मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : आजका टप १० समाचार

बुधबार, १७ फागुन २०७९

आज २०७९ फागुन १७ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

प्रदेश १ को नाम ‘कोशी प्रदेश’, दुई तिहाईभन्दा बढी मतले पारित
प्रदेश नम्बर १ को नाम ‘कोशी प्रदेश’ हुनुपर्ने नेकपा एमालेको प्रस्ताव दुई तिहाई मतभन्दा बढी मतले पारित भएको छ ।
दुईवटा संविधानसभा र एउटा प्रदेशसभाले पार लगाउन नसकेको प्रदेश १ को नामको टुंगो प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै लागेको छ ।

सैनिक अधिकृतलाई अदालतमा उपस्थित गराउन आदेश

नेपाली सेनाले नियन्त्रणमा लिएको दुईजना सैनिक अधिकृतलाई सर्वोच्च अदालतले उपस्थित गराउन आदेश गरेको छ । उपरथी प्रेम प्रकाश शाहीलाई सघाएको आरोपमा सेनाले प्राड विभागमा कार्यरत महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदिप तिम्सिनालाई नियन्त्रणमा राखेको छ ।

सरकारमा सहभागी हुँदै लोसपा

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेस प्रदेश र लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने भएको छ । आठ दलीय सत्ता गठबन्धनमा सहभागी लोसपाले संघीय सरकार र प्रदेश सरकारमा पनि सहभागी हुने भएको हो । लोसपाका कार्यकारिणी समिति सदस्य सर्वेन्द्रनाथ शुक्लाले मधेस प्रदेश र लुम्बिनी प्रदेशमा सहभागी हुने बताएका हुन् ।

मन्त्रीविहीन मन्त्रालय

गत पुस १० गते सरकारमा सहभागी भएका दलहरु एमाले, राप्रपा र रास्वपाले सरकार छोडेपछि यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को काँधमा १८ वटा मन्त्रालय छन् । यतिबेला सरकारमा प्रधानमन्त्रीसहित माओवादीका ६ मन्त्री र जनमत पार्टीका १ मन्त्री सहितको मन्त्रीमण्डल रहेको छ । विभागीय मन्त्रीहरु नहुँदा विभिन्न १८ मन्त्रालय सुनसान बनेका छन् भने मन्त्रालयको दैनिक कामकाज प्रभावित बन्न पुगेको छ ।

१८ दिन पर धकेलियो प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभाको बैठक आगामी चैत ५ गतेसम्मका लागि सारिएको छ । सभामुख देवराज घिमिरेको आग्रहमा आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको संघीय संसद सचिवालयले जनाएको छ ।

सन्दीप प्रकरणमा सर्वोच्चको आदेश

क्रिकेटर सन्दीप लामिछाने प्रकरणमा सोमबार सर्वोच्च अदालतका प्रवक्ताले पढेर सुनाएको आदेश र न्यायाधीशको हस्ताक्षर भएको आदेशमा भिन्नता पाइएको छ । सन्दीपलाई थुना बाहिरै रहन लिइएको आधारबारे सोमबार वाचन गरिएको आदेश र न्यायाधीशबाट हस्ताक्षर भएको आदेशमा केही भिन्नता देखिएको हो ।

भोट माग्न वामदेव निवासमा केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वामपन्थी नेता वामदेव गौतमलाई भेट्न भैंसेपाटी पुगेका छन् । नेकपा विभाजनपछि गौतम एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेर छुट्टै गतिविधि सञ्चालन गर्दै आएका छन् । राष्ट्रपतिमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ एमालेबाट उम्मेदवार बनेपछि राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमलाई भेट्न अध्यक्ष ओली उनको निवास पुगेका हुन् । 

चुनाव चिन्ह परिवर्तन

राष्ट्रिय स्वतन्त्र पार्टीले हालको चुनाव चिन्ह परिवर्तन गरेको छ । यसअघि गोलाकार भित्रको घण्टी परिवर्तन गरेर ‘घण्टी’ मात्र राखेको हो । 

पौडेलले पठाए पत्र

राष्ट्रपति चुनावमा आठ दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै मतदाताहरूलाई मत माग्दै पत्र पठाएका छन् ।

सीआईबीको प्रतिवेदन

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पृथ्वीबहादुर शाहसहितको समूहबारे अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । बुधवार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

सरकारको आनाकानी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा व्यवस्थापन गर्ने मापदण्ड बनाउँदै छ । तर, मापदण्ड अघि नै धमाधम कर्मचारी सरुवा गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया