मनोज पुनकोमा डायरी के-के लेखिएको थियो ?
काठमाडौं–‘छोरीको बिहे गरिस्, हैन । तेरा दुई छोरा छन्, तिनीहरु मध्ये एउटालाई मार्दिन्छु, छोरो ठूलो कि दुई करोड ?’
काठमाडौंको नयाँ बानेश्वरमा शरद गौचनमाथि गोली प्रहार भएपछि भक्तपुरका एक इट्टा ब्यवसायीलाई टेलिफोनबाट यस्तो धम्की आयो । नेपाली नम्बरबाटै आएको यस्तो धम्कीपछि उनी केन्द्रीय अनुसन्धान ब्यूरोमा पुगे, प्रहरी अनुसन्धानको क्रममा उक्त फोन नेपाली नम्बर डिस्प्ले हुनेगरी भारतबाट आएको देखियो ।
रुपन्देहीको देवदहमा गत साता मनोज पुन ‘इन्काउन्टर’मा मारिएपछि उनको डायरी हेर्दा अनुसन्धानमा संलग्न प्रहरी अधिकृत चकित भए । भक्तपुरको ती इट्टा व्यापारीको नाम मनोज पुनको डायरीमा लेखिएको थियो । जसमा मनोजले कोड भाषामा लेखेका थिए, ‘भक्तपुरको इट्टावाला, फोन नम्बर, दुई करोड मध्ये लिने रकमको डिल हुन बाँकी ।’
गुण्डा नाईके मनोज पुनले भक्तपुर, पोखरा, बुटवल, भैरहवा, नवलपरासी र कपिलवस्तुका ब्यवसायीलाई त्यसैगरी फोन गरेर करोडौंको माग गर्थे । रकम नदिए गोलीले उडाउने धम्की दिन्थे ।
रुपन्देहीको खैरेनीस्थित सुकुम्बासी बस्तीबाट उदाएर गुण्डा नाइकेको रुपमा चिनिएका मनोज २०७३ पुस पहिलो साता रुपन्देहीका दुर्गा तिवारीमाथि गोली प्रहार गर्नुभन्दा पहिले नै भारतमा बस्न थालेका थिए ।
भारतमा बसेर नेपालमा आतंक सिर्जना गर्दै करोडौं उठाउने पुनलाई मुम्बईका गुण्डा नाईके बिटु सिंह भनिने ‘जोगिन्दर’ ले संरक्षण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
त्यसरी करोडौं उठाउने मनोज भारतमा सामान्य तरिकाले बसेका थिए । रुपन्देहीमा उनको परिवार अभावमा बाँचेको थियो । उनकी श्रीमती ‘मनी ट्रान्सफर’ मा सामान्य कर्मचारी छिन् ।
त्यसो भए, मनोजले धम्क्याएर उठाएको करोडौं के गर्थे ?
विगत एक बर्षदेखि मनोज पुनबारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतका अनुसार नेपालबाट उठाएको करोडौं रुपैयाँ जोगिन्दरले लिन्थे । अनि मनोजलाई खर्च मात्रै दिन्थे ।
‘मनोज जोगिन्दरको सहयोग बिना भारतमा बस्न सम्भव थिएन’ अनुसन्धानमा संलग्न ती प्रहरी अधिकृत भन्छन्, ‘भारतमा सेल्टर दिएर जोगिन्दरले मनोजलाई प्रयोग गरे, अनि यताबाट उठाएको करोडौं आफैंले चलाए ।’
मनोजले कसरी भेटे जोगिन्दर ?
मुम्बई स्थायी घर भएका बिटु सिंह भनिने ‘जोगिन्दर’ अपराधको दुनियाँबाटै उदाएका हुन् ।
भारतीय सुरक्षा निकायको केही उच्च पदस्थहरुसँग राम्रो हिमचिम भएका जोगिन्दरले भारतीय सुरक्षा एजेन्सीलाई मुस्लिम आतंकवादीहरुको सूचना दिन्थे ।
नेपालका कपिलवस्तु, नवलपरासी र रुपन्देहीका ‘मोस्ट वाण्टेड’लाई भारतमा संरक्षण दिँदै आएका जोगिन्दरसँग मनोजलाई सोम बहादुर आलेले चिनजान गराएका थिए ।
भारतीय सेनामा ५ बर्ष जागिर खाएर छाडेका सोम आले राम्रो बक्सिङ खेलाडी समेत थिए । डाका मुद्धामा जेल परेको बेला भैरहवा कारागारमा मनोज र सोमवीचमा चिनजान भएको थियो । पछि मनोजकै सहयोगीको रुपमा देखा परेका सोम आले भारतीय सेनामा हुँदा नै जोगिन्दरसँग चिनजान भैसकेको हुनसक्ने बताइएको छ ।
जोगिन्दरको ससुराली रुपन्देही हो । प्रहरी स्रोतका अनुसार नेपाली पासपोर्ट समेत बनाएका ४५ बर्र्षीय जोगिन्दरले रुपन्देहीको बिमला नामकी महिलासँग विवाह गरेका थिए ।
पछिल्लो समय रुपन्देही, नवलपरासी र कपिलवस्तु क्षेत्रमा नेपाल प्रहरीको मोस्ट वाण्टेड सूचिमा रहेकाहरुलाई भारतमा जोगिन्दरले सेल्टर दिँदै आएका छन् ।
