पृथ्वी शाहलाई साढे ११ वर्ष कैद सजाय गर्नुपर्ने सीआईबीको प्रतिवेदन
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पृथ्वीबहादुर शाहसहितको समूहबारे अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । बुधवार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।
ब्युरोले अनुसन्धानमा भएको प्रगतिबारे पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । अछाम घर भएका ३५ वर्षीय शाहसहित ७ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पुस २२ मा पक्राउ गरेको थियो । उनीहरूविरुद्ध ब्युरोले ठगी, लिखत सम्बन्धी कसुर, सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरेको छ ।
४ वटा शीर्षकमा प्रहरीले गरेको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा लैजाने तयारी गरेको छ । सीआईबीले शाहलाई कम्तीमा साढे ११ वर्ष थुनामा राख्न मागदाबी लिनुपर्ने प्रतिवेदन बुझाएको छ । शाहबाट ठगिएका अमेरिकन नागरिकलाई क्षतिपूर्ति दिलाउन र आरोपीहरूलाई जरिवाना हुनुपर्ने ब्युरोको राय छ ।
पृथ्वी शाहका भाइ विजयविक्रम शाहले सहकारी ठगी गरेको अनुसन्धानबाट थाहा भएको छ । लालपुर्जा किर्ते गरेर शाहले काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिलको जग्गा धितो राखेर ऋण लिएको भेटिएको छ । करिब ९२ लाख मूल्य पर्ने जग्गाको लालपुर्जा सच्याएर शाहले २ करोड ऋण लिएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए । ‘इको हिमाल’ सहकारीबाट सो ऋण उनको भाइ विजयविक्रमको नाममा निकालेको भेटिएको छ ।
शाहले ठगी गरेर ४६ लाख डलर, ३ करोड नेपाली र १२ हजार पाउन्ड स्टर्लिङ गरी कुल ६५ करोड नेपालमा भित्र्याएका छन् ।
ब्युरोले गरेको अनुसन्धानबाट शाहले ४४ जना अमेरिकन नागरिकलाई ठगेर नेपालमा पैसा भित्र्याएको खुलेको छ । २४ जना अमेरिकनले शाहबाट ठगिएको जाहेरी दिएका छन् । पीडित अमेरिकन नागरिकले इमेल गरेर सीआईबीमा जाहेरी पठाएका हुन् ।
एफबीआईको सहयोगमा अनुसन्धान
अमेरिकन नागरिकको कम्प्युटरमा पहुँच बनाएर उनीहरूको खातामा रकम जम्मा भएको फर्जी विवरण देखाएर शाहले सो रकम आफ्नो भएको दाबी गर्दै नेपाल पठाउन लगाएको अनुसन्धानबाट थाहा भएको छ ।
पृथ्वीसहित उनको भाइ विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्माङ्गद काफ्ले र रंगबहादुर साउदलाई ब्युरोले हिरासतमा राखेर अनुसन्धान गरेको थियो । अनुसन्धानमा सिआईबीले अमेरिकन प्रहरीको अनुसन्धान गर्ने युनिट फेडरल ब्युरो अफ इन्भेष्टिगेशन (एफबीआई)को पनि सहयोग लिएको छ ।
एफबीआईको सहयोगमा अनुसन्धान पुरा गरिएको सीआईबीका एसपी सञ्जयसिंह थापाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
एन्टी भाइरस अपडेट, अमाजोन को बिल भुक्तानी, गिक स्क्वाड र क्विक बुक्सको नाममा आरोपीहरूले अमेरिकन नागरिकको कम्प्युटरमा सम्पर्क स्थापित गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।
‘इमेल मार्फत पीडितसँग सम्पर्क स्थापित गरेपछि रिमोट एक्सेसबाट पीडितहरूको डिभाइसमार्फत बैङ्क खातामा पहुँच राख्ने गरेको देखिन्छ’ सीआईबीको अनुसन्धान प्रतिवेदनमा भनिएको छ–‘बैङ्क खातामा पहुँच राखेर मौज्दात रकम नेपाल र थाइल्यान्डमा पठाउने गरेको देखिन्छ ।’
रकम ट्रान्सफर गरेपछि बैङ्कमा खातावालकै इमेलबाट इमेल पठाएको पनि भेटिएको छ । अमेरिकामा क्यान्सर पीडित, अल्जाइमर प्रभावित र ज्येष्ठ नागरिकलाई टार्गेट गरेर उनीहरूले ठगी धन्दा चलाएको थाहा भएको छ ।
‘डिभाइसमा नक्कली बैङ्क स्टेटमेन्ट पठाएर फर्जी रकम जम्मा भएको विवरण देखाएर आरोपीहरूले ठग्ने गरेको देखिन्छ’ ब्युरोको प्रतिवेदनमा भनिएको छ,‘सो रकम उनीहरूले फिर्ता गर्न लगाउँथे ।’
इन्टरनेटमार्फत ठग्न प्रयोग भएको नेटवर्क भारतको वेस्ट बङ्गालबाट सञ्चालन भएको देखिएको छ । वेस्ट बङ्गालबाट ठगीमा सक्रिय समूहसँग मिलेर शाहले काम गरेका थिए । सो बापत वेस्ट बङ्गालबाट काम गर्नेहरूलाई शाहले ठगीको २५ प्रतिशत रकम दिने ‘सम्झौता’ गरेको एसएसपी आचार्यले बताए ।
अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार वेस्ट बङ्गालबाट नेपालमा पैसा लिन आएकालाई शाहले नेपालका विभिन्न ठाउँमा घुमाएर पैसा नदिई फिर्ता पठाएको थाहा भएको छ । रकम ठगेर नेपाल ल्याउन शाहले २४ भन्दा धेरै कम्पनी स्थापना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता
-
सात लाख बढीको भन्सार छलीको समान बरामद
-
सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी