तनहुँमा वनको जग्गा बन्धकीमा लिएर सामूहिक खेती

तनहुँ । म्याग्दे गाउँपालिका–१ गुणादीस्थित बाराही सामुदायिक वन उपभोक्ता संस्थाले जग्गा बन्धकीमा लिएर गरिब परिवारलाई सामूहिक खेती गर्न दिएको छ ।
संस्थाले उक्त वडामा रहेका तीन सय आठ घरधुरीमध्ये सम्पन्नता स्तरीकरणका आधारमा गरिब तथा विपन्न परिवार छनोट गरी जग्गा उपलब्ध गराएको हो । स्थानीय केदारनाथ वाग्ले र शिवप्रसाद वाग्लेको साढे ३६ रोपनी जग्गा बन्धकीमा लिएर वडाका १८ घर परिवारलाई खेती गर्न दिइएको संस्थाका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिए ।
वार्षिक रु आठ लाख २५ हजार बुझाउने गरी पाँच वर्षका लागि उक्त जग्गा सम्झौता गरी लिइएको उनले बताए । अति विपन्न पाँच परिवारलाई रु ६५ हजारका पाँच पाडा खरिद गरी वितरणसमेत गरिएको स्थानीय टेकबहादुर कामीले बताए ।
वडामा रहेका गरिब तथा विपन्न परिवारलाई सबल बनाउन संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए । जग्गा प्रशस्त मात्रामा पाएपछि मकै, धान र तरकारी खेती गरेर राम्रो उत्पादन गर्दै आएको संस्थाकी सचिव देउमाया थापाले बताइन् । स्थानीय केशीमाया आलेले आफ्नो प्रशस्त जग्गा नहुँदा बिहान बेलुकाको छाक टार्न पनि धौधौ भएको अवस्थामा सामुदायिक वनले जग्गा उपलब्ध गराएर ठूलो राहत प्रदान गरेको बताइन् ।
यसवर्ष आलुखेतीबाट एक घर परिवारले ८० किलो आलु पाएको उनले बताइन् । मङ्सिरे र चैते धान गरी वर्षमा एक जनाको भागमा करिब १७ मुरी धान पाउँदा घर परिवार चलाउन सहज भएको उनले जानकारी दिइन् ।
स्थानीय राममाया विक र कलावती परियारले पनि आफ्नो जग्गा नहुँदा परिवार पाल्न कठिनाइ हुँदै आएकामा अहिले जग्गा पाएपछि खेती गरेर परिवार पाल्न सजिलो भएको बताइन् । उक्त सामुदायिक वनले समाजमा उदाहरणीय कार्य गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?
-
नेपालमा कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?
-
सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारीले भनिन्-‘हिमालमा जीवन छैन’
-
‘प्रोजेक्ट बैङ्क’मा राखिएका १० हजारबढी आयोजना कटौती
-
आर्सनलको बराबरीले लिभरपुललाई उपाधि जित्न सहज, च्याम्पियन बन्न १ अंकको आवश्यकता