रुपन्देहीका केदार सहनी, अर्जुन गौतम, कृष्ण गौतम र रियाज फकिर पछिल्लो सयम रुपन्देही प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेको फरार अपराधी हुन । ‘कतै सहनी र गौतमहरुलाई जोगिन्दरले उपयोग गर्ने त हैनन ?’ मनोज इन्काउन्टरलाई नजिकबाट नियालेएका एक प्रहरी अधिकृत भन्छन्, ‘मनोज पुन प्रहरीसँगको मुठभेडमा मारिएपछि फेरि जोगिन्दरले अर्का मनोज उत्पादन गर्न बेर लाग्दैन ।’
मनोजका दुईओटा पासपोर्ट
जोगिन्दरको संरक्षणमा भारतको कर्नाटक, बैंगलोर, हिमाञ्चल र दिल्लीमा बसेर नेपालमा आतंक मच्चाउँदै आएका मनोजले दुईओटा पासपोर्ट बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
म्याग्दीबाट रुपन्देही बसाईं सरेका मनोजले सुनिल राना र मनोज पुनको नामबाट दुईओटा पासपोर्ट लिएको रुपन्देही प्रहरी स्रोतले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार आफ्नौ सक्कल फोटो राखेर पुनले सुनिल राना नामको राहदानी प्रयोग गर्दै आएका थिए ।
सुनिल रानाको नाममा रहेको उनको नागरिकतामा भने कुमार चौधरी नामका ब्यक्तिको नागरिकता नम्बर मिल्न गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले नवलपरासी जिल्लाबाट पासपोर्ट लिएका थिए ।
रुपन्देहीका दुर्गा तिवारी र बसन्त पौडेलको हत्यापछि पछिल्लो समय मनोजले एक पूर्व सांसदको हत्या योजना बनाएको प्रहरी स्रोतको भनाई छ ।
दोस्रो संविधानसभामा सांसद रहेका एक मुस्लिम सांसदलाई जोगिन्दरकै योजनामा मनोजले टार्गेट गरेको सूचना पाएसँगै प्रहरीले उनको सुरक्षा बढाएको थियो ।
डायरीभरी ब्यापारीको नाम र टेलिफोन नम्बर
श्रीमतीसँग सम्पर्कविहीन भएर बसेका मनोज पुन भारतमा रसियन युवतीहरुसँगको रोमान्समा रमाउँथे ।
उनी रोमान्समा मात्रै कहाँ भुल्थे र !
नेपालमा पैसा मागेका, उठाएका र पैसा असुल्न बाँकी ब्यापारीको सूची आफ्नो डायरीमा चुस्त दुरुस्त राख्थे ।
‘ब्यापारीको नाम, नम्बर मागेको रकम र ओके भएको रकमले उनको डायरी भरिएको थियो’ मनोजको अनुसन्धानमा संलग्न एक प्रहरी अफिसर भन्छन्, ‘काठमाडौं, चितवन र रुपन्देहीका अधिकांश ब्यापारीको नम्बर र डिल भएको पैसाको अंकले उनको डायरी भरिएको थियो ।’
प्रहरी स्रोतका अनुसार कत्तिपय ब्यवसायीले मनोजलाई पैसा बुझाउनका लागि ६–८ महिनाको भाका समेत मागेका थिए । ‘मेरो बैशाखाको भाका थियो, अब तिर्नु नपर्ने भयो’ मनोज इन्काउन्टरपछि एक ब्यापारीले आफूसँग भनेको स्मरण गर्दै ती प्रहरी अधिकृत भन्छन्, ‘बुटवल भैरहवामा बसेर उनलाई ब्यापारीको गतिविधीबारे सूचना दिने मान्छेहरु समेत रहेको अनुसन्धानबाट देखिएको छ, हामी उनीहरुको खोजी गर्दैछौं ।’
बसन्त पौडेललाई २०७४ पुसमा गोली हानेपछि वुटवल–भैहरवा तिरका ब्यवसायी प्रहरी कार्यालय समेत जान छाडेका थिए । मनोजले बसन्तलाई प्रहरीसँग धेरै हिमचिम गरेको थाहा पाएपछि गोली प्रहार गरेको बताइएको छ ।
मोवाईल नबोक्ने मनोज पुन स्काइपबाट कुरा गर्थे ।
नेपालबाट हुण्डी मार्फत भारतमा पैसा पठाउन लगाउने मनोजले धेरै पटक दिल्लीको चाँदनी चोकबाट पैसा लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
यो पनि छुट्यो कि !
मनोज पुन जो गुण्डागर्दीको दुनियाँमा त्यसरी उदाए, अनि यसरी अस्ताए
‘इन्काउन्टर’ को तेस्रो दिन जब म मनोजको घर पुगेँ...
प्रहरी इन्काउन्टरमा गुण्डानाइके मनोज पुनको मृत्यु
मनोजबाट ‘हत्या गरिएका’ आफन्तहरु इन्काउन्टरबारे के भन्छन् ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे