सबैभन्दा पहिले उसलाई देख्ने अभिभावक र समाज नै हुन् । यी दुवै पक्ष मूकदर्शक बन्ने मात्रै होइन कि वर्तमान अवस्थामा बालबालिकालाई सिकारमा थप प्रोत्साहित गरिरहेका छन् भन्दा अतिशयोक्ति नहोला ।
कतिपय विद्यालयमा इको–क्लब दर्ता भए तापनि सक्रिय छैनन् । इको–क्लबलाई प्रभावकारी बनाई चरा संरक्षणको विषयलाई विद्यार्थीमाझ जोड्न सके यी साना हातमा ठुला गुलेली देखिने प्रवृत्ति न्यून गर्न सकिन्छ ।
चरा संरक्षणका लागि आधारभूत तहमा नै संरक्षणसम्बन्धी पाठ्यक्रम समावेश गरिनु पर्छ । वर्तमान व्यवस्थामा स्थानीय आवश्यकताअनुसार स्थानीय पालिकाले पाठ्यक्रम तयार गरी एउटा विषय राख्न पाउने हुँदा संरक्षण शिक्षा राख्नेतर्फ पालिकाको पहल कदमी हुनुपर्छ ।
हरेक निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र, सिमसार तथा रामसार क्षेत्र, वनका साथै कृषि क्षेत्रसँग सम्बन्धित पालिकाहरूले संरक्षण शिक्षा लागु गरेमा चरा तथा पंक्षी संरक्षणका साथै जैविक विविधताको संरक्षणमा सकारात्मक योगदान पुग्ने छ ।
लेखक वन विज्ञान स्नातक दोस्रो वर्ष (चौथो सेमेस्टर)मा अध्ययनरत छिन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूरा भयो ट्रम्पको मन्त्रीमण्डल
-
गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित
-
नवलपरासी पूर्वमा ‘विद्यार्थीसँग प्रशासन’ अभियान सुरु
-
कुनै समयमा कट्टर प्रतिद्वन्द्वी एन्डी मुरेलाई आफ्नो प्रशिक्षक बनाए नोभाक योकोभिचले
-
सभामुख घिमिरे र कम्बोडियन समकक्षीबिच भेटघाट
-
दुर्गा प्रसाईँको मुद्दा न्यायाधीश शर्माको इजलासमा पेसी